अन्तर्राष्ट्रिय झापाली समाजले एकका लागि एक अभियानसंग सहकार्य गर्ने

0
91

झापा ।

अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले झापामा सञ्चालित ‘एकका लागि एक अभियान’ सँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

‘एकका लागि एक अभियान’ झापाले मंगलबार अन्तर्राष्ट्रिय झापाली समाजको नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गानाले झापाको सामाजिक विकासका लागि एकका लागि एक अभियान र अन्तर्राष्ट्रिय झापाली समाजबीच सहकार्य रहने प्रतिबद्धता जनाएका हुन् । उनले अन्तर्राष्ट्रिय झापाली समाजले झापा र झापालीको समुन्नत हितमा अतिआवश्यक क्षेत्रमा लगानी गर्ने योजना अनुसारको काम गर्ने सोच बनाएको बताए ।

सहारा नेपाल (साकोस) चारपानेको सभाहलमा मंगलबार आयोजित कार्यक्रमका बीच नवनिर्वाचित समाजका अध्यक्ष ढुङ्गानासहितका पदाधिकारीलाई खादा तथा मायाको चिनो प्रदान गर्दै स्वागत सम्मान गरिएको होे ।

कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्र कुमार गिरीले अन्तर्राष्ट्रिय क्षेत्रबाट झापामा लगानी भित्र्याउन आग्रह गरेका छन् । उनले व्यवसायिक क्षेत्रका समस्यामा परेका व्यापारीलाई सस्तो ब्याजदरमा पुनः कर्जाको ब्यवस्था गर्ने योजना बनाउन अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी समक्ष सुझाव दिए ।

संयोजक गिरीले पाँच करोडको विपद् कोष निर्माणका लागि आफूहरु लागिपरेको बताउँदै कोराना महामारीका बेला अभियान अन्तरगत संकलित करिब चार करोड रुपैयाँमध्ये ३ करोड २० लाख खर्च भएको र ८० लाख रुपैयाँ बचत रहेको जानकारी दिए । आर्थिक तथा सामाजिक रुपान्तरणमा अन्तर्राष्ट्रिय झापाली समाजले थप योगदान गर्नु सुझाव दिँदै उनले यहाँका उत्पादनलाई बजारीकरणमा समेत समाजले सहयोग गर्नुपर्नेमा जोड दिए ।

एकका लागि एक अभियानका संयोजक गिरीको अध्यक्षता सम्पन्न कार्यक्रममा संरक्षक दिनेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई, चेम्बर अफ कमर्स कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल लगायतले मन्तव्य राखेका थिए । अभियानका सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here