कोशीको संशय र चुनौती

0
8

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा थियो । तर, मुख्यमन्त्री कार्कीले नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित कार्की दलीय र गठबन्धनको निर्देशन विपरीत विद्रोही उम्मेदवार हुँदा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । उनको विद्रोहले उनको दल र संघीय गठबन्धनमा रहेका दलहरु सशंकित भए । कार्कीको विद्रोहले संघीय गठबन्धनको भविष्यमै खतरा पुग्ने देखेर उनलाई समर्थन गर्न पुगेका दलभित्रको अविश्वास र आशंकाको आंकलन गरेर हुन सक्छ समयसीमाभन्दा धेरै अघि मुख्यमन्त्रीले विश्वास मत लिन लागेका हुन् ।

कोशी प्रदेशमा विकसित राजनीतिपछि केन्द्रको सत्ता गठबन्धनमा पनि संकट आउने सम्भावना बढेको छ । त्यही सम्भावनालाई निस्तेज पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सहमति नै भएको छ । यस्तो सहमतिले एमाले र कांग्रेसबाट विद्रोह गर्ने समूहकाबीच अविश्वास बढेको छ । मुख्यमन्त्री बनेका कार्कीले पहिलो चरणमै एमालेका एक जनालाई मन्त्री मण्डलमा सहभागी गराएका थिए । मुख्यमन्त्रीको यस्तो निर्णयले गठबन्धन दल र एमाले दुबैलाई झस्काएको छ । त्यसैगरी मुख्यमन्त्री कार्कीले न मातृ संगठन, न गठबन्धन न त आफूलाई मुख्यमन्त्री बन्न समर्थन दिने एमालेको सुझाव मानेका छन् । जसका कारण पनि मुख्यमन्त्री कार्की विश्वासको मत लिन हतारिएको हुनसक्ने टिप्पणी भएको छ ।

मिश्रित निर्वाचन प्रणाली भएको हाम्रो जस्तो देशमा कुनै एउटा दललाई बहुमत प्राप्त गर्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा मिलिजुली वा गठबन्धनको सरकारको विकल्प हुँदैन । तर, हाम्रो देशको गठबन्धनका दलहरुभित्र न राजनीतिक संस्कार छ न त समन्वय, सहयोग र सद्भाव देखिएको छ । यस्तोमा मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाए पनि हाल प्रदेशमा विकसित नामकरणदेखि धार्मिक विवादको सामना गर्ने चुनौती पनि कायम छ । देशकै अग्रणी क्षेत्र र प्रदेशका रुपमा परिचय बनाएको कोशी प्रदेशलाई बलियो, समुन्नत र संगठित बनाउन मुख्यमन्त्रीको भूमिका कस्तो रहन्छ त्यसमै उनको र मूलधारका दलहरुको भविष्य निर्भर छ । त्यसैले पनि सहकार्य गर्दै विमति र फरक धारका दल, समूह र विचारलाई एकीकृत गर्दै सम्भावित मध्यावधि टार्न मुख्यमन्त्री कार्कीलाई ऊर्जा प्राप्त होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here