जिल्ला प्रशासन इलामले प्रतिवेदन सार्वजनिक नगरेपछि रोङले ग¥यो आन्तरिक प्रतिवेदन सार्वजनिक

0
12

रोङ ।

इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको छानविन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, चाँदी र अन्य सहयोगबापतको ८८ लाख ८३ हजार १२४ रुपैयाँ नभेटिएको जनाएको हो ।

गाउँपालिकाको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५/०७६देखि ०७९को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कूल आम्दानी तीन करोड १४ लाख ६२ हजार ९ सय २९ देखिएको छ ।

जसमध्ये खर्च दुई करोड २० लाख ९१ हजार २ सय ४२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । ०७५ असोजदेखि २०७९ माघ मसान्तसम्मको ८८ लाख ८३ हजार १ सय २४ रकम मौजात रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ । उक्त ८८ लाख ८३ हजार १२४ रुपैयाँ रकम कहाँ छ भनेर प्रतिवेदनमा उल्लेख गरिएको छैन । उक्त रकम पाथीभरा संरक्षण समितिले हिनामिना गरेको हुनसक्ने गाउँपालिकाको अशंका छ । ‘मौजाद देखिएको रकम कहाँ छ भन्ने जवाफ पाथीभरा संरक्षण समितिले दिनुपर्छ’– गाउँपालिकाले अध्ययनका लागि खटाएका लेखा परीक्षक प्रज्ज्वल अधिकारीले भने– ‘हिसाब हेर्दा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ मौजाद देखिन्छ । तर, त्यो पैसा कहाँ छ थाहा छैन ।’

संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएको पाथीभरा संरक्षण संस्थाले २०७३ सालदेखि नवीकरण समेत गरेको थिएन । उक्त संस्थाले लेखा परीक्षण गरे पनि हिसाब भने अपारदर्शी रहेको लेखा परीक्षक अधिकारीले बताए । ‘उक्त समितिले चलाएका रसिदहरू पनि शंकास्पद छन् । कतिपय ठाउँमा केरमेट छ । हिसाब पारदर्शी छैन । दानपेटीकामा कति रकम उठ्यो त्यसको त हिसाब नै छैन । उठाएको रकम बैंकमा जम्मा नगरी सोझै भुक्तानी गरिने रहेछ । भरपाई त जहिले र जसरी पनि बनाउन सकिन्छ, तसर्थ खोज्दै जाने हो भने धेरै रकम यता–उता भएको पाउन सकिन्छ’– उनले भने– ‘यो अध्ययन प्रतिवेदन उपलब्ध कागजका आधारमा मात्र तयार गरिएको हो ।

संस्थाको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित नभएकाले गर्दा कागजी विवरणभन्दा बाहिर पनि कारोबार भएको हुनसक्ने सम्भावना प्रशस्तै छ । कागजबाहेक हुनसक्ने हिसाव निकाल्नका लागि संरक्षण समिति सदस्यहरूले २०७५ असोज २२देखि २०७९ माघ मसान्तसम्म सम्पत्तिमा भएको परिवर्तन र त्यसबीचमा समिति सदस्यले गरेको ठूला खर्चको स्रोत खोज्नु आवश्यक छ ।’

गाउँपालिकाको निरन्तर दबाबपछि जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिमा गाउँपालिकाको तर्फबाट लेखा परीक्षक अधिकारी पनि थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक गर्न प्रजिअ पोखरेलले आनाकानी गरेपछि गाउँपालिका आफैँले अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदन सार्वजनिक गर्दै समिति सदस्य अधिकारीले संस्थाले उपलब्ध गराएको निर्माण विवरणमा आर्थिक वर्ष ०७९/०८० मा कुनै पनि निर्माण नभएको जानकारी गराएको भए पनि सो आर्थिक वर्षमा सात लाख ६९ हजार ५ सय ५९ रुपैयाँ बराबरको निर्माण सामग्री भेटिएको बताए । यस्तै, आर्थिक वर्ष ०७९÷०८०मा पाँच लाख ७० हजार ५ सय ५० रुपैयाँको भुक्तानी भरपाई प्राप्त भएको तर तीमध्ये कुनै पनि प्रमाणित नभएको उनले बताए । ‘यस्ता अप्रमाणित कागजातमार्फत भएका भुक्तानीलाई आधिकारिक मान्न नसक्ने देखिन्छ’– उनले भने ।

