प्रहरीद्वारा २१ लाखको अवैध सामान बरामद

0
10
महेन्द्रनगर,
प्रहरीले कञ्चनपुरमा रु २१ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकिछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ ।
भारतसित सीमाना जोडिएको कञ्चनपुरमा ठूला व्यापारी नै भन्सार छलेर लाखौँको सामान ल्याउने गरेको पाएपछि पछिल्लो समय कञ्चनपुर प्रहरीले दिनहुँ छापा मार्न थालेको छ । दुई दिनयता जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–६ र १८ मा गोदाममा छापा मारेर भन्सार छलेर ल्याएको रु २१ लाख बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गड्डाचौकी नाका हुँदै भारतबाट भन्सार छलेर ल्याएको सामान बरामद गरिएको हो । व्यापारी भुवन भाटको घरमा छापा मार्दा रु दश लाखको खाद्य तथा किराना सामान बरामद गरिएको उहाँले बताउनुभयो ।
प्रहरी उपरीक्षक कमल थापाले भन्सार छलेर अवैध रुपमा सामान ल्याउने ठूला व्यापारीमाथि निगरानी बढाइएको बताउनुभयो । सोही क्रममा प्रहरीले शुक्रबार महेन्द्रनगरका व्यापारी सुशील गुप्ताको गोदाममा छापा मारेको थियो  । प्रहरीले गोदामबाट रु ११ लाख बराबरको सामान बरामद गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
गड्डाचौकी भन्सार कार्यालयमा पाँच वर्षअघि स्थापना गरिएको उपकरण थन्क्याइएको छ । उक्त उपकरण सञ्चालनका लागि भन्सार कार्यालयले हालसम्म चासो देखाएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here