मोरङबाट साउन यता १९८ जना फरार प्रतिवादी पक्राउ

0
16

विराटनगर,

मोरङमा चालु आर्थिक वर्षको साउनयता १ सय ९८ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म १ सय ९८ जना फरार प्रतिवादी पक्राउ पर्दा ५३ वर्ष २ महिना ५ दिन कैद र ३५ लाख ५३ हजार ३ सय ६४ रूपैयाँ जरिवाना असुल गरिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले अपराधमा संलग्नहरु दोषी ठहर भएपनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेको बताए । फरार प्रतिवादीलाई पक्राउ गर्नका लागि जिल्लाभर विशेष अभियान चलाइएको जानकारी दिए ।

पछिल्लो २ दिनयता मात्रै जिल्लाका विभिन्न स्थानबाट १५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरु पक्राउ परेका हुन् । विदानकुमार राई, अनिल चौधरी, साजन यादव, उमानन्द यादव, जीवन खवास, टंकबहादुर विक, मेखबहादुर तामाङ, मानबहादुर तामाङ, शान्तिदेवी सिंह, श्यावरण सिंह, घनश्याम सिंह, रामविलाश ऋषिदेव, धरमलाल ऋषिदेव, देवकुमार ऋषिदेव र चन्दन ऋषिदेवलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए । उनका अनुसार पक्राउ परेकाहरु चोरी, लुटपाट, वन पैदावार ओसारपसार, बहुविवाह, सार्वजनिक अपराध र चलन हटक मुद्दामा दोषी ठहर भएका प्रतिवादी. हुन् ।

अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला गरेको भएपनि भुक्तान नगरिकन भागिरहेकाहरुलाई इलाका प्रहरी कार्यालय रानी, बेलबारी तथा प्रहरी चौकी कटहरीको टोलीले मंगलबार र बुधबार पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरुलाई प्रहरीले अदालतमा बुझाउने गरेको छ ।

प्रहरीले बुझाएकामध्ये कैदको फैसला भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए । उनका अनुसार जरिवानाको फैसला भएकालाई त्यसवापतको रकम असुल गरेर छाडिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here