सहरेडाँगीमा आजबाट महापुराण

0
9

चारआली ।

झापाको मेचीनगर–१२ सहरेडाँगीस्थित श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरमा आयोजना गरिएको महापुराणमा आर्थिक सहयोग जुट्न थालेको छ ।

मंसीर १५ भोलिदेखि शुरु हुने महापुराणको अन्तिम तयारी पूरा हुँदै गर्दा धार्मिक तथा सामाजिक ब्यक्तित्वहरुले पुराण अगाबै १५ लाखभन्दा बढी रकम दिने घोषणा गरिसकेको पुराण आयोजक समितिले जनाएको छ । सार्वजनिक मन्दिरको चौतर्फी बिकास गर्ने उद्देश्यले चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्यञ्चल महापुराणका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महापुराणको प्रमुख अतिथि रुपमा संघीय सांसद एवम् उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महापुराण आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । चारआली, बुधबारे चोक र सहरेडाँगीमा मूल प्रवेशद्वार गेट निर्माण गरिएर सिङ्गारिएको छ । प्रत्येक चोक–टोलमा व्यानरसहित माइकिङ्ग प्रचारप्रसारलाई तीब्र बनाइएको छ । महायज्ञ महापुराणका लागि तीन हजारभन्दा बढी आगन्तुक अटाउने पण्डाल स्थलसहित कथा बाचिकासहितको टिमलाई सिंहाशनको व्यवस्थापन गरिएको छ ।

सांस्कृतिक विभिन्न जातजातिको पहिचान झल्काउने झाँकी, पञ्चेबाजासहित १ सय ८ थान कलशयात्रा गरिने छ । चारआलीस्थित पाउँ पाथीभरा मन्दिरसम्म कलश यात्राको तयारी गरिएको छ । स्वागतका लागि ब्यवस्थापन टिम, प्रसादको व्यवस्थापन, प्राविधिक ब्यवस्थापन, आर्थिक समन्वयका लागि ब्यवस्थापनलगायतका लागि २१ वटा उपसमितिले निरन्तर जुटेर तयारी पूरा गरिएको सचिव प्रेमराज घिमिरेले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिने उद्देश्यले बिर्सिदै गएको नृत्य, धार्मिक अनुशासन, नयाँ पुस्तालाई धार्मिक अनुष्ठानको बारेमा अवगत गराउन, ज्येष्ठ नागरिकलाई चौतारी निर्माण गरी अनुभवको आदानप्रदान गराउन, धार्मिक तथा लोप हुन लागेका पुस्तक, प्रचीनकालका प्रयोग गरिने सामग्री, बाजागाजाको व्यवस्थापन गर्न, चारआली र बुधबारेमा व्यवस्थित अतिथि सदन नहुँदा सामाजिक कार्य गर्न धुलाबारी र बिर्तामोड लगायत टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै बिवाह, ब्रतबन्ध, पार्टीका लागि व्यवस्थित गर्न अतिथि सदन वा सामुदायिक भवनको निर्माण गर्ने, श्रीपञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरलाई घेराबारा तथा सञ्चालनलाई व्यवस्थित गर्न अक्षयकोषको स्थापना गर्ने योजना रहेको महापुराण व्यवस्थापन घिमिरेले बताए ।

उक्त मन्दिरलाई धाम र सामाजिक कर्मका लागि गर्न तनमन र वचनले आर्थिक तथा जिन्सी सहयोग गर्ने धर्मअनुरागीलाई चर्चित कथा बाचिका राधिका दासीको बाहुलीबाट सम्मान एबम् अभिनन्दित गरिने कोषाध्यक्ष राजन चिमरियाले बताए । महायज्ञबाट १ करोडभन्दा बढीको सहयोग जुटाउने अपेक्षा गरिएको महापुराण मूल व्यवस्थापन समितिको छ ।

स्थानीय मेचीनगर–१२का रवीन्द्र–गंगादेवी र लक्ष्मी प्रसाईंले २०७२ सालमा दान गरेको २ कठ्ठा ३ धुरसहित मन्दिर निर्माण गरिदिएर समाजलाई हस्तान्तरण गरेका थिए । हालसम्म दाताले जमिन थपिदिएपछि करिब ५ कठ्ठाभन्दा बढी जमिन मन्दिरको नाउँमा आइसकेको सञ्चालक समितिका अध्यक्ष इन्द्रमणि प्रसाईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here