मानव जीवनमाथि भयानक शक्ति प्रदर्शन

0
8

सडेरोट, इजरायल,

अक्टोबर ७ को बिहानै इजरायलका लागि हमास आक्रमण अप्रत्याशित थियो, युद्धसँग साइनो नै नभएको नेपालले पनि अकल्पनीय क्षति बेहोर्नुपर्‍यो । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि सिक्न र बुझ्न इजरायल पुगेका सुदूरपश्चिमका १० विद्यार्थीको ज्यान गयो । कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाएर प्यालेस्टिनी विद्रोही समूह हमासले साथमै लिएर गएको छ ।

उनीसहित विभिन्न देशका २१० नागरिक हमासको नियन्त्रणमा छन् भने इजरायल प्यालेस्टाइनमाथि आक्रामक छ । मानवीय, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा यो घटनाक्रमबाट विश्व बेचैन छ ।

घरमै बसेर टेलिभिजनमा दृश्य हेर्दै, इन्टरनेटमा समाचार पढ्दै, इजरालयमा रहेका नेपालीका विषयमा विभिन्न स्रोतबाट सम्पर्क गर्दै पहिलो दिनको समाचार लेखें, दोस्रो दिन तुरुन्त कार्यालय आउनु भनेर फोन आएपछि अर्को केही महत्त्वपूर्ण ‘असाइनमेन्ट’ होला भन्ने सोच्दै पुगिहालें । अध्यक्ष, प्रबन्ध निर्देशक र कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट तथा टेलिभिजनका सम्पादकहरूबीच सल्लाह के भइसकेको रहेछ भने ‘ग्राउन्ड रिपोर्टिङ’ का लागि कान्तिपुर टिम इजरायल पठाउने ।

‘इजरायलमा नेपाली विद्यार्थी मारिएका छन्, बेपत्ताको उद्धार र अन्य नेपालीको सुरक्षा सरोकार छ, नेपाली समुदाय र सिंगो मानव जगत्ले भोग्नुपरेको यो त्रासदीको घटना विवरण नेपाली सञ्चारकर्मीबाटै सुन्न पाउनु नेपाली पाठक, दर्शकको अधिकार हो, त्यसलाई कान्तिपुरले सम्मान गर्नुपर्छ,’ मेराअघि पृष्ठभूमि यसरी बाँधियो ।

‘यो चुनौतीपूर्ण अवसर हो, तपाईंको विचार के छ ?’ प्रश्न खस्न नपाउँदै मेरो मन दक्षिण इजरायल र सीमा क्षेत्र पुगिसकेको थियो । मैले इन्कार गर्न मिल्ने प्रस्ताव नै थिएन । म मात्र होइन, कान्तिपुरका फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेना र कान्तिपुर टेलिभिजनका भिडियो जर्नलिस्ट श्यामकृष्ण श्रेष्ठले पनि यो चुनौती तत्कालै स्विकारेपछि हाम्रो टिम

पूर्ण भयो । मैदानमा गएर प्रत्यक्ष रिपोर्टिङ गर्ने, अन्तर्राष्ट्रिय मिडिया जहाँसम्म पुग्न सक्छ, त्यहाँसम्म पुग्न प्रयास गर्ने सल्लाहपछि अन्तिममा हामीलाई निर्देशन थियो– ‘पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भने आत्मसुरक्षा नै हो ।’

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना

इजरायली दूतावासबाट भिसा लिनभन्दा गाह्रो हवाई टिकट लिन थियो, इजरायलतर्फको अन्तर्राष्ट्रिय उडान खलबलिएको थियो । अझ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट अनुमति पाउन झन् कठिन भयो । किनकि, युद्ध क्षेत्रका नेपालीहरूलाई सरकारले उद्धार गरेर नेपाल ल्याउँदै थियो, कान्तिपुर टिम भने युद्धस्थलतर्फ जाँदै थियो । नेपाल सरकारले इजरायल यात्रामा निषेध गरिसकेको र ‘वार रिपोर्टिङ’ मा नेपाली मिडिया जाने अभ्यास नभएकाले अध्यागमन आफैं अलमल परेको थियो । तर, ‘आइपर्ने कुनै भवितव्यप्रति हामी र हाम्रो संस्था आफैं जिम्मेवार हुनेछौं’ भन्ने कागजमा हस्ताक्षर गरेपछि मात्र हामी दुबई हुँदै गन्तव्यतर्फ लाग्न पायौं ।

