
नेपालीहरूको महान चाड दशैंलाई बडा दशैं पनि भनिन्छ । बडा दशैं २०८० को माहौल समाप्त भएको छ । यो पर्व महिलाको महिमा र गुणगानले भरिएको छ । महादुर्गाका विविधरूपको बडा दशैंमा सम्मानका साथ पूजा गरिन्छ । दशैंको अर्थराजनीतिक अर्थ अलग्गै छ । गरिबी, अभाव र दुःखका आफ्नै कथा छन्, तर मूल कुरा यसको सामाजिक र सांस्कृतिक महत्व नै बढी छ । हाम्रो देश नेपाल एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र नौ धर्मालम्बीहरू रहेको देश हो । यसरी हेर्दा दशैं नेपालको कुन–कुन जातजाति वा वर्गका मान्छेहरूको चाड वा पर्व हो, किटेर यसै भन्न नसकिने भएको छ । किनभने कोही दशैं चाडलाई हिन्दुहरूको मात्रै चाड हो भन्छन् । कोही–कोही वास्तवमा दशैं हिन्दुहरूको चाड होइन, यो त सनातनीको चाड भन्छन् ।
हाम्रो समाज अहिले पनि पितृसत्तात्मक सोचको चौघेरामा बन्दी छ । शक्तिको मूल स्रोत, दयाको मूल स्रोत, क्षमा र करुणाको मूल स्रोत मातृशक्तिको आराधना गरिने यो पर्व आसुरी शक्तिको नाश गर्दै सद्विचार र सत्कर्ममा जोड दिन मनाइन्छ । आसुरी शक्ति भनेको कुनै क्षेत्र, रंग, रूप, छाला, जात, धर्म र राजनीति दर्शनको भेद होइन, यो त प्रवृत्ति हो । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक, बहुजातीय हाम्रो मुलुक विविधताका बीच एकताको मूलमन्त्रलाई आत्मसात गर्छ दशैंले । विविधताका पाटाहरूलाई संयोजन गर्दै सांस्कृतिक घुलनशीलताको अनुपम दृष्टान्तको रूपमा देखापरेको छ दशैं नेपालमा । यो हिमाल, पहाड र तराई–मधेश सबै क्षेत्रमा बसोबास गर्ने नेपालीबीचको एकतालाई बलियो बनाउने चाडको रूपमा विकास भइरहेको छ ।
महिलालाई दोस्रो नागरिक मान्ने साँघुरो मानसिकताले निर्माण गरेको अनेकन अप्ठेरामा नेपाली महिलाहरू छन् । तर, दशैंमा दुर्गामाताको पूजा आराधना गरिने, देवीको स्तुतिगान गरिने गर्छ, तर सशरीर उभिएका आफ्ना माता र देवीहरूको सम्मान नहुने अत्यन्तै कहालीलाग्दो स्थितिका बीच हामी दशैं मान्दै आएका छौं । दशैं पर्वले नेपालीहरूलाई आफ्नो दुःख–सुख साट्न र रिसइबी, बदला, आक्रोस र आसक्ति छोडेर एकापसमा आत्मीयता बढाउन अभिप्रेरित गर्दछ । घृणा भाव त्यागेर सद्भावना बढाउन यो सुवर्ण अवसर हो, दशैंले एकता र मिलापका लागि उपयुक्त अवसर प्रदान गर्छ । नेपालमा रहेका हुन् वा नेपाल बाहिर रहेका हुन्, सबै नेपालीले आफ्नो पहिचान तथा नेपाली बन्धुत्वभावलाई कायम राखेर नेपाल राष्ट्र एवम् नेपाली राष्ट्रियताप्रति समर्पण र प्रतिबद्घ हुन दशैंले सार्थक प्रेरणा दिन्छ ।
