अस्ताउँदो सूर्यलाई अघ्र्य

0
8

झापा । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर झापासहित देशभरका भक्तजनले छठ पर्व मनाएका छन् ।
आइतवार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठ उत्सवका रुपमा यो पर्व मनाएका हुन् । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो । सोमवार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
छठ पर्बका अवसरमा झापाका विभिन्न जलाशयमा ब्रतालूले विधिपूर्वक सूर्यको उपासना गरेका छन् । सो अवसरमा विभिन्न कार्यक्रमको समेत आयोजना गरिएको थियो । झापाको भद्रपुरस्थित नेपाल भारत सीमा भएर बग्ने मेची नदीसहित कनकाई माई, विरीङ, रतुवा, अन्धुवा, निन्दा सहित विभिन्न खोला तथा नदी र जलाशयमा छठ पर्वका अवसरमा भिन्ना भिन्नै कार्यक्रमको आयोजना गर्दै यो पर्व मनाइएको छ ।
छठ पर्बका अवसरमा विरीङ खोलामा आयोजित कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए । उनले छठ पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यो पर्वले समाजमा शान्ति, स्थायित्व र बन्धुत्वको भावना जागृत हुने बताए ।
छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्वीवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक मनोज रौनियारले गरेका थिए ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष घनश्याम चौधरी, पूर्वमन्त्री सरिता प्रसाई, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा रमादेवी साहलाई सम्मान गरिएको थियो । उनी बिर्तामोड–४ निवासी समाजकी वयोवृद्धा महिला हुन् । छठ समाज सेवा समिति बिर्तामोड झापाले बिगतका वर्षझैं यो वर्ष पनि विरीङ खोलामा छठ पूजा गरेको हो । पूजाका लागि झण्डै एक हजार पण्डालको व्यवस्थापन गर्दै १०औं हजारको उपस्थितिमा यो पर्व उत्साह जनक रुपमा मनाइएको समाजकी वरिष्ठ उपाध्यक्ष संगीता रौनियारले बताइन् ।
समाजले विगत १० वर्षदेखि कनकाइ–८स्थित विरीङ खोलाको तटीय क्षेत्रमा छठ पूजा भव्यरुपले गर्दै आएको छ । यसअघि अन्धुवा खोलामा गरिँदै आएको छठ पूजा अन्धुवा खोला दुषित भएको भन्दै विरीङ खोलामा छठ पूजा गर्दै आएका छन् । कात्तिक शुक्ल चतुर्दशीबाट शुरु हुने छठ पूजा सोमवार समापन गरिँदैछ ।
ब्रतालुले ३६ घण्टा लामो निर्जल ब्रत बसेर यो पूजा आराधना गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन हुने बताइएको छ । पूजा सम्पन्न गर्न विभिन्न समितिहरु समेत बनाइएको थियो । कार्यक्रमको सञ्चालन महासचिव अशोक चौधरीले गरेका थिए ।
यता बिर्तामोड–३स्थित बिर्ताबजार पश्चिम अन्धुवाको किनार र बिर्तामोड–१स्थित धिमालवस्ती नजिकै अन्धुवा खोलामा पनि विभिन्न कार्यक्रम गरी यो पर्व मनाइएको छ ।
उता कनकाई माई, घाग्रा लगायतका जलाशयमा पनि विभिन्न कार्यक्रम गरी यो पर्व मनाइयो ।

छठ पूजाका लागि ९३६ सुरक्षाकर्मी परिचालन

सीमावर्ती मेची नदीसहित झापाका विभिन्न नदी तथा खोला किनारमा मनाइने छठ पूजाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको विभिन्न स्थानमा मनाइने छठ पूजाको लागि ५१० सशस्त्र, ३७१ नेपाल प्रहरी र ५५ जना ट्राफिक प्रहरी गरी ९३६ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । सबैभन्दा बढी सुरक्षाकर्मी भद्रपुरस्थित सीमावर्ती मेची नदीमा परिचालन गरिएको छ । मेची नदीलाई लक्षित गरी १०५ जना सशस्त्र, ७५ जना नेपाल प्रहरी र ९ जना ट्राफिक प्रहरी खटाइयो ।

त्यस्तै कनकाईको विरीङ नदीमा ५५ जना सशस्त्र, ३० जना नेपाल प्रहरी र १३ जना ट्राफिक प्रहरी खटाइएको छ । निन्दा नदीमा ४९ जना सशस्त्र, ३० जना नेपाल प्रहरी र १० जना ट्राफिक प्रहरी खटाइएको छ । त्यसैगरी दमकको रतुवा नदीमा ४० जना सशस्त्र, ५० जना नेपाल प्रहरी र १० जना ट्राफिक प्रहरी खटाइएको थियो । जिल्लाको ४९ स्थानमा छठ पूजा मनाए पनि मेची, निन्दा, विरीङ र रतुवा नदीको किनारमा भक्तजनहरुको बढी भीडभाड हुने भएकोले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । छठ पूजामा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिएको उनले बताए । साथै राजमार्गहरुमा पनि प्रहरीको मोवाइल गस्ती टोली छुट्टै परिचालन गरिने उनको भनाई छ । छठ पूजा स्थलहरुमा हुने सवारीसाधनको जामलाई मध्यनजर गरी भद्रपुरको मेची पुल, रतुवा पुल, निन्दा पुल, कनकाईको विरीङ पुल, अर्जुनधाराको विरीङ पुललाई लक्षित गरी ट्राफिक प्रहरी खटाइएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here