१४ अक्टोबर, बिहान ९:४० बजे हामी इजरायलको तेलअभिभस्थित बेन गुरियन विमानस्थल उत्रियौं । मैले मध्यपूर्व क्षेत्रलाई आफ्नो बिट बनाएर स्थलगत रिपोर्टिङ थालेको १४ वर्ष बितिसक्दा पनि इजरायल टेक्ने अवसर पाएको थिइनँ । इजरायल र हमासबीच चर्किराख्ने युद्धको चपेटामा पर्ने नेपाली ‘केयरगिभर’ का अनुभव टिपोट गर्नेबाहेक थप युद्ध क्षेत्रबाटै प्रत्यक्ष रिपोर्टिङ गर्नुपरेको थिएन । भिडियो जर्नलिस्ट श्रेष्ठ यसअघि नै इजरायल पुगे पनि यो परिवेश नितान्त फरक थियो ।

युद्धमा रहेको देशको हालत हामीले गुरियन विमानस्थलमै देख्यौं । दैनिक हजारौं भीडभाड हुने भनिएको विमानस्थलमा चहलपहल थिएन, बरु फैलिएको थियो डर र त्रासमिश्रित सन्नाटा । अध्यागमन र केही एयरलाइन्सका काउन्टर मात्रै खुलेका देखिन्थे । अध्यागमनमा विदेशी नागरिकको काउन्टरमा हामीसहित ५ पत्रकार मात्रै लाइनमा थियौं । दुई पत्रकार अस्ट्रेलियाबाट आएका थिए ।

अध्यागमन अधिकृतले प्रवेशको अनुमति दिएपछि बाहिर निस्कियौं, जहाँ इजरायली नागरिकलाई स्वागत गर्न बसेका केही आफन्तजन मात्रै थिए । विभिन्न देशमा छरिएका तन्नेरी इजरायली युद्धमा होमिन देश फर्किरहेका थिए । आपत्कालीन अवस्थाका लागि तैनाथ गरिएका रेडक्रसकर्मी थिए । विमानस्थलका दुईबाहेक अन्य व्यावसायिक सटर बन्द थिए ।

३० किलोमिटर टाढा रहेको योफास्थित रेसिडेन्सी होटलमा जाने ट्याक्सी खोज्यौं । ट्याक्सी चालक पनि फाट्टफुट्ट मात्रै भेटिए । एक जना चालक होटलसम्म लैजान त तयार देखिए तर उनले लिने भाडा दोब्बर थियो । हामी ट्याक्सी चढेर अगाडि बढिरहँदा सडक सुनसान थियो । ट्याक्सीको अघिपछि सुरक्षा दस्ताका गाडी मात्रै गुडिरहेका थिए । विमानस्थलबाट थोरै अगाडि मात्रै के बढेका थियौं– जोडले साइरन बज्न थाल्यो । यसले गाजा क्षेत्रबाट मिसाइल आइरहेकाले सुरक्षित स्थानमा जान सतर्क गराएको थियो ।

