इच्छा

0
9

मेरो प्राण छँदै म देख्न सकुँला क्वै वीर सत्पात्र क्वै
झिक्ला खाडलबाट राष्ट्र नडुबी उद्धार गर्ला कि ख्वै ?
झीनू आश लिएर यो मनभरी बाचौं अझै के यहाँ ?
इच्छा पूर्ण भएर मर्न म सके हाँसेर बस्थेँ त्यहाँ ।

भोको पेट विदेशिने युवक ती फर्केर आउन् सब
पाउन् काम र दाम यै मुलुकमा उद्योग खोलुन् अब
लाउन् जाँगर सीप जन्म जननी पोखौं न विद्या यहाँ
इच्छा पूर्ण भएर मर्न म सके हाँसेर बस्थेँ त्यहाँ ।।

विद्यार्थी सब फर्किउन् अब यहीँ यी विश्वविद्यालय
नालन्दा सरी चम्कियुन् भुवनमा नेपाल दीक्षालय
हाम्रै देश पढाइमा प्रविधिमा उम्दा बनोस् है यहाँ
इच्छा पूर्ण भएर मर्न म सके हाँसेर बस्थेँ त्यहाँ ।

बाँझा खेत र बारी देश भरका अन्नादिले पूर्ण हुन्
पाकेका फल फूलले तरुलता बास्ना सुगन्धी छरुन्
पैठारी जति रोक कर्म बलले गर्दै निकासी यहाँ
इच्छा पूर्ण भएर मर्न म सके हाँसेर बस्थेँ त्यहाँ ।

हाम्रा यी जल सम्पदा प्रकृतिका खानी तथा जंगल
आफ्नै उद्यममा प्रयोग यिनको नेपालको मंगल
भुक्तानी ऋणको सकेर जसरी व्यापार नाफा यहाँ
इच्छा पूर्ण भएर मर्न म सके हाँसेर बस्थेँ त्यहाँ ।

बेचेका जति कम्पनी नदहरु सीमा सबै वीरले
फर्काई कन थाम्छ यो मुलुकको अस्तित्व क्वै धीरले
आशै मात्र गरेर आँशु सरि भै बाँचौं अझै के यहाँ
इच्छा पूर्ण भएर मर्न म सके हाँसेर बस्थेँ त्यहाँ ।

संवैधानिक अंगका जति सबै झोले र गुण्डाहरू
मन्त्री सांसद भ्रष्ट तस्करहरू तिन्का बिचौले अरू
हालुन् जेल सबै छ वीर यदि क्वै निर्दोष छाडी यहाँ
इच्छा पूर्ण भएर मर्न म सके हाँसेर बस्थेँ त्यहाँ ।

(शार्दूलविक्रीडीत) बिर्तामोड–५, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here