विश्व खाद्य दिवसको औचित्य

0
11

हरेक वर्ष अक्टोबर १६ का दिन विश्व खाद्य दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको निर्णय र खाद्य तथा कृषि संगठनको आह्वानमा सन् १९८१ यो दिवस मनाउन शुरु भएको हो । ‘पानी जीवन हो– पानी खाना हो’ भन्ने मूल नाराका साथ मनाइने यस वर्षको विश्व खाद्य दिवसले पानीको संरक्षण, शुद्धता र महत्वलाई जोड दिएको छ । बढ्दो जनसंख्या र घनत्वका कारण हाम्रा नदीनाला, ताल, पोखरी र नदीका स्रोतहरु प्रदूषित हुन थालेका छन् । त्यसकै कारण भूमिगत पानी पनि क्रमशः सुक्दै जान थालेको छ । मानवीय गतिविधिका कारण ह्रासोन्मुख हाम्रो वातावरण र प्राकृतिक सम्पदालाई संरक्षण गर्न सकिएन भने खाद्य संकट उत्पन्न हुने जोखिम छ ।

मानिसको बदलिँदो जीवनशैली र खाद्य प्रवृत्तिका कारण प्रकृतिमा व्यापक परिवर्तन आएको छ । यसले बहुसंख्यकको जीवन निर्वाहमा संकट पनि थपिएको छ । हाम्रै देशको सन्दर्भमा युवा जनशक्तिको पलायन र सरकारको उदासीनताका कारण प्रमुख निर्यातक देश अहिले ‘आयातक’मा बदलिएको छ । त्यसमाथि जथाभावी प्रयोग गरिने रासायनिक र घातक विषादी र सुख्खा हुँदै गएको माटोका कारण खाद्य उत्पादन घट्दो क्रममा छ भने अनेक स्वास्थ्य समस्याको जोखिम बढेको छ । यस्तो अवस्थामा जलवायु परिवर्तनले खाद्यान्न संकटको चुनौती पनि थापिएको छ । यही क्रममा मानिसको जीवनशैली अगाडि बढिरहने हो भने र सरकार पनि खाद्य उत्पादन र सुरक्षातर्फ गम्भीर नहुने हो भने मानव सभ्यता अस्तित्वको संकटमा जेलिने छ ।

विश्वको बढ्दो जनसंख्यालाई मध्यनजर गरी त्यही अनुपातमा खाद्यान्न उत्पादन बढाउन लाग्नु पर्दछ । जलवायु परिवर्तनसँग अनुकूलन गर्दै उत्पादन वृद्धिका उपायहरुको भरपूर प्रयोग गर्नुपर्छ । हिलो–धुलोसँग खेल्न नरुचाउने आजको जीवनशैलीले पनि बाँच्नका लागि अन्नमै भर पर्नु पर्छ र किसानले कृषिकर्म त्याग्ने हो भने भोकै बस्नुपर्ने निश्चित छ । त्यसैले पनि नेपालको सन्दर्भमा आफूले खाएर दुनियालाई खुवाउने किसानलाई पेशागत सुरक्षासँगै कृषिको प्रवद्र्धनमा राज्य गम्भीर हुनुपर्छ । त्यसका लागि परम्परागत कृषि प्रणालीमा व्यापक परिवर्तन ल्याउनुपर्छ । सरकारले आवश्यक सेवासुविधा उपलब्ध गराएर खाद्य संकटका कारण सम्भावित ‘भोकभरी’बाट जोगाउन अग्रसर हुनुपर्छ । सिँचाई, उन्नत मलबीऊ, बजार, उपकरण लगायतका सेवा सहज बनाएर आउँदो पुस्तालाई कृषि कर्मप्रति रुची र आकर्षण बढाउने नीति–निर्माण गर्नुपर्छ । त्यसोभए मात्र प्रकृतिको संरक्षण हुन्छ र जलवायु परिवर्तनको असर पनि कम गर्न सकिन्छ । यसले सम्भावित खाद्य संकटबाट पनि जोगाउन मद्दत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here