तेलअभिभबाट गाजा क्षेत्र झन्डै ७० किलोमिटरको हवाई दूरी छ । गाजा क्षेत्रबाट हानेको मिसाइल तेलअभिभमा आइपुग्न करिब दुई मिनेट लाग्दोरहेछ । त्यतिन्जेल जो जहाँ छ, आसपासमा बंकरभित्र छिरिसक्नुपर्ने रहेछ । हामी कुदिरहेको सडकको दायाँबायाँ बंकर देखिएन । ट्याक्सी चालकले पुलमुनि लगेर रोकिदिए । हतारहतार बाहिर निस्कियौं । सडकको कुनामा गएर घोप्टो परेर बस्यौं । आकाशमा देखिएको मिसाइललाई इजरायलको आइरन डोमले आकाशमै निस्तेज पारिदियो । यस्तो मिसाइल एकै पटक दर्जनौं आउँदो रहेछन् । आइरन डोमका कारण इजरायलको क्षेत्रमा खस्ने सम्भावना भने न्यून छ । तैपनि शतप्रतिशत सुनिश्चित नभएपछि सुरक्षित भएर सकेसम्म बंकरमै जानुपर्ने रहेछ । हमासले हरेक घण्टाजसो इजरायलका भिन्नाभिन्नै क्षेत्रमा मिसाइल हानिरहेको थियो, साइरन बजिरहेका थिए ।

इजरायल पुगेदेखि नै एउटा सूचना आइरहेको थियो– इजरायली सेना गाजापट्टीमा स्थलगत रूपमा छिर्ने तयारीमा छ । ट्यांकसहित आधुनिक हतियार लिएर सैनिक सीमा क्षेत्रमा खटिएका छन् । इजरायल र गाजाको ४१ किमि र उत्तरी क्षेत्रको १० किमि सीमा क्षेत्रमा ५ लाख इजरायली सेना तैनाथ भइसकेका थिए । यावत विवरण सुन्दै हामी होटलमा पुग्दा भेटिए नेपाली श्रमिक टीका तिमिल्सना । हाम्रा लागि होटल खोलिदिएपछि उनले भने, ‘अहिले कोही बस्दैनन् । म्यानेजर र अरू स्टाफ पनि बिदामा छन् । म एक्लैले हेरिरहेको छु ।’

हामीले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाललाई तेलअभिभ आइपुगेको जानकारी दियौं । उनीसँगको संवाद उत्साहजनक थिएन । हाम्रै सुरक्षाको चिन्ताले होला, अहिले नआएको भए हुन्थ्यो भन्ने उनको टिप्पणी थियो । ‘आजबाट ७२ घण्टासम्म कोही कसैलाई बाहिर ननिस्कन इजरायल सरकारले सूचना जारी गरेको छ । अवस्था जोखिमपूर्ण छ । आइहाल्नुभयो, सुरक्षित भएर बस्नुहोला,’ रिजालले भनिन् ।

इजरायलमा पनि नेपाली समुदाय विभिन्न संघसंस्था र राजनीतिक दलका भ्रातृ संगठनसँग आबद्ध छन् । संघसंस्थाका प्रतिनिधिसँग वस्तुस्थिति बुझ्दै जाँदा तेलअभिभ, जेरुसेलम आसपास रहेका नेपाली केयरगिभर आत्तिएका देखिएनन् । ‘इजरायल युद्धमा छ । यो युद्ध हामी बस्ने ठाउँमा होइन । सीमा क्षेत्रमा मात्रै हो । हामी सुरक्षित महसुस गर्छौं । तर, इजरायलको युद्धको सूचनाले हाम्रो परिवार आत्तिएका छन् । हामीलाई फर्कन दबाब दिइरहेका छन् । विद्यार्थीहरूले काम गर्ने क्षेत्र सिमाना भएकाले पनि क्षति बढी भएको हो,’ १० वर्षदेखि तेलअभिभमा श्रम गर्दै आएका मोरङका प्रकाश लिम्बूले भने, ‘तत्काल फर्किहाल्ने निष्कर्षमा पुगेका छैनौं ।’

