ठेकेदारको लापरबाहीले दमक–चिसापानी सडक अलपत्र

0
12

भगीरथ भण्डारी,
इलाम ।

इलामको माङ्सेबुङ गाउँपालिकास्थित दमक चिसापानी सडकको कालोपत्रे गर्ने कामको म्याद सकिनै लागे पनि सडक निर्माण भने अलपत्र छ ।

काम सम्पन्न गर्ने म्याद नजिकिँदै छ, सडक निर्माणको काम भने अलपत्र छ । निर्माण कम्पनीले काम गर्दागर्दै छोडेपछि भेल बाढीको निकास नहुँदा कतिपय ठाउँमा सडक अवरुद्ध छ । बाटो कटिङ र ब्रेकर लगाई सडक अलपत्र बनाएर निर्माण कम्पनी लुम्बिनी गणपति जे भी सम्पर्कविहीन बनेपछि स्थानीयहरू समस्यामा परेका छन् । सडक अलपत्र छोडी निर्माण कम्पनी सम्पर्कविहीन हुँदा दमकदेखि माङ्सेबुङको चिसापानी जोड्ने सडक त अलपत्र बन्यो नै सडकको समस्या हुँदा त्यहाँका जनताले सास्ती भोगिरहेको माङ्सेबुङ गाउँपालिकाका प्रवक्ता सुशान राई बताउँछन् ।

सडक आसपासमा निर्माणका लागि ल्याइएका रोलर, ग्रेडर, स्काभेटर, जेसीभी, टिपर लगायत थुप्रै उपकरणहरू देखिन्छन् । तर ती उपकणहरूमा खिया लाग्न थालिसकेका छन् भने निर्माण हुँदै गरेको काम किन रोकियो भन्नेमा स्थानीय बेखबर छन् । लुम्बिनी गणपति जे भी नयाँबानेश्वर, काठमाडौँले ५९ करोड १५ लाख ३५ हजार आठ सय ३४ रुपैयाँ (भ्याट र पिएसहित) मा सडक कालोपत्रे स्तरको स्तरोन्नति गर्ने कार्यका लागि २०७६ फागुन २ गते सम्झौता गरेको थियो ।

२०७९ फागुन २ मा सम्पन्न गर्ने गरी सम्झौता भनिए पनि समयमा काम नभएपछि एक वर्षका लागि म्याद थपियो । थप गरिएको म्याद पनि फागुनमा सकिँदैछ तर सडक भने भत्किएर सकिने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
हिउँदका समयमा अत्यधिक धुलो र बर्खाको समयमा हिलो र पहिरोको समस्याले आवतजावत गर्न निकै कष्ट हुने उक्त सडकको निर्माण अलपत्र पर्दा वर्षैपिच्छे अब चाहिँ बाटो बन्ला कि भन्दै आश गर्दै बसेको तर बाटो बन्ला जस्तो नदेखिएको स्थानीय रोशन राई बताउँछन् । निर्वाचनको बेला सडक बनाउने, बनाउन लगाउने थुप्रै आश्वासन पाइयो तर सडक सम्पन्न भएर हिँड्न नपाइने रहेछ भन्दै दिनदिनै सडकको अवस्था झन् खराब भएको उनको भनाइ छ ।

निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीय आक्रोशित भई आन्दोलनमा समेत उत्रिएका थिए । सडक आयोजना र निर्माणको ठेक्का पाएको कम्पनीले जिम्मेवार नहुँदा नागरिकले सास्ती भोगिरहेको भन्दै स्थानीयले समिति गठन गरेरै आन्दोलनमा उत्रिए पनि निर्माण कम्पनीको लापरबाहीका कारण नागरिकले दुःख भोगिरहेका छन् । आन्दोलनमा उत्रिएपछि स्थानीयले गाउँपालिकाका प्रतिनिधि, सडक डिभिजन कार्यालयको प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय सरोकारवालाहरूको संयुक्त भेला राखेर निर्माण कम्पनीलाई चाँडो काम गर्न ताकेता पनि गरेको थियो । भेलाले निर्माण कम्पनीका प्रतिनिधिहरूलाई तत्काल काम शुरु गर्ने गरी लिखित प्रतिबद्धता गराए पनि सडक निर्माणको काम नगरेपछि अहिले यातायात सञ्चालनमा समस्या भएको छ ।

यता माङ्सेबुङ गाउँपालिकाले गत असोज ६ गते जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र काटेर सहजीकरणका लागि आग्रह समेत गरेको थियो । गाउँपालिकाका अध्यक्ष हेमन्त राईले हस्ताक्षर गरेको पत्रमा सङ्घीय सरकारबाट दमक–चिसापानी–रबी सडक निर्माणको काम रोकिएको भन्दै सडकको मर्मत संहार समेत नहुँदा यातायात अवरुद्ध भएकोले यात्रा कष्टकर भएको उल्लेख छ । सडक मर्मतका लागि पटक–पटक सडक डिभिजन कार्यालय दमकलाई अनुरोध गर्दा समेत कुनै काम नभएको भन्दै आउँदै गरेको चाडवाड अघि नै सडक मर्मत र समयमै सम्पन्न गर्नका लागि सहजीकरण गर्न पत्रमा आग्रह गरिएको थियो । उता डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेललाई फोन सम्पर्क गर्दा फोन उठेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here