धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिँदै

0
22

मङ्गलबारे,

इलाम नगरपालिका–६ पानीट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो ।

एक रोपनी क्षेत्रफलमा रु डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिनेछ । गुम्बामा धार्मिक पाठशालासमेत रहनेछ । साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

गुम्बा निर्माणका लागि सन्दकपुर गाउँपालिका–२ का धनबहादुर गुरुङले एक रोपनी जमिन निःशुल्क उपलब्ध गराउनु भएको हो । साथै उहाँले नगद रु तीन लाख रकम निर्माण कार्यका लागि सहयोग गर्नुभएको समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ । यसका लागि स्थानीयहरु श्रमदानमा समेत जुटेका छन् । बिदाको दिन करिब एक सय माथिको सङ्ख्यामा स्थानीय श्रमदानमा आउने जनाइएको छ । गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रकम प्राप्त भएको जनाइएको छ । साथै विभिन्न व्यक्तिहरुबाट समेत २० लाख माथि रकम सङ्कलन भइसकेको छ ।

तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरुलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ । गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिनेछ । चियाबारी नजिकै भ्यू टावर छेउमा निर्माण भइरहेको गुम्बामा सहयोगीहरु थपिने क्रम जारी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here