६१ करोड राजश्व हिनामिना गर्ने यातायातका ५ जना पूर्वकर्मचारी पक्राउ

0
15

इटहरी ।

यातायात व्यवस्था कार्यालय, कोशी इटहरीका तत्कालीन लेखापाल मणिराज दाहालसहित पाँच जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।

प्रहरीले दाहालसहित नयराज नेपाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

विशेष अदालत काठमाण्डौले २०७९ चैत ८ गते उनीहरुलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसुरमा दोषी ठहर गरेको थियो । जसमध्ये तत्कालीन लेखापाल दाहाललाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवाना, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना, देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

उनीहरुबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ जरिवाना रहेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आव २०६९/०७० र ०७०/०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजश्व हिनामिना र आव २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजश्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा मुद्दा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

राजश्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय, कोशी इटहरीका चार जना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरु फरार थिए ।

मोरङ प्रहरीले उनीहरुलाई विराटनगरबाट सोमबार साँझ पक्राउ गरेको मोरङ प्रहरीका डीएसपी दाहालले जानकारी दिए । अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानको लागि मोरङ कारागार चलान गरिएको उनले बताए । मोरङ प्रहरीले चालू आर्थिक वर्षको हालसम्म २१५ जना फरार प्रतिवादीहरू पक्राउ गरी अदालत उपस्थित गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here