हामीले नेपाली कामदारको मनस्थिति बुझ्ने र गाजापट्टीसँग जोडिएको दक्षिण सीमा क्षेत्रमा पुग्ने प्रयास निरन्तर गरिरह्यौं । युद्ध क्षेत्रमा पुग्न इजरायली सैनिक क्षेत्रमा प्रवेश गर्न अनुमति चाहिन्छ । त्यसका लागि विदेशी पत्रकारलाई जेरुसेलमस्थित सरकारी प्रेस कार्यालय (जीपीओ) बाट अनिवार्य रूपमा पत्रकारको परिचयपत्र लिनुपर्दोरहेछ । ‘फलामको हतियार नाम दिइएको यो युद्ध सुरुवात भएदेखि रिपोर्टिङ गर्न विश्वभरबाट दुई हजार ५० जना पत्रकार इजरायल आइसकेका छन् । सबैभन्दा बढी अमेरिका, बेलायत, फ्रान्स र जर्मनीका छन्,’ प्रेस निर्देशक नित्जन चेनले भने, ‘हामी मिडियालाई अक्टोबर ७ मा भएको कहालीलाग्दो तस्बिर र आवाज देखाउन तयार छौं ।’

अन्तर्राष्ट्रिय पत्रकारको भीडमा हामी ३ नेपाली पनि थपिएका थियौं । सीएनएन, बीबीसी, अलजजिरा, फक्स, एपीदेखि आजतकसँगै कान्तिपुरको बुम तेर्स्याउँदा मन ढक्क फुलेर आउँदो रहेछ । उनीहरूले गर्ने रिपोर्टिङ शैलीसँग आफ्नो शैली दाँजिँदो रहेछ । एउटै पात्र, एउटै विषयवस्तुको प्रस्तुति कसरी भिन्न भयो भनेर छुट्याउन सकिँदो रहेछ । यो मेरा लागि दुई दशकको पत्रकारिताकै सबैभन्दा दुर्लभ अवसर थियो ।

गाजापट्टी र लेबनानसँग जोडिएको सीमा क्षेत्रमा पुग्न निकै जोखिमपूर्ण थियो । यो क्षेत्रमा जान भाडाका गाडी पाउन कठिन थियो । यहाँका स्थानीय अंग्रेजीभन्दा आफ्नो मातृभाषा हिब्रु नै बोल्न रुचाउने रहेछन् । अंग्रेजी र हिब्रु भाषा बोल्ने चालक निकै कम हुँदा रहेछन्, हामीले निकै मिहिनेत गरेपछि मात्रै स्थानीय चालक बिएनेस राइसेस फेला पर्‍यौं, जो अंग्रेजी र हिब्रु भाषा बोल्थे । उनी युद्धस्थलमा लैजान तयार देखिए । उनको सहयोगले बल्ल दक्षिणी भेगमा जान सफल भयौं । सडकमा राखिएका धेरै चेकपोस्ट पार गर्दै जानुपर्ने रहेछ । ‘गोली, रकेट र बमले सेना र प्रेस भनेर छुट्याउँदैन । लाग्यो कि सकियो । हामी प्रेसलाई रोक्दैनौं,’ चेक पोस्टमा खटिएका एक सैन्य अधिकारीले भने, ‘म तिमीहरूलाई यहाँबाट पछाडि फर्कन आग्रह गर्छु ।’

हामीले ती अधिकारीलाई भन्यौं, ‘विदेशी पत्रकारलाई जहाँसम्म जान दिइएको छ, त्यहाँसम्म मात्रै जान्छौं । त्यसपछि फर्किन्छौं ।’ ती अधिकारीले अगाडि बढ्न अनुमति दिए । दक्षिणी क्षेत्रको गाजापट्टीसँग सबैभन्दा नजिक रहेको सडेरोट सहर मानवविहीन थियो । यो सहरमा सेना र प्रहरी मात्रै देखिन्थे । सर्वसाधारण कोही थिएनन् । ठूल्ठूला घरहरू भूतबंगला जस्तो देखिन्थ्यो । हमासले आक्रमण गरेका दक्षिणी क्षेत्रका सबै गाउँहरूलाई सैन्य क्षेत्र घोषणा गरिएको थियो । सेनाको अनुमतिबिना यी गाउँमा कोही पनि जान पाउँदैनन् ।

