करदाता सेवा कार्यालय विराटचोकलाई खोर्सानेका स्थानीयवासीले जग्गा उपलब्ध गराउने

0
7

विराटचोक,

करदाता सेवा कार्यालय विराटचोकलाई सुन्दरहरैंचाको खोर्सानेका स्थानीयवासीले जग्गा उपलब्ध गराउने भएका छन् । वि. सं. २०७५ सालदेखि कार्यालयले भाडाको घरबाट सेवा दिइरहेको थियो ।

बुधबार बिहान सुन्दरहरैंचा नगरपालिकाको हलमा सम्पन्न सर्वपक्षीय बैठकमा आन्तरिक राजस्व कार्यालय विराटनगर, मालपोत कार्यालय बेलबारी, नापी कार्यालय बेलबारी, जिल्ला प्रशासन कार्यालय मोरङ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि, जग्गादाता परिवार, उद्योगपतिसहितको बैठकमा करदाता सेवा कार्यालयका लागि आवश्यक ६ कठ्ठाभन्दा बढी जग्गा उपलब्ध गराउने स्थानीयवासीले स्वघोषणा गरेका थिए ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा सम्पन्न बैठकले दाताबाट प्राप्त हुने जग्गा करदाता सेवा कार्यालयको नाममा ल्याउने प्रक्रियाका लागि ऐनमा भएको व्यवस्थाअनुसार बनेको समितिले केही दिनभित्रै अन्तिम टुङ्गोमा पुर्याउने सहमति भएको छ ।

जग्गा दान गर्ने क्रममा लाग्ने लाभकर छुटलगायतको विषयमा माथिल्लो निकायमा लेखी पठाउने, यदि छुट हुन नसके नगरको हित र विकासका निम्ति सुन्दरहरैंचा नगरपालिकाबाटै लाभकरको व्यवस्थापन गर्ने नगरप्रमुख गुरागाईँले बताए ।

उद्योगी भोलेश्वर दुलालका अनुसार बजार बिस्तार र बेलबारी, लेटाङ, केराबारीसमेतलाई यहीँबाट सेवा दिनुपर्ने भएकाले खोर्साने क्षेत्र रोजाइमा परेको बताए । प्रक्रिया अघि बढेसँगै करदाता सेवा कार्यालय स्थायी रुपमा स्थापना हुने निश्चित भएको छ ।

कार्यालयका अनुसार स्थानीयले ५ कठ्ठा जग्गा उपलब्ध गराउने मौखिक निर्णय ०७९ माघमा गरेका थिए । कार्यालयका लागि थप जग्गा आवश्यक पर्ने भएकाले थप जग्गा व्यवस्थापन गर्दै आजको बैठक सम्पन्न भएको करदाता सेवा कार्यालय विराटचोकका कर अधिकृत सनद खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here