एनएमसीसँग २७ बर्ष

0
370

वि.सं.२०५० सालको मंसीर–पुसतिरको कुराको हो– ठ्याक्कै मिति भन्न सकिनँ । काँकरभिट्टाका एकजना व्यक्ति मेरो बिर्तामोडमा रहेको छापाखानामा आउनुभयो । उहाँलाई हामीले हाम्रो मान्छे भनेर चिन्थ्यौं । अर्थात् हाम्रो पार्टीको मान्छे । अझ उहाँलाई हामी बबिताको दाइ भनेर बढी चिन्दथ्यौं । मेरो छोरी सीता र बबिता अनेरास्ववियु जिल्ला कमिटीका सदस्य थिए । त्यसैले मेरो घरमा पनि तीन–चार पटकसम्म बबिता आउनुभएको चाहिँ मलाई थाह छ । तिनै नानीले दाजुको नाम भनेर जिल्लास्तरीय भेला र आन्दोलनमा चिनाउनु भएको थियो ।

आफ्ना दाजुलाई उहाँ पनि आफ्नै कमरेडको छापाखाना छ अरे भन्ने सुनेर आउनुभएको रहेछ सोधीखोजी गर्दै बिर्तामोड । भाग्यबस त्यो दिन चाहिँ म पनि छापाखानामै बसेको थिएँ । मेरो छापाखाना (प्रेस)को नाम रत्नज्योति बस्नेत प्रिन्टिङ्ग प्रेस र छोटकरीमा ‘रज्यो बस्नेत प्रेस’ भनिएको थियो । उहाँ प्रेसमा प्रवेश गरेपछि अभिवादन गर्नुभयो र हात मिलाउँदै भन्नुभयो– ‘म रामचन्द्र उप्रेती काँकरभिट्टा ।’ मैले पनि अभिवादन गरेपछि हात मिलाएकै अवस्थामा म डम्बर बस्नेत हुँ भने । मैले कमरेडलाई परैबाट चिनेको हो बबिता नानीबाट चिन्ने मौका पाएको थिए भने । यो साक्षात्कार भेटघाटले आत्मागौरवको अनुभूति भइरहेको थियो ।

त्यसपछि प्रेसमा आफू आउनुको कारण बताउनुभयो । छोटकरीमा योजनाका बारेमा बताउनुभयो । भारतीयहरु आएर बचत संकलनको नाममा धैरैको पैसा खाएर गायव हुने गर्दारहेछन् । हाम्रा नेपाली रिक्सावाल, ठेला मजदुर, जुत्ता सिउने लगायतका साना पसलेहरु आजित भइरहेको देखेर यो काम हामी नेपालीबाटै गरुँ न त भनेर मासिक बचत कार्यक्रम शुरु गर्न लागेको कुरा रामचन्द्र सरबाट थाह पाइयो । अब यही कामको लागि अहिलेलाई नगदी रसिद बनाउनुप¥यो कस्तोखालको बनाउँदा ठीक हुन्छ ? नमूना पनि हेरौं भन्नुभएपछि दुई–चार वटा नमूना हेरियो र एउटा छुट्टै खेस्रा तयार गरी दुई सय प्रतिको अर्डर दिएर जानु भयो । भोलिपल्ट नै तयारी समान लानु भयो । त्यसको चार÷पाँच दिनपछि परैबाट हाँस्दै आउनुभयो ।

डम्बर सर अस्तिको दुई सय त सकियो नि, अब अरु छुट्टै अफिस खोलेर मान्छे राखेर काम गर्नुपर्ने भयो । अब व्यवस्थित गरेर काम नगरे सम्हाल्न गाह्रो हुने भयो भन्नु भो । त्यसपछि सायद नगदी रसीद र पासबुक पनि छपाउन अर्डर गर्नुभयो । लगबुक, दैनिक बुक आय–व्यय पुस्तिका छुट्टै रेडिमेट खरिद गरेँ भन्नुभएको जस्तो लाग्छ । त्यति गरेर जानुभयो र दर्ता गराउने अवस्थामा पुगेपछि त्यही साल २०५०/११/०४ मा दर्ता भयो । लगभग दुई वर्षपछि बिर्तामोड शाखा खोल्ने मनसाय भएछ । बिर्तामोडका म लगायत दुई÷चार जना साथीहरुसँग सरसल्लाह गरी काम शुरु गर्ने निर्णय भयो । बिर्तामोड आएको केही महिनापछि म पनि शाखा समितिको सदस्य र केही महिना पछिदेखि संयोजक भएर कार्य गर्न थालेँ ।