हामी सडेरोटपछि किबुज अलुमिमको नजिकै रहेको अन्तिम जाँच गर्ने सुभमा पुगेका थियौं । सुभको चोकमा युद्धमा खटिएका सेना एकैछिनका लागि फ्रेस हुन आउँथे । यहाँ सेनाका लागि चिया–कफी, खानेकुरा, लत्ताकपडा र दैनिकी प्रयोगमा आउने सामान निःशुल्क रूपमा राखिएको थियो । बुबाआमा युद्धमा खटिएका छोराछोरीलाई खाना बनाएर खुवाउन यही चोकमा आउँथे । यो चोकबाट दुई किमि पर रहेको १० जना नेपाली विद्यार्थी मारिएको किबुज अलुमिममा पुग्न हरतरहको प्रयास गर्‍यौं । सुभमा आउने सैन्य अधिकारीलाई त्यहाँसम्म लैजाने प्रबन्ध गर्न आग्रह गर्‍यौं । सबैको एउटै जवाफ आउँथ्यो, ‘हामी अरू किबुज देखाउन सक्छौं । अलुमिम अझै सुरक्षित भइसकेको छैन । यो सबैभन्दा ठूलो किबुज हो । यहाँबाट गजापट्टी नजिकै छ । बमबारी भइरहेको छ । हमासहरूले ठाउँठाउँमा माइन बिछ्याइदिएका छन् । त्यो माइनलाई हामी क्रमशः हटाइरहेका छौं । अझै पनि हमास यहाँभित्र लुकेर बसिरहेको हाम्रो आशंका छ । तत्कालै सम्भव छैन ।’

सुभबाट गाजापट्टीको भूभाग र सहर मजाले देखिन्थ्यो । बम विस्फोटको आवाज छिनछिनमा आइरहन्थ्यो । विस्फोट भएर धूवाँ निस्केपछि मात्रै देखिन्थ्यो । सेनाले हामीलाई अग्लो डिलमा उभिन दिइरहेको थिएन । ‘हामी गाजापट्टीको नजिकको दूरीमा छौं । हमासको टार्गेटमा पर्ने खतरा हुन्छ,’ सेनाले सजग गराइरहन्थ्यो । हामीलाई अलुमिममा पठाउन सुभमा सेनालाई निःशुल्क चियाकफी दिइराख्ने स्थानीय जमानको प्रयास पनि सफल भएन । ‘अलुमिममा १० नेपालीले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । यो मलाई राम्रोसँग थाहा छ । घाइतेहरूको उद्धारका लागि हामीले धेरै मिहिनेत पनि गरेका थियौं । त्यो दिनदेखि यो चोकलाई हामीले छाडेका छैनौं,’ जमानले भने, ‘तिम्रो मान्छे मारिएका ठाउँ लैजान सबै तयार छन् । तर, अहिले परिस्थिति अनुकूल छैन ।’

अलुमिमभित्रैको गाई फार्म रहेका स्थानीय कृषक सामुल वालवेर्मानलाई सुभमा भेट्यौं । उनी पनि आफ्नो गाईलाई रेखदेख गर्ने सुरमा रहेछन् । अहिले उनको गाईलाई सेनाबाटै रेखदेख भइरहेको थियो । ‘अलुमिममा हमास भित्र छिरेको सुन्यौं । मैले श्रीमतीलाई लिएर लुक्न गएँ । हामी बच्यौं,’ उनले भने, ‘त्यो निकै कहालीलाग्दो थियो । मेरा ज्वाइँ अझै बेपत्ता छन् ।’

हमासका लडाकु गाजापट्टीबाट छिरेर इजरायलको ३० किलोमिटरभित्र अफाकिम सहरसम्म पुगेका थिए । सडेरोट, अस्केलोन र सीमा नजिकै रहेका अलुमिम, बेएरी, निर्वज जस्ता किबुज (कृषि गाउँहरू) छिरेर तहसनहस पारिदिएका थिए । हमासको ‘अल अक्सा फ्लड’ अप्रेसन चल्दा इजरायलमा एकैदिन विदेशीसहित १४ सय मारिए । पाँच हजार तीन सय १२ जना घाइते भए । दुई सय १० जनालाई बन्धक बनाएर गाजा क्षेत्रमा लिएर गए ।

