लालीगुँरास महिला कृषि सहकारीको १७ औं सभा सम्पन्न

0
13

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित लालीगुँरास महिला कृषि सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

स्थानीय दुग्धेश्वर शिवालय मन्दिरको सभाहलमा संस्था सञ्चालक समितिकी अध्यक्ष चन्द्रकुमारी लिम्बूको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

सभामा अध्यक्ष लिम्बूले संस्थाको गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिकी संयोजक मीना श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयरपूँजी ९८ लाख २८ हजार सात सय रुपैयाँ, जगेडा कोषमा ३९ लाख १८ हजार सात सय ५५ रुपैयाँ, कर्जा जोखिम कोषमा दुई लाख १९ हजार नौ सय ८९ रुपैयाँ, अन्य कोषहरुमा २१ लाख ८५ हजार पाँच सय १२ रुपैयाँ, निक्षेप बचत दुई करोड ६९ लाख ३९ हजार आठ सय ५८ रुपैयाँ र कर्जा लगानी तीन करोड ९२ लाख १९ हजार चार सय ९४ रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी ९० लाख ६३ हजार दुई सय २० रुपैयाँ नौ पैसा, जम्मा खर्च ७१ लाख ९२ हजार सात सय २६ रुपैयाँ र नाफा १८ लाख ७० हजार चार सय ९३ रुपैयाँ रहेको छ ।

सोही कार्यक्रममा ज्येष्ठ शेयर सदस्यद्वय चन्द्रमाया वि.क. र भगीरथा पौडेल, दैनिक बचततर्फ प्रतिमा शंकर र हिमकला ढकाल, मासिक बचततर्फ कमलादेवी ढुङ्गेल र चन्द्रकला भट्टराई, बाल बचततर्फ पूर्णिमा दनुवार तथा कर्जातर्फ तारा गिरी र मीरा चौलागाईंलाई सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै संस्थाले स्थापना गरेको वृद्ध भत्ता कोष अन्तरगत नियमित बचत गरि १० वर्ष पूरा गरेका ७० वर्ष माथिका शेयर सदस्यहरु गोमादेवी कार्की, चन्द्रकला बस्नेत, टहलकुमारी सापकोटा, देवीकला दाहाल, देवीमाया खनाल, मित्रमाया राना मगर, सरस्वती बराल, सुन्दरा ओली र हेमकला पौडेललाई वृद्ध भत्ता उपलब्ध गराइएको थियो । उनीहरुलाई मासिक पाँच सय रुपैयाँका दरले भत्ता वितरण गरिएको हो ।

सभामा अर्जुनधारा नगरपालिका सामाजिक विकास शाखा प्रमुख राजविक्रम खड्का, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष डिल्ली घोर्साईं, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिकी उपाध्यक्ष हिमादेवी विष्टले स्वागत गरेको उक्त सभाको सञ्चालन व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here