सहकारी नौलो कुरा थियो । त्यतिखेर के होला कसो होला भन्ने जस्ता अनुत्तरित प्रश्नहरु उठिरहन्थे र सेलाउँथे पनि । आफूलाई पनि सिक्ने जिज्ञासा बढेर गयो । मनोज उप्रेती बिर्तामोडको कार्यालय प्रमुख हुनुहुन्थ्यो । म संयोजक थिएँ । २०५७ सालमा म बिर्तामोडको संयोजक समेत रहनेगरी सञ्चालक समितिमा मनोनित भएर काम गर्ने अवसर मिल्यो । केहीपछि शिक्षा तथा तालिम समितीको संयोजक बनेर काम गर्ने मौका पाएँ । हेर्दाहेर्दै काम गर्दागर्दै अहिले तीन दर्जन जति शाखा अथवा सेवा केन्द्र खोलिइसके । एनएमसी डेरी कोशी प्रदेश कै ठूलो र राष्ट्रकै उत्कृष्ट बन्दै आइरहेको छ । देशकै ३५ हजार सहकारीमा पहिलो नम्बरमा आफूलाई दर्ज गराइसकेको छ । अरु थुप्रै शीर्षकमा हात हालिसकेको छ । ती सबैमा म जान्न । मुख्य एक दुई वटाको भन्नुपर्दा कृषि नमूना परियोजना, दुहागढी, ज्येष्ठ नागरिक आवास गृह, इँटाभट्टा मेचीनगर नगरपालिका, सहकारी पसल, शनिश्चरेलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

माथिको लेख दुई तीन वर्ष अगाडि लेखिएको हो, तर प्रकाशित नभएको हुँदा अहिले २०८० सालको कात्तिक महिना भइसकेको छ । त्यसैले माथिको लेखलाई जस्ताको त्यस्तै रहने गरी २०८० को शुरु महिनासम्मको तथ्यांकको आधारमा थप्न मन लाग्यो । अहिले मैले काम गरेको २८ बसन्त भएछ । यतिखेरसम्म आइपुग्दा संस्थाको पाँच वटा व्यवसाय छन् । सबभन्दा पहिले संस्था तथा बचत ऋण अर्थात् वित्तीय कारोबार गर्ने संस्था । १३ अर्ब माथिको पँुजीमा रहेको यो व्यवसाय शुरुदेखि अहिलेसम्म नाफामा चलेको छ । हालसम्म ५८ वटा सेवा केन्द्र झापा, मोरङ, इलाम समेत तीन जिल्लामा सञ्चालन भइरहेको छन् । दोस्रो व्यवसाय एनएमसी डेरी हो । यसले पनि दुई वर्षदेखि नाफा दिइरहेको छ ।

तेस्रो व्यवसाय नमूना कृषि फर्म हो । दुहागढीमा १६ विगाह जमिनमा रहेको छ । चौथो व्यवसाय एनएमसी पसल हो । हाल १५ वटा बजारमा स्थापित गरिएको छ । यसको भविष्य दोसाधमा रहेको छ । पाँचौं व्यवसाय हो चिया उद्योग अहिले झापामा एउटा र इलामको साँघुबेसी र नयाँबजारमा तीन वटा रहेका छन् । भविष्य राम्रै छ । यही २०८० को आ.व. देखि म आफूले पनि सञ्चालक समिति सदस्यबाट छुटकारा लिएको छु । हेरौं अब यसपछिका दिनमा एनएमसी र मेरो सम्बन्ध कसरी अगाडि बढ्छ ?

भविष्यले बताउने छ । यसैले मेरा सम्पूर्ण एनएमसीका शेयर सदस्य साथीहरु शुभेच्छुक, मैले सहकारी तालिम दिइएका हजारौं महानुभावहरुमा म सहकारीमा कार्यविहीन भएर रहे पनि हाम्रो सम्बन्ध, माया, आत्मीयता, आलो रहोस् भन्न चाहन्छु । ‘बाँसको लिङ्गेपिङ बसुँ बसुँ लाग्दा लाग्दै आयो छोड्ने दिन ।’ ख्याल गरौं सहकारीमा नाफा र नोक्सान मात्र होइन, मानव सेवाको पनि कुरा र काम हुन्छ र सदैव हुनुपर्छ ।

(बस्नेत नेपाल बहुउदेश्यीय सहकारी संस्थाका निवर्तमान सञ्चालक सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here