लालपूर्जा : सबैको एउटै कथा, एउटै व्यथा

0
96

 

एक दिन मलिन स्वरमा नाताले हजुरबुबा पर्नुहुने मोहन काफ्ले बाले भन्नुभयो– ‘यो कस्तो देशमा जन्मेछौं केटा ?’ मैले ‘किन बा ?’ भनेर सोधेँ । मोहन बाले भन्नुभयो– ‘हामी बसेको बस्तीमा राज्यले धनीपूर्जा दिन्छ भनेर आशा देखाएको यतिका वर्ष भयो, धनीपूर्जा नआउँदै यो चोला उड्छ होला ।’

यो संवाद २०७२ सालको हो । स्थान (त्यसबेला) शंकर पान पसल पछाडिको चिया पसल । साँझ ५ बजेको हुनुपर्छ । त्यसबेला झापाको चन्द्रगढीमा सुकुम्बासी आयोग थियो । हालैको अर्जुनधारा वडा नम्बर ४ र ७ को तीग्रे कित्ता, जरुवाबस्ती, रमाइलो बस्ती, मिलडाँडा र सत्ताइस बिघेका करिब दुई सय ११ भन्दा बढी घरले धनी पूर्जाको लागि रु. ५० तिरेर निवेदन पेश गरेका थिए । चन्द्रगढीको लेखनाथ चोकमा आयोगको अफिस थियो । पैसा हुने गाडी, मोटरसाइकलमा जान्थ्ये । नहुने साइकलमा निवेदन चढाउन पुगेका थिए । गफ गर्दै जाँदा मोहन बाले दुई खिली चुरोट र एक कप चिया सक्नु भयो । मैले पनि कोकिस र एक कप चिया सकेँ । त्यस बेलामात्र होइन, त्यसअघि पनि आयोगमा यसरी नै निवेदन चढाउन पुगेका रहेछन् । साँझ पर्दै थियो, मोहन बा र म छुट्टिएर आ–आफ्नो घर लाग्यौं । भोलि पल्ट पनि त्यही चिया पसलमा धनीपूर्जाकै कुरा उठ्दै थियो । म वास्तै नगरी आफ्नो काम तर्फ लागेँ ।

एकदिन अर्जुनधारा नगरपालिकामा सुकुम्बासीलाई धनीपूर्जाका विषयमा बृहत छलफल हुन पुग्यो । विभिन्न संघ–संस्था, राजनीतिक दलका प्रतिनिधिहरुको बाक्लो सहभागिता थियो । त्यस दिन त्यही मोहन काफ्लेका छोरा चतुर्भुज काफ्लेले छलफलमा कुरा उठाए– ‘मेरो हजुरबुबा मानबहादुर काफ्ले धनीपूर्जा, धनीपूर्जा भन्दै बित्नु भयो । मेरो बुबा मोहन काफ्ले पनि अब मेरो पालामा पनि धनीपूर्जाको कुरा गर्दै बित्ने दिन आयो । अनि मेरा छोराहरुले पनि यसरी नै निवेदन बोकेर धनीपूर्जा माग्दै हिँड्लान ? तपाई हामी भनौं धनीपूर्जा कहिले आउँछ त ?’ सहभागी कसैसँग उत्तर थिएन । त्यस बेलाका नगर प्रमुख हरिकुमार राना स्तब्ध भए । सहभागी वडाध्यक्ष एकअर्कामा मुख हेराहेर, अनि राजनीतिक दलका प्रतिनिधिहरु कान ठाडो पारेर सुन्न बाहेक नाजवाफ थिए । संघ–संस्थाको त कुरै छाडौं ।

यतिका दलका प्रतिनिधि र स्थानीय सरकार हुँदा त धनीपूर्जाका विषयमा नाजवाफ थियो भने यसअघि सिंहदरबार राजधानी र निवेदन बुझ्ने चन्द्रगढी सदरमुकाम हुँदा सर्वसाधारणलाई सुकुम्बासीका नाममा कति दुःखदिए होलान् ? त्यत्तिकैमा मेरा बुबाले २०३० सालमा सुकुम्बासीको प्रमाणपत्र पाउँ भन्ने निवेदन दिएको पत्रको याद आयो । उदयपुरबाट गरिखान मुग्लान हिँडेका मेरा बुबा धनबहादुर राई (राई जेठा) २०२४/२०२५ सालमा झापा आई पाराखोपी नामले चिनिने अर्जुनधारास्थित पदमबहादुर काफ्लेका सहयोगी भएर हिँड्नु भएको रहेछ । बसाई भने बमबहादुर काफ्ले कहाँ । ‘साँझ–बिहान हलो जोति दिने, जे अह्रायो त्यही मान्ने’ हाक्की स्वाभावका मेरा बुबा पद्मबहादुरका संरक्षक सहयोगी हुनुहुँदोरहेछ । यतिका वर्ष मेरा लागि सहयोगी भएर हिँडिस जेठा यति भू–भाग जोति खानु भनेर काफ्ले बाले हाल बसोबास भएको काँशघारी जंगल करिब ३० कठ्ठा जति छुट्याइ दिएपछि त्यो जग्गाको धनीपूर्जाका लागि निवेदन बोकेर चन्द्रगढी १५÷२० पटक हिँडेर गएको कहानी मलाई सुनाउनु भएको ताजै छ ।

