ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडद्वारा सडक सुरक्षा कार्यक्रम

0
12

बिर्तामोड।

नेपालमा दिनप्रतिदिन सवारी दुर्घटनाको संख्या बढ्दै गइरहेको बेला ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडले शुक्रबार सडक सुरक्षा, जीवन रक्षा राष्ट्रिय अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड–४ स्थित ओम शान्ति टोलमा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मधुवन माउन्ट आवुका वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार रामस्वरुप भाइ, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार गुणराज भाइ, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपाने, पूर्व प्रहरी ओजेस ओली लगायतको आतिथ्य रहेको थियो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विरगञ्जकी राजयोग ब्रह्माकुमारी रविना दिदीको सभापतित्वमा भएको कार्यक्रममा सडक सुरक्षा, सवारी दुर्घटना, तनाव व्यवस्थापन, ट्राफिक नियम लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

संविधान दिवसको अवसर पारेर विरगञ्जमा शुरु गरिएको सडक सुरक्षा, जीवन रक्षा राष्ट्रिय अभियानको असोज ३० गते काठमाडौंमा समापन गरिने बताइएको छ । यो अभियान सात वटै प्रदेशमा सञ्चालन हुने बताइएको छ । अन्तर्राष्ट्रिय स्तरमा सडक सुरक्षा र जीवन रक्षा जागरण सम्बन्धी अभियान गरेको ब्रह्माकुमारी संस्थालाई विश्वका धेरै राष्ट्रले सम्मान गरिसकेको बताइएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंमा हुने अभियानमा यात्रु, सवारी चालक, विद्यार्थी, युवा विभिन्न व्यवसायमा आबद्ध एवम् सर्वसाधारणलाई भाग लिन अनुरोध समेत गरिएको छ ।

कार्यक्रममा सडक सुरक्षा, जीवन रक्षा राष्ट्रिय अभियान २०८० का बारेमा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार तुलसी भाइले प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले ट्राफिक, सडक सुरक्षा तथा सडक दुर्घटना सम्बन्धी जानकारी गराएका थिए ।

सडक सुरक्षा, जीवन रक्षा विषयक सचेतना प्रशिक्षणमा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार गुणराज भाइले प्रशिक्षण दिएका थिए । उनले यातायातका साधन सञ्चालन गर्दा सावधानीपूर्वक सञ्चालन गर्नुपर्ने, तनाव, चिन्ता र मादकपदार्थ सेवन गरी सवारी सञ्चालन गर्न नहुने, सवारी सञ्चालन गरिरहँदा मोबाइलको प्रयोग गर्न नहुने, तीव्रगतिले सवारी चलाउन नहुने र ट्राफिक नियमको पालना सबैले गर्नुपर्ने भन्दै चालकहरुलाई सचेत गराएका थिए ।

कार्यक्रममा नगर प्रमुख प्रसाईं, माउन्ट आबुका वरिष्ठ राजयोगी ब्रह्माकुमार रामस्वरुप भाइ, प्रशिक्षक ब्रह्माकुमार गुणराज भाइ लगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा स्वागत ब्रह्माकुमारी पूर्णिमा दिदीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here