बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण

0
8

तनहुँ,

बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटल सम्पन्न भइसकेको छ ।

होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ ।

सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमका प्रमुख इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार केबलकारको प्रवेशद्वारमा रू २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको जनाइएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरिएको छ ।

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन् । केबलकारको अहिले परीक्षण भइरहेको इञ्जिनियर पौडेलले बताउनुभयो । केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा रहेका बताउँदै उहाँले एउटामा आठ जनासम्म यात्रु अटाउने क्षमता हुने जानकारी दिनुभयो ।

“एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ”, पौडेलले भन्नुभयो, “केबलभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिन सञ्चालन गर्ने योजना छ ।” उहाँका अनुसार केबलकारमा न्यूनतम रू ५० देखि रू २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।

पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाटमाथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रू पचास, पत्रकारलाई रू तीन सय पचास, अन्य यात्रुका लागि रू पाँच सय, रेष्ट्रो क्याबिनको रू २५ हजार र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।

केबलकार र पाँचतारे होटल गरी कूल रू तीन अर्ब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।

केबलकारभित्र रेष्ट्रो सुविधा

केबलकारमा यात्रुको आवतजावतको समय पश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष शर्माले बताउनुभयो । प्रत्येक दिन साँझ ५ बजेपछि यो सुविधा प्रदान गरिने योजना रहेको उहाँको भनाइ थियो ।

बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबलकार, रेस्ट्रोकार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तले होटलभित्रै केबलकार पुगेर टुङिग्ने छ । “बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ । जहाँबाट सिधैँ माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिन्छ”, उहाँले भन्नुभयो ।

बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागत गर्ने लगायतका कार्य एउटै भवनबाट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here