पाराखोपीकै अधिकारी थर र प्रहरीमा कार्यरत पौडेल थरका मानिसले एउटा निवेदन लेखिदिए वापत एक दिन हलो जोतिदिनु भएको पनि कथा सुनाउनु हुन्थ्यो । जेठा तिम्रो धनीपूर्जा आउँछ भनेर धान काटी दिने, रातभरी धान झाँटी दिने र घर छाइ दिनुहुन्थ्यो । तर, धनीपूर्जा पाउने सपना भने बुबालाई प्यारो लाग्दथ्यो । बहुदल र निर्दलको पालामा बहुदलको पक्षमा हिँड्दा धनीपूर्जा आउँछ भनेर नेताहरुसँग रातारात हिँड्दा प्रहरीले समातेको कथा पनि सुनाउनुहुन्थ्यो ।

मेरी आमा पनि बुब ाजस्तै अनपढ । ठूलामान्छेले पहाडे कागजमा निवेदन लेखि दिए भने त्यही धनीपूर्जा रहेछ भनेर बाकसमा राख्नु हुँदोरहेछ । ठूलाबढाले धनीपूर्जा दिलाई दिने बहानामा दिउँसो भरी धान काट्न सहयोग गरेको पनि स्मरण गर्नुहुन्छ । मेरो परिवारमा मात्र होइन ऐलानी जग्गा कमाई खाने जो कोही गरीब परिवारमा सामन्ती चरित्र भएका दुई÷चार अक्षर लेख्न जान्नेले यसरी नै दलाउँदा रहेछन् । श्रम शोषण गरी दुःख दिँदा रहेछन् भन्ने सम्झन्छु । मोहन काफ्लेले भने जस्तै २०२८ सालको धर्मप्रसाद ढकाल काण्ड पनि जग्गाबाटै भएको हो । बुझ्ने टाठाबाठाले जग्गा हडप्थे । जग्गा धेरै भए सर्वसाधारणलाई काम गरे वापत गरीखानु भनेर दिने गर्दथे । त्यसरी गरिखान दिएका मान्छेहरु यो पाराखोपी क्षेत्रमा प्रशस्त छन् ।

अर्जुनधाराको तीग्रे कित्ता, जरुवाबस्ती, रमाइलो बस्ती, मिलडाँडा र सत्ताइस बिघे क्षेत्रमा बसोबास गरेका थुप्रै मान्छेहरु पनि धनीपूर्जाको प्रतिक्षामा रहेका छन् । जुन सरकार आए पनि निवेदन नचढाएको दिन छैन । पञ्चायती शासनमा त दुःख दिएर, हेपेर, आशा देखाएर सर्वसाधारणलाई लपेटे भने बहुदलीय व्यवस्थामा पनि त्यही चरित्र दलहरुले प्रस्तुत गरे । अब जनताले लालपूर्जाको विषयमा को सँग आशा र भरोसा गर्ने ? रमाइलो बस्तीका भीमप्रसाद, भट्टराई साइँला, थापा माइला, थापा कान्छा, मन्दरी राई जेठा, जेठा कामी, निरबहादुर, फूलमति साइली, कटुवाल माइला आदिले धनीपूर्जा–धनीपूर्जा भन्दै नश्वचोला उठिसक्यो । तिनका सन्तानहरु पनि कापोवा (बुढाबुढी) भए । प्रत्येक स्थानीय तथा आमनिर्वाचनमा धनीपूर्जा दिन्छौं भन्छन् र भोट लपेट्न आउँछन् । नयाँ साधु पनि धनीपूर्जाको कुरा उठाउँछ, पुरानो साधुहरु पनि आफ्ना सहयोगी मार्फत धनीपूर्जाको कुरा सुनाउँछन् र भोट माग्न आउँछन् ।

हाल रमाइलो बस्तीका युवराज पौडेल, प्रेमचन्द्र पौडेल, तुलसी श्रेष्ठ, देवेन्द्र मैनाली, अमृत लामिछाने, लालबहादुर मगरले यसै क्षेत्रका सांसद तथा सभामुख देवराज घिमिरेलाई सुकुम्बासी समस्याका विषयमा ज्ञापनपत्र चढाउँदै त्यही लालपूर्जाको कुरा उठाए । सभामुख घिमिरेले अर्जुनधाराको जरुवाबस्तीमा चुनावी भाषण गर्दा सुकुम्बासी समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्दा धेरै जनताले भोट दिई विजय गराएर पठाए तर अर्जुनधारा–७ का तुलसी श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले सभामुख घिमिरेलाई पढेर ज्ञापनपत्र बुझाउँदा यसलाई समाधानको बाटोमा लाग्नेछु भनेर थोरै शब्द ओकल्दा खल्लो महशुस भएको प्रतिक्रिया सहभागीले दिए । अब भनौं लालपूर्जा : सबैको एउटै कथा, एउटै व्यथा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here