युद्धमा मानवीय नरसंहार कुन हदसम्म हुँदोरहेछ भन्ने निर्वज किबुजमा पुगेपछि देखियो । चार सय जना किसान परिवार बस्ने निर्वज किबुज रित्तो थियो । भुइँतले घर जलेर खरानी थिए । बालबच्चाका खेलौना यत्रतत्र छरिएका थिए । कतिपय घर बमले उडाइदिएको थियो । घरका भित्ता गोलीले क्षतविक्षत बनाइदिएको थियो । यत्रतत्र रगतका टाटैटाटा देखिन्थे । विद्यार्थीहरू बस कुर्ने प्रतीक्षालय जलाइएको थियो । पार्किङमा राखिएका गाडी सबै जलाइएको थियो । गाडीमा चढेर भाग्न खोजेकालाई गाडीभित्रै गोली हानी मारिदिएका थिए । बेबी सिटर, गाडीको सिटलाई गोलीले छेडिदिएको थियो । नजलेका घर तोडफोड गरिएका थिए । लुटपाटबाट नजोगिएको घर थिएन । कसैको टेबुलमा आधा मात्रै चिया थियो । कसैले आधा मात्रै पाउरोटी खाएर छाडिएको थियो । कुनै किचनमा कुकर

बसालिएको थियो ।

हमासले देखे र भेटेजति कसैलाई छाडेको थिएन । यो सानो गाउँमा मात्रै सय जना मारिएका थिए । ‘बच्चाको सामुन्ने बुबाआमालाई गोली हानेर मारिदिएको छ । बुबाआमाको अगाडि बच्चालाई मारिदिएको छ । कति जनालाई सामुन्ने शिर छेदन गरिदिएको छ,’ गहभरि आँसु पार्दै रिओजले भने, ‘मेरी आमा र नातिनीलाई जिउँदै जलाइदिए ।’

हमासबाट ३ वर्षीय बालिका अभिगाइल आदेनसहित २ सय २४ जना बन्धक छन्, जसमा बालबालिका मात्रै ३० जना छन् । टुहुरो बनेकी आदेनले दुई दिदी, बुवा रोई र आमा समदार गुमाइन् । बिनासर्त बन्धकको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरिरहेको इजरायलले हमासको ‘अल अक्सा फ्लड’ अप्रेसनविरुद्ध ‘स्वर्डस् अफ आइरन’ चलाइरहेको छ ।

अक्टोबर ७ यता बिहीबारसम्म हमासले इजरायली भूमिमा ८ हजार मिसाइल प्रहार गरिसकेको छ । हमासको रेकटलाई इजरायलको आइरन डमले आकाशमा निस्तेज गरिरहेको छ । तर, इजरायली सेनाको हवाई आक्रमणबाट गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३ हजार बच्चासहित ८ हजार पुगिसकेको छ । गाजा क्षेत्रभित्र सयौं किलोमिटर सुरुङभित्र रहेको युद्धमा होमिएको हमासलाई निमिट्यान्न बनाउने इजरायलको घोषणा छ ।

तर, गाजा क्षेत्रमा भइरहेको निरन्तर हवाई आक्रमणले मानवीय संकट गहिरिँदो छ । तर, राष्ट्रसंघमा शनिबार भएको मतदानले एउटा आशाको किरण देखाएको छ । इजरायल–हमासबीच तत्काल युद्धविराम गराउन राखिएको प्रस्तावको पक्षमा नेपालसहित एक सय ४० देशले मतदान गरेका छन् । इजरायल र अमेरिकासहित जम्मा १४ देशले विपक्षमा मतदान गरेका छन् । त्यस्तै अमेरिकी सैन्य गठबन्धनका सदस्य बेलायत, फ्रान्सलगायतका देशहरू तटस्थ बसेका छन् । यसले युद्धको विरोधमा नैतिक दबाब सिर्जना गरेको छ । यसले डरलाग्दो ध्रुवीकरणको सम्भावनालाई कम गर्ने आशा पलाएको छ । ईकन्तिपुर बाट साभार

0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here