कमल ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्था को २५ औं वार्षिक साधारणसभा सम्पन्न गर्न ईकाइगत साधारणसभा शुरु भएको छ ।
कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको सहकारी संस्थाको झापा र मोरङ्ग गरी ११ वटा सेवा केन्द्र सञ्चालनमा छन् । सोमवारबाट ईकाइगत साधारणसभा शुरु भएको हो । ईकाइगत साधारणसभा अन्तर्गत पहिलो दिन धुलावारी र बुधबारे सेवा केन्द्रको साधारणसभा सम्पन्न भएको छ ।
धुलावारीमा सम्पन्न साधारणसभा सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक भीम कुमार विष्टको अध्यक्षतामा र मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्कीको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो ।
त्यसैगरी बुधवारेमा सम्पन्न साधारणसभा सेवा केन्द्र इन्चार्ज सुर्य प्रसाद दंगालको अध्यक्षतामा र बुद्धशान्ति गाउँपालिकाका सहकारी विभाग प्रमुख निर्मला आचार्यको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो । २०५५ साल असार १६ गते स्थापना भएको सहकारीमा असार मसान्त सम्ममा १७ हजार ५४० जना सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी १२ करोड ९२ लाख २६ हजार ५०० रुपैयाँ रहेको छ ।
त्यस्तै संस्थाको कुल निक्षेप तर्फ ४३ करोड ५६ लाख ७० हजार ५४० रुपैयाँ रहेको छ भने कर्जा लगानी तर्फ ८२ करोड ९६ लाख २७ हजार ७९० रुपैयाँ रहेको अध्यक्ष शरणकुमार पराजुली द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै विभिन्न कोषमा १२ करोड ३६ लाख २२ हजार ३०१ रुपैयाँ रहेको छ भने संस्थाको वाह्यकर्जा १८ करोड ३४ लाख ६८ हजार ८३१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी संस्थाले कुल १६ करोड ७० लाख ३० हजार ६३३ रुपैयाँ आम्दानी गरेको मा १५ करोड ४७ लाख ९७ हजार २३५ रुपैयाँ खर्च भई एक करोड २२ लाख ३३ हजार ३९६ रुपैयाँ खुद नाफा गर्न सस्था सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।































