गुनासो पेटिकामा गुनासो आउन छोड्यो

0
48

दोधारा चाँदनी (कञ्चनपुर), 

कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा गुनासो पेटिका राखिए पनि उपयोगविहीन बनेका छन् ।

सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती तथा अनियमितताबारे सेवाग्राहीको गुनासोको सुनुवाइ गर्न राखिएका गुनासो पेटिका अहिले प्रयोगमा आएको देखिँदैन । प्रविधिको विकास र सहज पहुँचका कारण ती गुनासो पेटिका प्रयोगविहीन बनेका हुन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरको कार्यालय प्रवेश गर्ने मूल ढोकाको छेउमै गुनासो पेटिका राखिएको छ । तर उक्त गुनासो पेटिकामा गुनासो नआएको लामो समय भयो । सेवाग्राहीको गुनासो सम्बोधन गर्नका लागि गुनासो पेटिका कार्यालयमा राखिए पनि पछिल्लो समय प्रयोगमा आउन छोडेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी इन्जिनियर पियुष चटौतले जानकारी दिनुभयो । “पछिल्लो समय बढीजसो फोनमा गुनासो आउने गरेका छन्”, उहाँले भन्नुभयो, “हामीले कार्यालयको बेवसाइटमा सूचना अधिकारीलगायतको सम्र्पक नम्बर राखेका हुन्छौँ ।” कार्यालयले सामाजिक सञ्जाल फेसबुकमा पेज बनाएको भएपनि अधिकांश गुनासो फोनबाट आउने गरेको उहाँको भनाइ छ ।

भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख शिवराज भट्टले पनि कार्यालयमा सेवाग्राहीको गुनासो सुन्नका लागि गुनासो पेटिका राखिएको भए पनि गुनासो पेटिका प्रयोगविहीन बनेको बताउनुभयो । “गुनासो पेटिका प्रयोगविहीन बनेको छ गुनासो आउन छोड्यो”, उहाँले भन्नुभयो, “गुनासो पेटिकामा गुनासो नआएको लामो समय भयो ।” नागरिकलाई प्रदान गरिने सेवाबारे उनीहरुका गुनासा सङ्कलन गरी वस्तु तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राखेका भए पनि प्रविधिको बढ्दो प्रयोगले गुनासो पेटिकामा गुनासो आउन छोडेका हुन ।

प्रविधिको विकास भएसँगै सेवाग्राहीले अन्य माध्यमबाट आफ्ना गुनासा व्यक्त गर्दा गुनासो पेटिका खाली भएको कार्यालय प्रमुख बताउँछन् । कञ्चनपुरका सरकारी कार्यालयमा राखिएको गुनासो पेटिकामा अहिले गुनासो आउन पूर्णरुपले बन्द भएको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले गुनासो पेटिकामा नभएर फोन प्रत्यक्ष भेटेर सेवाग्राहीका गुनासो आउने गरेको बताउनुभयो । “धेरैजसो गुनासो कार्यालय भेटेर फोनका माध्यमबाट र इमेलबाट आउने गरेका छन्”, उहाँले भन्नुभयो, “कार्यालयको सामाजिक सञ्जाल फेसबुकमा आएका गुनासो पनि हेर्ने गरेका छौँ ।” सेवाग्राहीले गुनासो पेटिकामा गुनासो गर्ने प्रक्रिया झन्झटिलो मान्दा गुनासो पेटिकाको प्रयोग कम भएको कार्यालय प्रमुखको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here