प्रधानमन्त्रीले चीन भ्रमणमा पोखरा विमानस्थलको ऋण मिनाहा गराउन पहल गर्नुपर्छ : गुरु बराल

0
10

काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मिनाहाको सम्बन्धमा छलफल हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा उनले कांग्रेस प्रमुख सत्तारुढ दल भएकोले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चीनको ८ दिने भ्रमणमा जाँदैछन् ।

नेता बरालले एयरपोर्ट निर्माणपछि महँगो ब्याज तिर्नुपरेको भन्दै ऋण मिनाहा नभए एक दिन चीनले विमानस्थलमा कब्जा जमाउने दिन आउन सक्ने बताए ।

‘हामीले पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट महँगोमा बनायौँ, अहिले चर्को ब्याज तिरिरहेका छौँ,’ उनले भने,‘प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ, हामीले अभिभावकत्व लिएर प्रधानमन्त्रीलाई भन्नुपर्छ र भ्रमणमा ऋण मिनाहा गर्नेबारे पहल लिनुपर्छ ।’

ऋण तिर्न नसके अरू मुलुकमा जस्तै विदेशीको हस्तक्षेप हुने निश्चित रहेको उनको भनाइ थियो । यस्तै उनले सुशासनका लागि कांग्रेस अघि बढ्न जरुरी रहेको बताए ।

चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको र उपभोक्ता मन्त्रालय कांग्रेससँग हुँदा पनि जनता महँगीमा पिल्सिएको बताए । ‘सरकारमा हाम्रो पनि साझेदारी छ, आपूर्तिमन्त्री हाम्रै पार्टीको हुनुहुन्छ,’ उनले भने, ‘बजारको कालोबजारी कसले रोक्ने हो ?’

चाडबाडको बेलामा महँगी र ठगी मौलाउने भन्दै सरकारले तुरुन्तै अनुगमन र नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here