हर्ट फाउण्डेसन झापाको अन्तरक्रियामा हृदय रोग बारे जानकारी

0
12

बिर्तामोड ।

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । आज नेपालमा पनि विभिन्न स्वास्थ्य तथा सामाजिक संघ संस्थाहरूले मुटु दिवसमा विभिन्न स्वास्थ्य सचेतना कार्यक्रम गरेर मनाएका छन ।

झापाको बिर्तामोडमा पनि आज मुटु दिवस मनाइएको छ । दिवसको अवसर पारेर हार्ड फाउन्डेसन झापाको आयोजना र बीएण्डसी अस्पतालको सहजिकरणमा मुटु रोग सम्बन्धी अन्तरक्रिया भएको हो । हर्ट फाउण्डेसन झापाका अध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षताका अन्तरक्रिया आयोजना भएको हो ।

अन्तरक्रियामा मुटु रोग के हो, के कारणले रोग लाग्छ र रोग लाग्नबाट कसरी बच्ने भन्ने बारेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर उमेश यादवले जनचेतना मूलक जानकारीहरू प्रस्तुत गरेका थिए । डाक्टर यादवले भने ‘मुटु, एउटा सानो पम्प जस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइ रहन्छ ।

मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।’

डाक्टरको कुरा सुनेपछि सहभागीहरु स्वास्थ्य प्रति सचेत बनेर झस्किएका थिए । अन्तरक्रियामा डाक्टरहरू समक्ष शिवकुमार कडेल, श्याम प्रसाईं, नविन उप्रेती, कर्ण डाँगी, पत्रकार बिनोद पाण्डेलगायतले जिज्ञासा राखेका थिए ।

सोही अवसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्रकुमार यादवले सर्वसाधारणहरूको हितको लागि क्यान्सर रोग लागे नलागेको पत्ता लगाउने विधि ( क्यान्सर स्क्रिनिङ) निशुल्क घुम्ती शिविर सञ्चालनको तयारी गरिएको बताए । कार्यक्रमको सञ्चालन उषा श्रेष्ठले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here