शेरबहादुर थापा समूहको घोषणापत्र सार्वजनिक

0
11

सुरुङ्गा ।

आगामी असोज १५ गते हुन गइरहेको कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको निर्वाचनमा शेरबहादुर थापाको नेतृत्वमा स्वतन्त्र प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

बिहीबार स्वतन्त्र नागरिक कार्य सम्पादन समूहले सुरुङ्गास्थित होटल क्वीनमा पत्रकार भेटघाट गरेर प्यानललाई औपचारिक रूपमा सार्वजनिक गरेको हो । शेरबहादुर थापाको प्यानलले निर्वाचनको घोषणापत्र समेत सार्वजनिक गरेको छ । कोरोना महामारीको बेलामा नगर क्षेत्रमा कोभिड हिरोको रूपमा चर्चा कमाएका, नगर क्षेत्रमा मरिमराउमा हरेक घरमा पुग्ने सहयोगी मनका धनी थापा अध्यक्ष रहेको प्यानलबाट १९ जनाको उम्मेदवारी परेको छ ।

सो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डिल्लीराम बाराकोटी, धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवाल (सी.पी.), पर्यटन उपाध्यक्षमा रामप्रसाद अधिकारी, महासचिवमा दिननाथ खतिवडा, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा अम्बिका चापागाईं उम्मेदवार रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा सोमनाथ गौतम, लक्ष्मीप्रसाद निराला, मोहन राजवंशी, विन्दुराज दाहाल, मेचीकाली पैदल यात्री पण्डित हरिप्रसाद तिम्सिना, चेतप्रसाद भट्टराई, दधिराम न्यौपाने, वासुदेव रिजाल, माधव पोखरेल, लीलाप्रसाद अधिकारी, भीष्मप्रसाद पौडेल र वासुदेव निरौलाले उम्मेदवारी दिएका छन् ।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार थापाले धार्मिक क्षेत्रलाई राजनीतिक भागबण्डाबाट मुक्त गरी कनकाईधामलाई योगी नरहरिनाथको भावना अनुरूप सबै पक्षको साथ र सहयोगमा विकास गरिने बताए ।

तीन वर्षे कार्यकाल भित्रमा योगी नरहरिनाथको स्मृतिमा बृहत्तर महायज्ञ सञ्चालन गरिने, ॐकार परिवारको धार्मिक तथा सांस्कृतिक पहिचान झल्कने गरी योगी नरहरिनाथ स्मृति सङ्ग्रहालय स्थापना गर्ने, हाल सञ्चालनमा रहेको संस्कृत पाठशालाको स्तरोन्नति गरी ५० भन्दा बढी विद्यार्थीहरूलाई वैदिक शिक्षा प्रदान गरिने, लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउन चौमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने, डिजिटल प्रणालीको विकास गरी प्रत्येक महिनाको १५ गते भित्रमा अघिल्लो महिनाको हिसाब सार्वजनिक गर्ने व्यवस्था मिलाउने, वार्षिक रूपमा योगी नरहरिनाथको स्मृतिमा सन्तमहन्त, धार्मिक तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थित गराई धार्मिक महोत्सव गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यसैगरी आधुनिक पद्धति अपनाई व्यवस्थित रुपमा गौ पालनको सुरुवात गरिने, निर्माण कार्य अधुरो रहेको मेची महाकाली भवन लगायत अन्य अधुरा रहेका निर्माण कार्यलाई पूरा गरिने, देश विदेशबाट आउने धार्मिक पर्यटकहरूलाई यथोचित बासस्थानको लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गर्न पहल गरिने, साधुसन्त निवासको निर्माण सम्पन्न गरी भन्डाराको व्यवस्था गरिने, पूर्वको शान ॐकार परिवारको पहिचान कोटीहवन धाम“ भन्ने नाराका साथ अक्षयकोष स्थापनाको पहल गरिने धामको सौन्दर्य विकासका लागि फूल बगैचा निर्माणमा सकृय रहने, जनचेतना मूलक कार्यक्रम सञ्चालन गरी कोटीहवन परिसर भित्र मद्यपान, धूम्रपान सेवन कार्यलाई निरुत्साहित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा अन्य सङ्घसंस्था र दाताहरूसँग बजेटका लागि पहल गरिने, स्थानीय सङ्घसंस्था तथा व्यक्तिहरूको सहभागिता गराई कोटीहवन परिसरलाई स्वच्छता प्रदान गर्न सरसफाइमा विशेष ध्यान दिइने, कोटीहवन परिसर भित्र रहेका विभिन्न थर गोत्रीय वंश संस्थाहरू र वाणिज्य क्षेत्रमा रहेका महानुभावहरूसँग समन्वय गर्दै नीतिगत निर्णय गरी समन्वयात्मक रूपमा एकीकृत कार्यक्रमहरू सञ्चालन गरिने लगायतका योजना तथा कार्यक्रमहरू गर्ने घोषणापत्रमा उल्लेख गरिएका छन् ।

स्वतन्त्र प्यानलको प्रचारप्रसार समितिका संयोजक भीमप्रसाद अधिकारीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सहसंयोजक चन्द्र मैनाली (भतिज), वरिष्ठ उपाध्यक्षका उम्मेदवार डिल्लीराम बाराकोटी, नारायण ओली लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here