कोटीहोममा सहकार्यबाट अघि बढ्ने

0
9

सुरुङ्गा ।

कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका नवनिर्वाचित अध्यक्ष शेरबहादुर थापाले धामक्षेत्रको समग्र विकासका लागि सहमति र सहकार्यबाट अघि बढ्ने बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले स्वतन्त्र प्यानलका निर्वाचन परिचालन समितिको आयोजनामा धाम परिसरमा भएको धन्यवाद, शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उक्त विचार व्यक्त गरेका हुन् ।

उनले योगी नरहरिनाथका आदर्शलाई पछ्याउँदै सबैसँग सरसल्लाह गरी सर्वपक्षीय सहमतिका आधारमा निर्णय गर्ने र निर्णय गरिएका कुरा लागु गर्ने बताए ।

आफूले चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेअनुसार कोटीहोम धाम क्षेत्रलाई राजनीतिबाट मुक्त वैदिक सनातनी धर्मको आस्थाको केन्द्र बनाउने बताए । भौतिक विकासका लागि केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको सहयोगको लागि समन्वय गर्ने बताए ।

धाम परिसरमा प्रवेश गर्दा राजनीति बाहिरै राखेर आउनुपर्ने र धार्मिक संस्थाहरूमा राजनीतिक हस्तक्षेप हुन नहुने थापाले बताए । उनले आफूले जुनसुकै प्यानलबाट जिते पनि सबैलाई समान व्यवहार गर्ने र सबैबाट कोटीहोमको विकासका लागि सकारात्मक सहयोगको आशा राखेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका स्वतन्त्र प्यानलका निर्वाचन परिचालन समितिका संयोजक भीमप्रसाद अधिकारीले नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यले वैदिक सनातन हिन्दुको आस्थाको केन्द्र कोटीहोमको मूल मन्दिरमा प्रवेश गरी देवताको सामु शिर झुकाएर आरती गरेर निस्वार्थ, पक्षपातरहीत, उत्कृष्ट कार्य गर्ने सपथ खानुपर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित महासचिव दीनानाथ खतिवडाले आगामी तीन वर्षमा आफूले कुनै पनि गलत कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वतन्त्र प्यानलका निर्वाचन परिचालन समितिका सह–संयोजक चन्द्र मैनाली भतिज, गौतम समाजका अध्यक्ष नीतिरमण गौतम, नवनिर्वाचित सदस्य धनपति चापागाईं, सञ्चारकर्मी तीर्थराज खरेल, मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष नारायण ओली, समाजसेवीहरू चन्द्रमोहन उप्रेती, परशुराम गिरी, राजकुमार फुयाँल, युवराज पौडेल लगायतले झापामा आउने जो कोही एक पटक कनकाईधाम कोटीहोम आउने गरी उत्कृष्ट नमुना तीर्थस्थलको रूपमा विकास गर्न सुझाव दिएका थिए ।

सनातन धर्ममाथि प्रहार भइरहेको र सरकार नै सनातन धर्म विरुद्ध रहेकाले सनातनीवीचको आत्मियता र एकता बलियो बनाउनुपर्नेमा सबैको जोड थियो । लडाइँ राजनीतिक दलसँग होइन, तर दल, समाज र व्यक्ति सबैमा शुद्धीकरण आवश्यक रहेकोमा सबै वक्ताको मतैक्य रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य लीलाराज झापाली, समाजसेवीहरू डिल्लीराम बाराकोटी, चन्द्रप्रसाद भेटवाल, माधव पोखरेल, दधिराम न्यौपाने, पण्डित हरिप्रसाद तिम्सिना लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन युवा समाजसेवी दीपक ओलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here