फुयाँल नेतृत्वको प्यानलको प्रतिबद्धता सार्वजनिक

0
14

सुरुङ्गा ।

सन्दर्भ : कोटीहोम चुनाव

धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको असोज १५ मा हुने निर्वाचनका लागि साझा प्यानलले प्रतिबद्धता सार्वजनिक गरेको छ । स्थानीय होटल डिलाइटमा एक पत्रकार भेटघाटको आयोजना गरी साझा प्यानलले आफ्ना उम्मेदवार तथा २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

यहि असोज १५ गते हुने निर्वाचनका लागि साझा प्यानलले अध्यक्ष पदका उम्मेदवार नरेन्द्रप्रसाद फुयाँललाई अध्यक्षमा अघि सारेको छ । ३ दशक राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत रही सेवानिवृत्त फुयाँल एक इमान्दार र सक्षम समाजसेवी मानिन्छन् ।

निष्कलङ्क छबिका फुयाँल यस अघि सोही संस्थामा कोषाध्यक्ष रही सक्षमतापूर्वक आफ्नो कार्यकाल पुरा गरेका हुन् । आफूले विगतमा गरेको कार्य र सबै पक्षसँग समन्वय गरी अघि बढ्ने क्षमताका कारण आफ्नो टिमलाई मतदान गर्न पुयाँलले अपिल गरेका छन् । फुयाँल नेतृत्वको प्यानललाई प्रमुख सात राजनीतिक दलको समर्थन प्राप्त रहेको छ ।

सो साझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा निर्मलकुमार खतिवडा, महासचिवमा कृष्णप्रसाद घिमिरे, धार्मिक उपाध्यक्षमा प्रकाश थापा, पर्यटन उपाध्यक्षमा अम्बिकादेवी खरेल, सचिवमा अर्जुनकुमार बस्नेत र कोषाध्यक्षमा मानबहादुर पौडेल उम्मेदवार रहेका छन् । त्यसैगरी, सदस्य पदमा टीकाराम निरौला, खगमाया चापागाई (संग्रौला), गणेशप्रसाद पोखरेल, भरत संग्रौला, गायत्रा बुढाथोकी (चौहान), अम्बिकादेवी रिजाल, धनपति चापागाईं, नरपति पाठक, गंगाराम नोपल, गोपाल खरेल, डिल्लीराम पाठक, अर्जुनकुमार गिरी, रत्ना खडका, मेघराज मगर, मनोजकुमार पोखरेल र सोमनाथ खतिवडाको उम्मेदवारी परेको छ ।

शुक्रबार पत्रकार भेटघाटमा सो प्यानलले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले कनकाई नगर अध्यक्ष तथा निर्वाचन प्रचारप्रसार समिति संयोजक खड्गप्रसाद प्रसाईँको अध्यक्षतामा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । साझा प्यानलका अध्यक्षका उम्मेदवार फुयाँलले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए ।

आफ्नो कार्यकालमा सुविधा सम्पन्न सन्त आश्रम निर्माण गरिने, सबै धार्मिक संघसंस्था तथा बौद्धिक व्यक्तित्वहरू सँगको समन्वय र सहकार्य गरी धार्मिक यज्ञको आयोजना गरी संस्थाको अक्षयकोषलाई बलियो बनाइने, धार्मिक पाहुनाहरूको आवासका लागि व्यवस्थित आवास गृह निर्माण गरिने, पूर्वाञ्चलमा नै वृहत धार्मिक सभा सम्मेलन जस्ता कार्यक्रमहरू सञ्चालन हेतु एउटै छानामुनि हजार भन्दा बढी सहभागी अटाउने सभाकक्ष निर्माणका लागि पहल गरिने, पर्यटन विकास र विस्तारका लागि सरोकारवालाहरूसँग आवश्यक समन्वय गरिने, गुरुकुल शिक्षालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिने, कोटिहोम परिसरभित्र रहेको मूल मन्दिरको पुनः निर्माणका लागि सरोकारवाला निकायसँग विशेष पहल गरिने, सनातन धर्मावलम्बी ॐ कार परिवारहरूको प्रतिनिधित्व हुने गरी परिसरभित्र उपयुक्त स्थानको चयन गरी सङ्ग्रहालयको स्थापना गरिने, पवित्र धार्मिक स्थल क्षेत्रमा व्यवस्थित गौपालन गरी गौमाताको पवित्र सेवा र व्यावसायिकता प्रदान गरिने, संस्थाको लेखा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाई आर्थिक पारदर्शितालाई मासिक बैठकमा अनुमोदनका लागि पेश गरिने, निकट भविष्यमा कोटिहोम परिसर भित्रका साधु सन्त र दीनदुःखीहरूका निम्ति निःशुल्क भोजन व्यवस्थापनका लागि दैनिक भोजनालयको व्यवस्था गरिने प्रतिबद्धता व्यत्तः गरिएको छ ।

त्यसैगरी, सनातन धर्म अनुसार मनाइने हरेक धार्मिक चाडपर्वहरूलाई विशेष महत्वका साथ मनाउनका लागि आवश्यक व्यवस्था गरिने, सनातन धर्मको चौतर्फी रूपमा जागरण हेतु समय समयमा सन्त सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने, कोटीहोम परिसरभित्र रहेका थर गोत्रीय बन्धु संस्थाहरूसँग समन्वय गरी उपयुक्त रूपमा व्यवस्थापन गरिने, सरसफाइ तथा स्वच्छ वातावरणका लागि आवश्यक पहल गरिने, कनकाई सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी सामुदायिक वनको नीतिभित्र रही वृक्षरोपणमा समेत जोड दिइने, कोटिहोम परिसरभित्र रहेको निर्माणाधीन मेची–महाकाली वृद्धाश्रम नेपाललाई पूर्णता दिन प्रयत्न गरिने, संस्थाको स्तरोन्नतिका लागि स्थानीय, प्रदेश र संघीय सरकार तथा अन्य संघ संस्थासँग आर्थिक व्यवस्थापनका लागि समन्वय र सहकार्य गरिने, आवश्यकता अनुसार यस संस्थाको बृहत्तर विकासका लागि धार्मिक तथा बौद्धिक व्यक्तित्वहरूसँग आवश्यक परामर्श लिइने, धार्मिक संस्थालाई धार्मिक सम्पदा सूचीमा सूचीकृत गर्न प्रयत्न गरिने र कनकाई घाटसँग आवश्यक सहमति र समन्वय गरी विविध कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पत्रकार भेटघाटमा साझा प्यानलका चुनाव प्रचार समितिका सहसंयोजक एवम् नेपाली कांग्रेस जिल्ला सदस्य लीलाप्रसाद चिमरिया, नेपाली कांग्रेस कनकाई नगर सचिव आर.पी. कडेँल लगायतले साझा प्यानलका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए । यता स्वतन्त्र प्यानलको तर्फबाट राजनीतिक दलले भागबण्डा गरी आफूहरूको अस्तित्व स्वीकार नगरेको भन्दै अध्यक्ष पदका उम्मेदवार शेरबहादुर थापा नेतृत्वको समूह चुनावी मैदानमा रहेको छ । साझा प्यानल र स्वतन्त्र समुहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन सम्पन्न गर्न हरिप्रसाद तिम्सिनाको संयोजकत्वमा सोमनाथ उप्रेती र रूपनारायण खतिवडा (रमेश) सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले कार्य गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here