काठमाण्डौ,

पाकिस्तान, इरान र टर्कीबाट निर्वासित अफगानहरूले शरणार्थीहरूलाई निष्कासन नगर्न आह्वान गरेका छन्। उनीहरूले अफगान शरणार्थीहरूप्रति आयोजक देशका प्रहरीले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरे।
तीन सन्तानकी आमा नाजियाले आफूलाई हालै इरानबाट निकालिएको बताइन्। नाजियाले उनका श्रीमानलाई पनि इरानी प्रहरीले पक्राउ गरेको बताएकी छन्। ‘उनीहरूले इरानमा हामीबाट ६० लाख [इरानी मुद्रा] लगे। उनीहरूले हामीलाई बलुचिस्तान प्रान्तको नजिक ल्याए र हामी निजी यातायातबाट यहाँसम्म आइपुग्यौं,’ उनले भनिन्।
यसैबीच, पाकिस्तान र टर्कीबाट निष्कासन गरिएका अफगानीहरूले पनि प्रहरीले दुर्व्यवहार गरेको गुनासो गरेका छन्। पाकिस्तानबाट निर्वासित अफगान शरणार्थी जावादले भने, ‘म उनीहरूलाई शरणार्थीहरूलाई विचलित नगर्न र जाडोमा महिला र बालबालिकालाई निर्वासन नगर्न आग्रह गर्दछु।’
‘टर्की पुलिसले हामीलाई धेरै उत्पीडन गरिरहेको छ। तिनीहरूले हामीलाई २१ दिनसम्म हिरासतमा राखे र त्यसपछि हामीलाई देश निकाला गरे,’ टर्कीका एक निर्वासितले भने।
यसैबीच, शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले एक महिनाभित्र पाकिस्तानबाट २ लाख ९५ हजार र इरानबाट ९५ हजार अफगान शरणार्थीलाई देश निकाला गरेको जनाएको छ।
पाकिस्तान र इरानले हालै आफ्नो भूमिबाट अफगान शरणार्थीहरूलाई देश निकाला गर्ने क्रम बढाएको बेला आफूहरलाई देश निकाला नगर्न याचना निर्वासितहरुले याचना गरेका हुन्। नेपालपाना