वास्तवमा दशैं हिन्दुको मात्र पर्व होइन, यो नेपालीहरूको महान चाड हो । विजया दशमीको रूपमा पनि परिचित यो पर्वले नछुने थोरै नेपालीहरू छन् । उत्साह, उमँग र हर्षका साथ विविध रमाइला क्रियाकलापसहित मनाइने यो पर्व राष्ट्रिय एकताको पर्व भएको छ । युगीन आलोकमा चिन्तनको महा पर्व हो– दशैं । सामाजिक भोगाइको वर्तमान सन्दर्भमा यो पर्व धनीमानी र हुनेखानेको लागि मात्र हो कि भन्ने तीतो परिवेश छ । सामान्य नागरिकको आम्दानी र बजार भाउबीचको तालमेलमा गडबड छ । असन्तुलित र असहज परिस्थितिमा सीमित खर्चले दशैं मान्नुपर्नेछ । नेपालका धेरैजसो परिवारका लागि । कहालीलाग्दो अभावका बीच दशैं मान्दाको पीडा वर्णन गरी साध्य छैन । महँगीले आकाश चुलिएको समय हो यो । यो दुःख, वेदना र व्यथा बुझिदिने को छ ? अनेकौं अवर्णनीय व्यथा र अभावका बीच २०८० सालको दशैं समापन भएको छ ।

वास्तवमा यो चाडसँग राम र रावण, देवी र दानवको मात्र कथा जोडिएको छैन, यसमा त नेपालको विशिष्ट अन्तरजातीय र बहुधार्मिक यथार्थ पनि प्रतिबिम्बन भएको पाइन्छ । जातीय विविधताका बीच साँचो अर्थमा राष्ट्रिय पहिचानको सुन्दर झण्डा बोकेर उभिएको छ हाम्रो सामु यो दशैं । नेपाली जनताको बलियो एकताको सन्देश दिन बडा दशैं सफल भएको छ । मनमा पिर र मुहारमा खुशी ल्याउनैपर्ने बाध्यताका बीच दशैं सकिएको छ । पन्ध्र दिनसम्म मनाइने यो पर्व सबै नेपालीको साझा पर्व हो । यसको सामाजिक र सांस्कृतिक महत्व पनि छ । यो पर्व मनाउन देश–विदेशबाट आफ्ना अभिभावक र घरपरिवारसँग भेटघाटका लागि आउने चलन छ ।
जीवन उकाली–ओराली हो । जीवन दुःख र सुखको सङ्गम हो । आखिर जीवन भनेको दुःखै–दुःख मात्र पनि होइन । मुटुभरि सयौं विषादका चोटहरू बोकेर पनि, विभेदीकरण, अन्याय, अत्याचार र शोषणका कहालीलाग्दो कहर सहेर पनि, आँखामा सदैव आँशु साँचेर बाँच्न बाध्य भएर पनि हिमालवासी, पहाडवासी र तराईवासीका लागि ओठमा केही दिनकै किन नहोस् । दशैंको खुशीको मुस्कान छचल्किने गरेको छ । शरीरमा हर्ष र उमँगका उत्ताल तरंगहरू लहरिन्छन् दशैंमा । दशैंमा गाइने मालश्रीको धुन एकताको प्रतीक हो र यो प्रकृतिको शारदीय प्रकटीकरणको सुमधुर प्रस्तुति हो । समस्त नेपालीका लागि यो पर्व विजयको प्रतीक हो र यो बिम्ब हो जस्तोसुकै दुःख–कष्टका बेला पनि नेपालीहरू दुःखलाई बिर्सेर खुशीयालीको माहौलमा सरिक भएर मनका पीडाहरूलाई निकास दिन सक्छन् र भोलिको सुनौलो सपना आँखामा सजाएर आशा बोकेर बाँच्न सक्छन् भन्ने कुराको । हो, हामीभित्रका आसुरी शक्तिलाई चिनेर मिल्काउन सके यो पर्वको सार्थकता रहन्छ व्यक्तिगत रूपमा र मुलुकका लागि पनि ।
