शिक्षकहरुले विद्यालय बन्द गरेर आन्दोलन घोषणा गरेपछि त्यसको विरुद्धमा अभिभावकहरू आन्दोलित

0
16

विनोद सापकोटा,
दमक ।

नेपाल शिक्षक महासङ्घले अनिश्चितकालिन विद्यालय बन्द गरेर आन्दोलन घोषणा गरेपछि त्यसको विरुद्धमा अभिभावकहरू आन्दोलित हुन थालेका छन । तर शिक्षक हरूको आन्दोलनभन्दा अभिभावकहरूको आन्दोलन फरक भएको स्वयं अभिभावकले बताए ।

महासंघले आफ्नो मागका लागि आन्दोलन गरेपनि ७० लाख विद्यार्थीको पढाइ अवरुद्ध पार्नु गलत भएको कमल गाउँपालिका ६ का अभिभावक भीम पौडेलले बताए । स्थानीय वाणी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका पौडेलले विद्यालयका विद्यार्थी लाई विद्यालय बोलाएर निजी स्रोतका शिक्षकहरुलाई अध्ययन अध्यापन गर्न लगाएको बताए ।

उनका अनुसार यो सरकारी दरबन्दीमा रहेका शिक्षकहरुका विरुद्ध को पृथक आन्दोलन हो । विद्यालय बन्द गरेर बालबालिकाको भविष्यमथि सामुदायिक विद्यालयका सरकारी दरबन्दी भएका शिक्षकहरुले खेलवाड गरेको उनले आरोप लगाए ।

‘नेपाल शिक्षक महासंघको अधिकांश माग जायज नभएपनि केही माग जायज छ । नैतिकरूपमा नेपाल शिक्षक महासङ्घको आन्दोलनमा सहमति रहेपनि विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन् गर्ने छुट कसैलाई छैन,’ उनले भने। शिक्षकहरुको राजनीतिक, मौलिक र मानवाधिकार हनन् नगर्न सरकारसँग आग्रह गर्दै विधेयकमा भएको अप्रजातान्त्रिक प्रावधानहरू खारेज हुनुपर्ने उनले माग गरेका छन् । राजनैतिक परिवर्तनमा शिक्षकहरूले पुर्‍याएको योगदानको कदर गर्न आग्रह गर्दै सङ्घीयता संस्थागत हुँदै गइरहेको अवस्थामा शैक्षिक माफियाको चंगुलमा सरकार फस्न नहुने सुझाव पौडेलले दिएका छन् ।

स्थानीय तहलाई गौण पार्दै जिल्ला शिक्षा कार्यालय ब्युँताउन खोज्नु गलत हुने भन्दै शिक्षा विधेयक जस्ताका तस्तै पास गर्न नहुने अभिभावको राय छ । विधेयकमा भएका केही त्रुटीपूर्ण प्रावधानहरू सच्याउनु पर्ने भन्दै शिक्षकले पाउने बिदा सहुलियत, निजामती कर्मचारीको सेवा सुविधा सरह शिक्षकको सेवा सुविधा हुनु पर्ने जिकिर अर्का अभिभावक रामबहादुर दाहालले गरे ।

शिक्षक बन्न स्नातक हुनैपर्ने भनिए जस्तै शाखा अधिकृत सरह, मावि शिक्षकको तलवमान पनि उपसचिव सरहको हुनुपर्ने र सरोकारवाला शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद्सँग गहन छलफल गरेरमात्र विधेयक पारित गर्नु पर्ने सुझाव अभिभावको छ ।

शिक्षकका मागहरुमा अभिभावकको ऐक्यवद्धता भएपनि विद्यालय नै गरेर शिक्षक शिक्षिका आन्दोलनमा होमिनु नाजायज भएको उनले टिप्पणी गरे । बालबालिकाको पढ्न पाउने अधिकारलाई रक्षा गर्दै वाणी माध्यामिक विद्यालयले बिहीबार देखि नियमित पठनपाठन सुरु गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

दरबन्दीका शिक्षक विद्यालय नआउँदा निजी शिक्षकहरुले पठनपाठन सुरु गरेको समितिका सदस्य पौडेलले जानकारी दिएका छन् । निजी स्रोतका शिक्षक विद्यालयमा अभाव भए स्वयंसेवक शिक्षकबाट पनि विद्यालयमा नियमित पठनपाठन हुने उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here