बेतनाको तालाबन्दी कहिले खुल्छ ?

0
11

बेलबारी ।

फोटो: पूर्वेली खबर

मोरङको बेलबारी–४ को बेतना सिमसारमा एक साताअघि गत मंगलबार बिहान स्थानीय बासिन्दाले लगाएको ताला अझै खुलेको छैन ।

तालाबन्दी खोल्न सामुदायिक वन उपभोक्ता समूह, वन कार्यालय, राजनीतिक दल लगायत कसैले पनि अहिलेसम्म पहल गरेका छैनन् । सो समूहको यही मंसीर १६ गते साधारणसभा समेत तोकिएको छ । तर पनि आफूहरुको माग पूरा नभएसम्म कुनै पनि हालतमा साधारणसभा हुन नदिने आन्दोलनरत् संघर्ष समितिको तयारी छ ।

स्थानीय स्रोतसाधनमा स्थानीयको पहुँच नभएको र बेतना सिमसारमा चरम राजनीति भएको भन्दै सयौँ स्थानीयले तालाबन्दी गरेका थिए । बेतना सिमसार सामुदायिक वन समूहमा चरम राजनीति भएको र स्थानीय बासिन्दालाई उपेक्षा गरिएको भन्दै आक्रोशित उनीहरुले तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण बेतना सामुदायिक वन समूहलाई यसबीचमा लाखौँको घाटा समेत भएको छ । कार्यालय र टिकट काउण्टरमा ताला लगाइएको छ । बेलबारी–४मा रहेको बेतना सिमसारमा स्थानीय वडाबासीको स्वामित्वको माग समेत स्थानीयले गरेका छन् । बेतना सिमसारलाई बेलबारीका ११ वटै वडामा सदस्य बनाएर राजनीतिक दलहरुले राजनीतिक क्रिडास्थल बनाएको र स्थानीयहरुलाई उपेक्षा गरिएको उनीहरुको आरोप छ ।

बेतना सिमसारको नेतृत्व समेत राजनीतिक भागबण्डाका आधारमा हुने गरेको र बेतना सिमसार लथालिंग बन्दा समेत राजनीतिक दलहरुले यसलाई क्रिडास्थल बनाएको उनीहरुको आरोप छ । स्थानीय मनिकुमार लिम्बूको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर स्थानीयले तालाबन्दी सहित संघर्षका कार्यक्रमअघि सारेका छन् ।

आफुहरु माथि पटक–पटक धोका भएको भन्दै लिम्बूले अब राजनीतिक दलसँग कुनै बार्ता नहुने र आफूहरुको माग पूरा नभएसम्म तालाबन्दी जारी रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here