जनअपेक्षाको लामो सूची छ, जनताका आशाको थर्मोमिटर चढ्दो छ, तीनै तहका सरकारका गतिविधिहरू जनतामा आशा जगाउने खालका छैनन् । शान्ति र सहअस्तित्वले अहंकार, असहिष्णुता र अशिष्टता जस्ता असुरत्व नाश गर्छन् । तसर्थ, हामीभित्रका शत्रुलाई चिनेर मनभित्र गुजुल्टिएर बस्दै अलि–अलि गर्दै खाइरहने रिसराग, द्वेष, अहंकार र वैरभावलाई हटाउन दशैंको सकारात्मक भूमिका हुन्छ । मुलुक भनेको संस्कृतिको समुच्च रूप हो । मुलुक रहे लोकतन्त्र रहन्छ, लोकतन्त्र रहे राजनीति रहन्छ, हाम्रो भविष्य रहन्छ र हाम्रा असीमित चाहना पूरा गर्ने सम्भावना रहिरहन्छ । २०८० सालको बडा दशैंले हाम्रो प्यारो देश नेपाल एकताबद्ध र समृद्ध बन्ने बाटोमा अघि बढोस् भन्ने भाव सञ्चारित गर्न सकेन, तर दशैं शान्त रह्यो भित्री भागमा ज्वारभाटा उठेको शान्त समुद्र जस्तो ।
यो चाड सत्य युगमा देवीले महिषासुर दानवलाई मारेको र त्रेतायुगमा श्रीरामले रावण माथि विजय प्राप्त गरेको खुशीयालीमा मनाउन थालिएको विश्वास गरिन्छ । जे होस्, यस वर्षको बडा दशैं सकिएको छ । नेपालीको सबैभन्दा ठूलो यो चाडका अनेक आयामहरू छन् । जसमध्ये अर्थतन्त्रमा पार्ने प्रभाव पनि एक हो । दशैं, तिहार र छठ पर्व लगायतका चाडपर्वहरू नेपाली अर्थतन्त्रका मुख्य चलायमान समय हुन् । यो बेलामा नेपालीले अत्यधिक वस्तु तथा सेवाको उपभोग गर्छन् । हरेक परिवारलाई दशैंले आर्थिक दबाब थोपर्छ । दशैंले परिवारलाई मात्र होइन, सिंगै देशकै अर्थतन्त्रलाई हल्लाउँछ । दशैंमा प्रयोग हुने अधिकांश वस्तुहरू विदेशबाट आउँछन् । अत्यधिक सामानको आयातले नेपालको यसै पनि असन्तुलित नेपालको वैदेशिक व्यापारलाई थप असन्तुलित बनाइदिन्छ ।
आयात र निर्यातको अन्तराल झन् बढाइदिन्छ । दशैं नेपालको आर्थिक परनिर्भरता, आडम्बरयुक्त उपभोग, मुलुकको सेवा र वस्तु उत्पादन एवम् वितरण प्रणाली माथि नागरिकहरूको द्रूतगतिमा घट्दो विश्वासको परिचायक बनेको छ । गरिब र धनीवर्ग बीचको थप टडकारो हुँदै गएको विभेद मापन गर्ने एउटा स्पष्ट मानकको रूपमा दशंैंलाई लिन सकिन्छ । यो चाड सुख, समृद्धि र सत्यको प्रतीक हो भनेर विश्वास गरिन्छ, तर नेपाल आर्थिक रूपमा द्रूतगतिमा उल्टो बाटोमा हिँड्दैछ र यसको ज्वलन्त उदाहरण दशैं बनेको छ र आमरूपमा चाडवाड यसका दृष्टान्त बनेका छन् । वर्षभरि रकम जोहो गरेर, त्यसबाट नपुग्नेले ऋण गरेर भए पनि खुशीयालीपूर्वक दशैं मनाइन्छ । तर, जब दशैं सकिन्छ, त्यसको हिसाब–किताब सल्टाउन धेरै समय लाग्छ । त्यसैले त उखानै बनेको छ– ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई ।’


























