नेपाल र भारतबीच सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने सहमति

0
7

काठमाडौं ।

कोशी प्रदेशसँग सिमाना जोडिएका नेपाल र भारतका सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने सहमति गरेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह वाहिनी मुख्यालय पकली सुनसरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फ्रन्टियर हेडक्वाटर सिलिगुरी, सेक्टर हेडक्वाटर पुर्निया, रानीडङ्गा र गान्तोकबिच मोरङको विराटचोकमा भएको वाहिनीस्तरीय सीमा समन्वय बैठकले सो निर्णय गरेको हो ।

चाडपर्वको समयमा हुने सीमा अपराध र अवैध गतिविधि नियन्त्रण तथा रोकथाम, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नका लागि कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिने र दसगजा अतिक्रमण रोक्ने विषयमा पनि दुवै देशका सुरक्षा निकायको छलफल भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) फ्रन्टियर हेडक्वाटर सिलिगुरीका डिआइजी डिबी सोनारको नेतृत्वमा भएको बैठकमा सीमाबाट हुन सक्ने लागुऔषध ओसारपसार एवं मानव ओसारपसार तथा बेचबिखन नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले सीमा सुरक्षाका लागि परिचालित दुवै देशका निकायबिच सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रणमा आवश्यक समन्वय र सहकार्य गर्ने तथा नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनका लागि हेल्प डेस्क स्थापना कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको बताए । यसबाहेक सीमा क्षेत्रका अपराध नियन्त्रणमा दुवै पक्षबिच सूचना आदानप्रदान गर्ने कार्यलाई प्राथमिकता दिने विषयमा पनि सहमति भएको छ ।

बैठकमा सेक्टर हेडक्वाटर पुर्नियाका तर्फबाट सेकेन्ड इन कमान्ड सुरजित पाल, सेक्टर हेडक्वाटर रानीडङ्गाबाट सेकेन्ड इन कमान्ड अचिन्त्य मित्र, सेक्टर हेडक्वाटर गान्तोकबाट सेकेन्ड इन कमान्ड सुनिल कुमारलगायत सेक्टर हेडक्वाटर मातहतका बटालियन कमान्डरहरू र सशस्त्र प्रहरी बल नेपालका तर्फबाट सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजित, वाहिनी मातहतका गणपतिहरू, भारतसँग सीमा जोडिएका जिल्लाका गुल्मपतिहरू र अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here