कमल गाउँपालिका ६ का वडाध्यक्ष पक्राउ

0
10

झापा । कमल गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष पक्राउ परेका छन् । झापाको कमल गाउँपालिका –६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका हुन् ।

प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफै आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको १८ दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यतिका दिनसम्म उनी राजनीतिक संरक्षणमा रहेको बताइएको छ ।

एउटै कसुरमा कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भोलिपल्ट पक्राउ गरेको थियो । वडाध्यक्ष भट्टराई भने यति बेलासम्म कानुनी कारबाहीभन्दा बाहिर थिए । त्यसो त प्रहरीले उनीमाथि किटानी जाहेरी लिन अस्वीकार गरेको थियो । मृतकका मामा खेमबहादुर बुढाथोकी इलाका प्रहरी कार्यालय दमक जाँदा वडाध्यक्षको नाम हटाउन लगाएर कार्कीकी श्रीमती चाहना र ससुरा पुण्यप्रसादको नाममा मात्र प्रहरीले किटानी जाहेरी लिएको थियो ।

आफ्नो भतिजाको मृत्युमा वडाध्यक्षको पनि हात हुँदाहुँदै प्रहरीले राजनीतिक दबाबमा पक्राउ गर्न नसकेको मृतक कार्कीका मामा बुढाथोकीले दाबी गरे । घटनामा वडाध्यक्ष भट्टराईको समेत प्रत्यक्ष संलग्नता देखिएकाले जाहेरीको पेट बोलीमा भने उनको नाम उल्लेख छ । जाहेरीमा वडाध्यक्ष भट्टराईको नाम उल्लेख भएकाले उनीमाथि पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका थिए ।

गत ६ कात्तिक गते अर्थात् महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए । सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए । आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दसैँको टिकाको दिन अर्थात् कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए । तर, त्यस जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारबाही अघि नबढाइदिँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिँडेका थिए । उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईले एकपक्षीय दबाब र हस्तक्षेप दिएको गुनासो गरेका थिए । त्यस क्रममा कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here