पोखरा विमानस्थलबाट उडानमा चिनियाँ चासोः अवलोकन गर्दै कूटनीतिक नियोगदेखि वायुसेवाका टोली

0
7

काठमाण्डौं ।

गत वर्षदेखि संचालनमा आए पनि अन्तर्राष्ट्रिय उडानको बिजनेस नपाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान थाल्न चीनले चासो देखाएको छ। प्रमोशनल चार्टर्ड उडानमार्फत चिनियाँ वायुसेवाका प्रतिनिधि, प्रशासक, कूटनीतिक नियोगका प्रतिनिधिले पोखरा आएर यसका विषयमा सम्भाव्यता हेरेका छन्।

चिनियाँ ऋण लगानीमा चीनकै निर्माण कम्पनीले ठेक्का पाएर निर्माण भएको विमानस्थलले एक वर्ष हुन लाग्दा पनि अपेक्षित बिजनेस पाएको छैन। न सरकारले यसबारे गम्भीर चिन्ता लिएको छ न त नागरिक उड्डयन प्रधिकरणले। पोखराका बासिन्दालाई भने चासो र चिन्ता भएको विमानस्थलबारे तारन्तार चिनियाँ पक्षलाई गुनासो पुगिरहँदा एउटा विशेष टोली आएर गत साता परिसर अवलोकन गरेको हो।

टोलीले अवलोकन भ्रमण गरे पनि नियमित उडान गर्ने÷नगर्ने टुंगो भइसकेको छैन। गत नोभेम्बर १० मा हिमालय एयरलाइन्सको काठमाडौं–पोखरा उडानमार्फत हिमालय एयरलाइन्स, चिनियाँ कूटनीतिक नियोग र विमानस्थल प्रतिनिधि लगायतले अवलोकन गरेका हुन्। विमानस्थल अवलोकन गरेर टोली भोलिपल्ट पोखराबाट काठमाडौं हुँदै फर्किएको थियो।

‘नोभेम्बर १०मा हिमालय एयरलाइन्सको प्रमोशनल चार्टर्ड फ्लाइट भएको थियो। त्यसमा चीनका विभिन्न निकायका प्रतिनिधि थिए‚’ प्राधिकरणका एक कर्मचारीले भने,’पोखरा उडानमा उहाँहरुको चासो छ भन्ने प्रष्ट भयो। तर‚ अवलोकन गरे पनि नियमित उडान थाल्ने टुंगो भइसकेको छैन।’

चिनियाँ टोलीले विमानस्थलको प्राविधिक र व्यावसायिक सम्भाव्यता अवलोकन गरेर फर्किएको उनले जानकारी दिए। एक सातापछि उडान संचालनका अध्ययनका लागि चीनको नागरिक उड्डयन प्रशासनका प्रतिनिधि पनि आउने तयारी रहेको जानकारी गराइएको उनले बताए।

गत जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको यो विमानस्थल संचालनमा आएको सुरुवाती चरणदेखि नै चीन सरकारले उडान संचालनमा चासो देखाउँदै आएको छ। केही अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन‚ जसमा चिनियाँ जहाज आएको रेकर्ड छ।

नेपालले चीनको एक्जिम बैंकमार्फत २२ अर्ब रुपैयाँ ऋण लिएको यो विमानस्थल चिनियाँ कम्पनी सिएएमसीले निर्माण गरेको हो। विमानस्थल निर्माणमा एक्जिम बैंकले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको छ। ११ महिना बितिसक्दा पनि यो विमानस्थलबाट अझैसम्म नियमित अन्तर्राष्ट्रिय उडान छैन।

विमानस्थल तयार भए लगत्तै चीनले पोखरामा ड्रागन बोट फेस्टिभल आयोजना गरेको थियो। यही अवसर पारेर गत असारमा चीनको सिचुआन एयरलाइन्सले छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पोखरा अवतरण गरेको थियो।

यसैगरी गत बुधबार जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत सामाग्री लिएर आएको चिनियाँ सेनाका दुई जहाज पोखरामा अवतरण भएको थियो। ती जहाजमार्फत ल्याइएको २४ र २५ टन राहत सामाग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो।

नेपाल–चीन दुईतर्फी उडान गर्दै आएका हिमालयसँगै अरु वायुसेवाले पनि आफ्नो तर्फबाट गृहकार्य गर्दै आएको प्राधिकरणले जनाएको छ। सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्समा ४९ प्रतिशत चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्टको साझेदारी छ भने ५१ प्रतिशत नेपालको यती वर्ल्ड इन्भेष्टमेन्टको रहेको छ।

हाल यो कम्पनीले चारवटा एयरबसको न्यारोबडी जहाजमार्फत चीन, साउदी अरेबीया, बंगलादेश, मलेसिया, दुबई, कतार लगायत गन्तव्यमा उडान गर्दै आएको छ। पोखरा विमानस्थलबाट नियमित व्यवसायिक उडानका लागि कम्पनीले सुरुदेखि नै गृहकार्य गर्दै आएको भए पनि सुरु भने गरिसकेको छैन। सिद्धार्थअनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here