झापा ।

साउदी अरेबियामा हुन लागेको यस वर्षको रियाद सिजनमा नेपालको तर्फबाट पहिलोपटक विभिन्न समूहको सहभागिता हुने भएको छ ।
नेपालले डिसेम्बर १० देखि १२ सम्म सिजनमा आफ्नो प्रस्तुति राख्नेछ । अन्तर्राष्ट्रिय झापाली समाजका सचिव तथा उक्त कार्यक्रमका लागि नेपाली टोलीको संयोजन गरिरहेका रवीन गिरीका अनुसार उक्त सिजनमा नेपाली मौलिकता झल्कने गायन र नृत्य प्रदर्शन गरिने भएको छ ।
साउदी सरकारद्वारा परिचालित जीईए (क्रस कल्चर)को आयोजनामा भइरहेको सिजनमा नेपालबाट गायिका तिर्सना गुरुङसहित ‘द कोल्याप ब्यान्ड’ को सहभागिता रहनेछ । साथै साउदी अरेबियामा कार्यरत स्थानीय नेपाली कलाकारले जातीय र धर्म संस्कृतिको समेत प्रदर्शन गर्ने भएका छन् । नेपाली नृत्य समूह रियाद, सृजना संस्कृति समूह, त्यहाँस्थित राई, गुरुङ, तामाङ समुदायले जातीय पहिचानसहितको नृत्य प्रस्तुति गर्ने तथा अन्य विभिन्न संघ–संस्थाले सहभागिता जनाउने बताइएको छ ।

रियाद सिजनमा साउदी अरेबियामा २०१९देखि सुरु भएको हो । यस वर्षको संस्करणमा नेपाली कलाकारले रियादको अलसुवादी पार्कमा बेलुका ६ बजेदेखि ११ः३० बजे प्रस्तुति दिनेछन् । नेपाली दूतावासको सहयोगमा नेपालीको सहभागिता रहने प्रदर्शनमा प्रवेश निःशुल्क रहेको छ ।
रियाद सिजन विश्वको सबैभन्दा ठूलो शीतकालीन मनोरञ्जन एक्स्ट्रावागान्जाको रूपमा परिचित छ। सिजनमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, सुडानलगायत मुलुकको सहभागिता रहने छ ।
यो सिजन मौसम अनुकूल पारेर आफ्नो धर्म संस्कृति, कला, खेलकुद आदिलाई समावेश गरी सुरु हुन्छ । यस वर्षको संस्करण २८ अक्टोबरमा सुरु भएको हो ।































