राँके–गैँडे सडकमा ढलानले छोपिनेमा भन्दा देखिने रड ठूलो

0
12

इलाम।

बहुवर्षे योजना अन्तर्गत इलाममा राँके–गैँडे–दमक सडक निर्माणको काम भइरहेको छ । उक्त सडक निर्माणको काम दुई खण्डमा विभाजन गरेर काम हुँदैछ । जसअनुसार माङ्सेबुङस्थित इभाङको तिखे गोलाई आसपासमा सडक ढलानको काम भइरहेको छ । सडक ढलान गर्ने क्रममा ढलानले छोपिने ठाउँमा प्रयोग गरेको रड र बाहिर देखिने ठाउँमा प्रयोग गरेको रड फरक पाइएको छ ।

ढलानले छोपिने ठाउँमा १० र १२ एमएमको रड बिच्छ्याइएको छ भने बाहिर निकालेको १६ एमएमको रड गाँसेर निकालिएको छ । ९० मिटर ढलान हुन लागेको उक्त सडक खण्डको ढलानमा देखिने रड र प्रयोग गरिएका रड फरक पाइएपछि स्थानीयले प्रश्न उठाउन थालेका छन् ।

लामो समयसम्म चर्चा पाइरहेको उक्त सडक थकाइ मार्दै निर्माण भए पनि निर्माणको काममा गुणस्तर छ – छैन भन्नेमा स्थानीय चिन्तित छन् । बहुवर्षे योजनाका रूपमा रहेको उक्त सडक निर्माणमा ढिला भइरहँदा निर्माणको काममा हुने लापरबाहीले सडक निर्माण सम्पन्न नै नभई बनाएको ठाउँ भत्किन थाल्ने हो कि भन्नेमा स्थानीय चिन्तित छन् ।

माङ्सेबुङ गाउँपालिकाका प्रवक्ता सुशन राईले उक्त सडक ढलानमा दुईखाले रड प्रयोग गरेको देखिएको बताए । उनले इस्टिमेटमा के छ थाहा छैन तर छोटा रडलाई जोडेर बाहिर निकालेको देखेपछि बुझ्न खोज्दा त्यहाँ कोही पनि नभएकोले तत्काल बुझ्न नपाएको भन्दै आफू जिल्ला आउँदै गर्दा देखेको हो र पालिका गएर त्यस विषयमा बुझ्ने बताए । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले प्रदेश र संघबाट सञ्चालनमा आएका योजना हामीले अनुगमान नमिल्ने रहेछ भन्दै त्यसैले यस विषयमा जिल्ला समन्वय समितिलाई तत्काल अनुगमन गरिदिन आग्रह गरेको बताए । अनुगमन गर्न नमिल्ने भन्दै त्यसै छाडिदिने चाहिँ होइन त्यहाँको कामको विषयमा चासो राखेर जिल्ला समन्वयसँग समन्वय गरिने अध्यक्ष राईको भनाइ छ ।

यता जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले गलत काम गरेको रहेछ भने त्यसलाई पुनः काम गर्न लगाउनु पर्ने भन्दै उक्त सडकको अनुगमनका लागि आफू इञ्जिनियर लिएरै जाने बताए । इस्टिमेटमा के छ त्यो अनुसार अनुगमन गर्ने भन्दै जिसस प्रमुख राईले देखिने ठाउँमा मात्रै ठूलो रड लगाएको पाइएमा बनाएको सबै ढलान भत्काएर पुनः बनाउन लगाउने बताए । सडक निर्माणको जिम्मा पाएको पूर्वाधार विकास कार्यालय चन्द्रगढीका प्रमुख रमेश श्रेष्ठले कार्यालयका इञ्जिनियर त्यहीँ बसेर हेरिरहेको भन्दै काम गर्ने क्रममा गलत गरेको पाइए तत्काल कारबाही गर्ने र इस्टिमेट अनुसार नै काम गर्न लगाउने बताए ।

यता उक्त आयोजनाको साइड इञ्जिनियर अमित चौधरीले भने इस्टिमेटभन्दा फरक काम नभएको बताएका छन् । उनले इस्टिमेटमा १० र १२ एमएम कै रड लगाउने भएको भन्दै सडकको तल्लो साइडको ढलानसँग जोड्नका लागि ठूलो रड प्रयोग गरेको बताए । इस्टिमेटमा एउटा र काम अर्को कुनै हालतमा नहुने भन्दै आफूले उनले इस्टिमेटभन्दा अलिकति पनि बाहिर रहेर काम नगर्ने बताए ।

जिल्लाकोे फाकफोकथुम भएर माङ्सेबुङ् गाउँपालिका हुँदै झापा जोड्ने राँके–गैँडे सडक लामो समयसम्म निर्माण नहुँदा यस क्षेत्रका बासिन्दाले समस्या भोगिरहेका छन् । ५२ किलोमिटर यात्रामा तराई जोड्ने उक्त सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी शिलान्यास गरिए पनि निर्माणले गति लिन नसक्दा समस्या भइरहेको छ । राँके–गैँडे सडकमा पर्ने देउराली–फलाँटे –गजुरमुखी –इभाङ् सडक खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम थालिए पनि निर्माणले तीव्रता पाउन सकेको छैन ।

६८ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने उक्त सडक दुई प्याकेजमा ठेक्का सम्झौता भई ठेक्का लागिसके पनि निर्माणमा ढिलाइ हुँदा स्थानीय चिन्तित छन् । सडक निर्माणको सुस्ततता सँगै उक्त सडक खण्डमा पर्ने खोलामा पुल समेत नहुँदा बर्खामा झन् ठूलो समस्या आउने गरेको छ । त्यस क्षेत्रका बासिन्दा सडक बन्छ भन्ने आशामा हिउँदको समयमा धुलो र बर्खामा हिलोको समस्या वर्षौंदेखि भोग्दै आएका छन् ।

राँके–गैँडे सडक निर्माणको ठेक्का लिएका सन्तोष कटुवाल २६ किलोमिटरको ठेक्का ७० करोडको हाराहारीमा लागे पनि वार्षिक रूपमा पाँचदेखि सात करोडसम्म बजेट विनियोजन हुने र यस वर्ष त चार करोड विनियोजन भएको भन्दै अव अरू कति वर्ष यो ठेक्का रुँगेर बस्नु पर्ने हो टुङ्गो नभएको बताउँछन् । उनले आफूले ठेक्का पारेको सडक निर्माणका क्रममा गुणस्तरलाई प्राथमिकतामा राखेर सडकको ग्यारेन्टी समेत दिने बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here