घाइतेलाई थप उपचारको व्यवस्था मिलाउन माग गर्दै उर्लाबारीमा चक्काजाम

0
9

पथरी शनिश्चरे,

मोरङको उर्लाबारी आगलागी घटनाका गम्भिर घाइतेलाई थप उपचारको व्यवस्था मिलाउन माग गर्दै उर्लाबारीमा चक्काजाम गरिएको छ ।

गत कार्तिक २६ गते लक्ष्मीपूजाको राति १०ः४५ बजेको समयमा उर्लाबारी वडा नं. ७ निवासी दिपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयबासीले गम्भीर घाइतेको थप उपचारमा सरकारको ध्यानाकर्षण गराउन सांकेतिक रुपमा १० मिनेट चक्काजाम गरिएको उर्लाबारी वडा नं. ७ का सरोज बस्नेतले जानकारी दिनुभयो ।

‘पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारीको मावा खोलामा १० मिनेट सवारी साधन अबरुद्ध गराएर सरकारको ध्यानाकर्षण गराईएको थियो। हाल घाइतेमध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको छ। उहाँहरुको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि सडकबाट दवाब दिईएको भन्दै उर्लाबारीका सामाजिक व्यक्तित्व बीरबल थापा, बलबहादुर घिसिङ, घनश्याम भण्डारी लगायतले बोल्दै गम्भिर घाइतेको थप उपचारमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका छन्।

इलाका प्रशासन कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकालगायतमा ज्ञापन पत्र समेत बुझाइएको उर्लाबारी–७ का टिका सिम्खडाले जानकारी दिनुभयो ।

आइसियुमा उपचाररत उर्लाबारी–७ का शिवकुमार विक (राजिव), विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, कविराज दाहाल र राम नरेश मरिताको थप उपचारका व्यवस्था मिलाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ ।

अन्य घाइतेहरुको समेत अवस्था हेरी थप उपचारका लागि भारतलगायत विभिन्न मुलुकमा लैजाने ब्यवस्था मिलाउन आग्रह गरिएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतको ब्यवस्था मिलाइदिन पनि सबै पक्षसँग आग्रह गरिएको सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here