एनएमसीको माइन्युट प्रमाणित सभा सम्पन्न

0
12

झापा, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले बिर्तामोडमा माइन्युट प्रमाणित सभा सम्पन्न गरेको छ ।
संस्थाको ३१ औं वार्षिक साधारण सभाका लागि बिर्तामोडमा माइन्युट प्रमाणित सभा सम्पन्न गरेको हो ।
गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन भई मंसीर ८ गते पूरा भएको थियो । संस्थाका ५८ वटै कार्यालयस्तरमा भएका उपइकाइगत साधारण सभाबाट छानिएर आएका प्रतिनिधिसहितको सहभागितामा माइन्युट प्रमाणित सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदनका मूलभूत विषयहरु माथि चर्चा गरेका थिए ।
यसैगरी सो कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले गत आर्थिक वर्षमा संस्थाको सञ्चालक समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयनको अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गरिन् ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा बिर्तामोडमा सञ्चालन गरिएको सो सभामा संस्थाका उपाध्यक्ष विष्णुप्रसाद गौतमले उपइकाइगत साधारण सभाबाट प्राप्त ७८ वटा विशेष सुझावहरुलाई हल समक्ष प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष सिवाकोटीले साधारणसभा हलमा नै ती प्रश्नहरु माथि संस्थाको आधिकारिक धारणा राख्दै प्राप्त कतिपय सुझावहरुलाई कार्यान्वयनका लागि पहल गरिरहने प्रष्ट पारेका थिए ।
सो अवसरमा एनएमसीले संस्थामा २५ वर्षभन्दा बढी समयदेखि कार्यरत दुईजना कर्मचारीहरुलाई १० ग्राम सुनको सिक्कासहित र १० वर्षभन्दा लामो अवधि काम गर्ने ४६ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित दीर्घसेवा पदकबाट सम्मानित गरेको छ ।
संस्थाका अधिकृत कर्मचारी पारसचन्द्र भट्टराई र वरिष्ठ सहायक प्रथम दुर्गा बराल २५ वर्षभन्दा लामो अवधि लगातार काम गरेर दीर्घसेवा पदकबाट विभुषित भएका हुन् ।
यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा घोषित विभिन्न विधाका उत्कृष्ट चार जना कर्मचारीहरुलाई पनि सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।संस्थाले वर्ष उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार बिर्तामोडका तत्कालीन प्रमुख हरिमाया ओझालाई समर्पण गर्यो । यस्तै, वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रधान कार्यालयका वरिष्ठ सहायक तेस्रो सदिक्षा अधिकारीलाई, वर्ष उत्कृष्ट सदस्य सहजकर्ता बिर्तामोडका रुकमणि शर्मा नेपाललाई र व्यवसाय वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार कार्यालय सहायक छैटौं महेन्द्रबहादुर बानियाँलाई प्रदान गरिएको थियो ।सो अवसरमा मन्तब्य राख्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष पोखरेलले सहकारी अभियानको वर्तमान अवस्था र सहकारी अभियानकर्मीले अब खेल्नुपर्ने भूमिकाका सन्दर्भमा सारगर्भित मन्तब्य राखेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको सो समारोहमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई संस्थाका वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे मैनालीले शाब्दिक स्वागत गरेकी थिइन् ।
अन्तिम माइन्युट प्रमाणित सभामा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष मन्तब्य राखेका थिए ।
समारोहमा कोशी प्रदेश उद्योग तथा कृषि र सहकारी मन्त्रालयका सचिव लेखनाथ दाहाल, निमित्त सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, झापा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्कालगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here