रोङ गाउँपालिका र प्रजिअ पोखरेलबीच मतभेद

रोङ गाउँपालिकाले पाथीभरा मन्दिरमा अनियमितता भएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र लेखेदेखि गाउँपालिका र प्रशासनबीच मतभेद शुरु भएको थियो । सानो पाथीभरा नामले परिचित मन्दिरमा संकलन भएको भेटी, सुनचाँदी र अन्य सहयोगमा हिनामिना भएको हुनसक्ने भन्दै गतजेठमा गाउँपालिकाले जिल्ला प्रशासनलाई पत्र लेखेको थियो ।

तर, जिल्ला प्रशासनले बेवास्ता गरेपछि गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गुहार्न पुगेका थिए । गृहमन्त्रीको दवावमा छानविन समिति बनेपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय इलामबीच उत्पन्न विवाद झनै उत्कर्षमा पुग्यो । चार महिनाअघिबाट शुरु भएको स्थानीय सरकार र प्रशासनबीचको विवाद अहिले पनि साम्य हुन सकेको छैन, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आलटाल गरेपछि शुरु भएको विवाद साम्य हुनुको सट्टा उत्कर्षमा पुगेको हो । अनियमितता नियन्त्रणमा सहयोग नगरेको भन्दै रोङ गाउँपालिका अध्यक्ष स्याङ्बो प्रजिअ पोखरेलबिरुद्ध खनिएका छन् ।

छानविन समिति बनाएर पनि छानविनमा आलटाल गर्ने, समितिको प्रतिवेदन सार्वजनिक नगर्नु प्रजिअ पोखरेलको नियत देखिएको उनले बताए । ‘छानविन समिति गठन गर्ने वेलामै निकै सकस भएको थियो । छानविन समिति बनेपछि पनि आलटाल देखियो । २५ दिनको म्याद दिएर समिति बनाइयो । तर, चार महिनामा बल्ल प्रतिवेदन समितिले बुझायो’– उनले भने– ‘बुझाएको प्रतिवेदन पनि सिडियोले लुकाए । अहिले सिडियोका प्रतिनिधि भेट्न आएर तपाईं मौन बस्नुस्, सिडियोले प्रतिवेदन परिवर्तन गर्छन् भनिरहेका छन् ।’

जिल्ला प्रशासन कार्यालय इलामले प्रतिवेदन सार्वजनिक नगरेपछि गाउँपालिका आफैँले बनाएको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले पाथीभरा मन्दिरमा भएको अनियमितता सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको हो । ‘जागिर खान आएका सिडिओलाई यो ठाउँको के माया ? जागिर खान्छन्, जान्छन् । प्रतिवेदन बुझाउने दिनमा गएका हाम्रा जनप्रतिनिधिलाई अपमान गरेर निकालियो । के सिडिओ राजा महाराजा हो ?’– उनले भने– ‘छानविन समितिको प्रतिवेदन सार्वजनिक भएन भने हाम्रा नागरिक त्यहाँ पुगेर प्रशासन कार्यालय घेराउ गरेर थुतेर प्रतिवेदन लिन्छन् । अब सिडिओको अनेक बहाना चल्दैन ।’

प्रतिवेदनको अन्तिम टुंगो लाग्ने समयमा प्रमुख जिल्ला अधिकारी पोखरेलले हस्तक्षेप गरेको छानविन समिति सदस्य अधिकारीले बताए । ‘अंकको हिसाबले गाउँपालिकाको अध्ययन प्रतिवेदन र जिल्ला प्रशासनको प्रतिवेदन एउटै छ । तर, भाषामा भने सिडिओले हस्तक्षेप गरेर परिवर्तन गरेका छन्’– उनले भने– ‘प्रतिवेदनको कपी पनि दिएनन् । यो तपाईंहरूले बिर्सनुस् । कसैले सोधे यसको जवाफ म दिन्छु भनेर पन्छाए ।’

रोङ गाउँपालिकाले गत फागुनदेखि कानून बनाएर पाथीभरा मन्दिरको व्यवस्थापन आफैँ गर्दै आएको छ । गाउँपालिकाले गठन गरेको समितिले फागुन यता भेटी, सुन चाँदी, बहुमूल्य गरगहना र सहयोग गरी एक करोड ६१ लाख १३ हजार ४४ रुपैयाँ संकलन गरेर गाउँपालिकाको खातामा जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रशासन मन्दिरमा भएको अनियमितता ढाकछोप गर्न नलागेको दाबी गरे । ‘प्रशासनले नै छानविन समिति बनाएको हो । कसरी प्रशासनले ढाकछोप गर्छ ? ढाकछोप गर्ने भए त छानविन नै हुने थिएन नि !’– उनले भने– ‘हामी अध्ययनको चरणमा छौँ, उपयुक्त समयमा सार्वजनिक गर्छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here