पूर्वको ठूलो भन्सार विन्दुले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन्

0
12

भद्रपुर भन्सारमा राजस्व संकलन तेब्बर

लक्ष्मी उप्रेती,
मेचीनगर ।

भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो भन्सार विन्दु लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । समाचार स्रोतका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीनमहिनामा वैदेशिक व्यापार हुने कोशी प्रदेशकै ठूलो मानिएको मेची भन्सार कार्यालय काँकरभिट्टा लक्ष्य भेट्टयाउन असफल भएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टा पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । यो नाका भएर भारत, भुटान बंगालदेशसँग व्यपार हुने गरेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकरभिट्टाबाट हुने सरकारी अधिकारहरुको भनाई छ । विराटनगर भन्सारबाट आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा १२ अर्ब ८० करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको थियो । तर ८ अर्ब २९ करोड रुपैयाँ मात्र संकलन भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार विन्दुबाट १५ अर्ब ६० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा १३ अर्ब १३ करोड रुपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीनमहिनामा मेची भन्सार विन्दुबाट लक्ष्यको ८२ दशमलव ६६ प्रतिशत मात्र राजस्व संकलन भएकोे प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मेची भन्सार कार्यालयबाट गत साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा ४ अर्ब ११ करोड १ लाख ७१ हजार रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य थियो । तर ३ अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ मात्र संकलन भएको छ ।

कार्यालयले असोज महिनामा लक्ष्यको तुलनामा ७५ दशमलव ९२ प्रतिशतमात्र राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो । असोजको एकमहिनामा १ अर्ब १७ करोड ७७ लाख ३४ हजार रुपैयाँ राजस्व असुली गरेको छ । असोजको लक्ष्य १ अर्ब ५५ करोड १२ लाख ९६ हजार रुपैयाँ थियो । जुन रकम लक्ष्यको तुलनामा ३७ करोड ३५ लाख ६२ हजार रुपैयाँ कम हो ।

काँकरभिट्टानाका हुँदै अत्याधिकमात्रामा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामाग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

भद्रपुर भन्सार विन्दुबाट भने लक्ष्यभन्दा तेब्बर राजस्व संकलन भएको छ । यो भन्सार विन्दुबाट तीन महिनामा २ करोड ९२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ९ करोड २६ लाख रुपैयाँ संकलन भएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार सायन महिनामा ८० लाख रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको थियो । तर १ करोड ६६ लाख रुपैयाँ संकलन भएको छ । भदौंमा १ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरिएको भएपनि ३ करोड ६४ लाख रुपैयाँ असुली गर्न कार्यालय सफल भएको भन्सार अधिकृत तिवारीले जानकारी दिनुभयो । यसैगरी, असोज महिनामा १ करोड १० लाख रुपैयाँको लक्ष्यमा ३ करोड ९४ लाख रुपैयाँ असुली भएको छ ।

शुरुका दुई आर्थिक वर्षमा कार्यालयले लक्ष्यको तुलनामा प्रगति गर्न सकेको थिएन् । गत आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले कार्यालयलाई वार्षिक लक्ष्य ३४ करोड रुपैयाँ दिइएको भएपनि ९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न नसकेको तिवारीको भनाई छ । यसअघि आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक लक्ष्य ३६ करोड रुपैयाँ पाएकोमा ११ करोड रुपैयाँभन्दा बढी संकलन नभएपछि विभागले कार्यालयको वार्षिक लक्ष्यमा हेरफेर गरेको थियो । पछिल्लो समय तीज, दशैँ तिहार, छठलगायतका चाडपर्वका कारण आयात निर्यात बढी भएकाले तीनमहिनामा राजस्व असुली तेब्बरमा पुगेको उहाँको अनुमान छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टा मातहतमा रहेका छोटी भन्सारहरुमध्ये प्रमुख स्थानमा रहेको भद्रपुर छोटी भन्सारको स्तोन्नति गरी २०७५ भदौ १९ गते तात्कालिन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुख्यः भन्सारकारुपमा भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

पूर्वकै सबैभन्दा बढी राजस्व संकलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाको वार्षिक लक्ष्य पुरा गर्न यसले निक्कै टेवा पुर्याएको थियो । यो मुल भन्सारमा स्थापना भएपछि मेची भन्सार कार्यालय काँकरभिट्टालाई वार्षिक लक्ष्य पुर्याउन गाहे छ । भारतको बिहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्जनाका भएर भद्रपुर हुर्दै प्रमुख रुपमा सुर्ती खैनी अत्याधिकरुपमा आयात हुने गरेको छ । यसपछि कपडा, जुत्ता चप्पल आयात वापतको राजस्व असुलीले पनि कार्यालयमा उल्लेखिय रुपमा राजस्व संकलन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here