फोहोर व्यवस्थापन गर्न मनमोहन अस्पतालले भित्र्यायो नयाँ प्रविधि

0
8

बिर्तामोड ।

फोहोर ब्यवस्थापनमा चुनौति भइरहेका बेला झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि सञ्चालनमा ल्याएको छ ।

अस्पतालले फोहोर जलाउने मेसिन (इन्सिनरेटर) शनिबारबाट प्रयोगमा ल्याएको हो । अस्पतालले आफ्नै लगानीमा मेसिन सञ्चालनमा आएसंगै अस्पतालबाट उत्पादन भएका फोहोरको ब्यवस्थापनमा सहजता हुने विशवास लिइएको छ ।

भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजल प्रालिद्वारा निर्मित उक्त इन्सिनरेटर वातावरणमैत्री रहेको बताइएको छ । उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन । इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रविन कोइरालाले जानकारी दिए ।

इन्सिनरेटरमा फोहोर राखेर आगो सल्काएमात्र पुग्ने हुँदा शुन्य लागतमा फोहोर जलाउन सकिने अस्पताल व्यवस्थापन समितिका सचिव रोमणी भट्टराईले जानकारी दिए । यो प्रविधि सफल भए अस्पताललाई चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन सहज हुने उनले बताए ।
अस्पतालले जडान गरेको उक्त इन्सिनरेटरमा एक पटकमा एक सय किलो फोहोर हाल्न सकिने र उक्त फोहोर जल्न एक घण्टा लाग्ने भट्टराईले बताए । अस्पतालले उक्त इन्सिनरेटर बिर्तामोड–२ स्थित शहिद स्मृति प्रतिष्ठान क्षेत्रमा जडान गरेको छ । मनमोहन अस्पतालमा हप्ताको दुई ट्याक्टर फोहोर उत्पादन हुने अस्पताल व्यवस्थापन समितिका सदस्य बुद्धि भट्टराईले जानकारी दिए ।

मनमोहनले जडान गरेको प्रविधिले पालिकाहरुलाई फोहोर व्यवस्थापनमा पाठ सिकाएको बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईले बताइन् ।
सोलिडटेकका सञ्चालक पप्पु सरकारका अनुसार इन्सिनरेटरबाट उत्सर्जन हुने धुँवामा कार्बन मोनोअक्साइड ०.२ प्रतिशत र कार्बनडाइअक्साइड ०.४ प्रतिशतमात्र हुने भएकाले वायु प्रदुषण कम हुने बताए ।

इन्सिनरेटरमा पानीको प्रयोग हुने र त्यहाँ जडित प्रविधीले पानीको साहारामा प्रदुषित धुँवालाई छानेर फोहोर पानीसँगै बाहिर पठाउने सरदारले जानकारी दिए । एक बर्षसम्म मेसिनको ग्यारेण्टी हुने र तीन बर्षसम्म कुनै सर्भिसिङ गर्नु नपर्ने उनले बताए । तीन बर्षपछि सामान्य सर्भिसिङ गर्दा हुने र त्यसका लागि एक डेढ लाख खर्च हुने उनको भनाई छ । मनमोहन अस्पतालमा जडान गरिएको क्षमताको इन्सिनरेटर करिब २० लाख मुल्य पर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, गौरादह नगर प्रमुख छत्रपति सुवेदी, अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, विभिन्न वडाका वडाध्यक्षहरु, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु सहभागि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here