सुरुङ्गामा यात्रीको टक शो

0
8

सुरुङ्गा।

रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा अग्रज सञ्चारकर्मी एवम् चिन्तक टीकाराम यात्रीको टक शो सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष शिवकुमार कडेंलको अध्यक्षतामा कनकाई नगरपालिकाको सभाहलमा भएको वर्तमान समयमा सञ्चार एवम् सामाजिक भूमिकामा जीवनशैली, अध्यात्म र हाम्रो चिन्तन विषयक कार्यक्रममा सामाजिक कार्यकर्ता भक्तिप्रसाद सिटौलाले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमुख वक्ता यात्रीले सिटौलाका १ दर्जन बढी प्रश्नका अत्यन्तै सटिक र विस्तृत रूपमा जवाफ दिएका थिए ।

यात्रीले बन्द मुक्त सुरुङ्गाको तारिफ गर्दै यसको निरन्तरताको शुभकामना दिएका थिए । एक प्रसङ्गमा यात्रीले विज्ञान र अध्यात्म वीचमा तात्त्विक फरक नरहेको र सूचना, ज्ञान र प्रज्ञा जीवनदृष्टिका आधार भएको बताए । उनलेे सञ्चार क्षेत्रको भूमिकासम्बन्धमा प्रकाश पार्दै आवाजविहीनहरूको आवाज बन्नुपर्ने र पत्रकारले चर्चामा भएका कुराको मात्र चर्चा नगरेर चर्चामा नभएका विषयवस्तु पनि चर्चामा ल्याउनुपर्ने बताए ।

धर्मसम्बन्धमा संविधानमा उल्लेख नगर्न उनलेे सुझाएका थिए । धर्म र जीवन भनेको फूल र सुगन्ध जस्तै भएको उनको भनाइ थियोे । वैदेशिक रोजगारमा युवा जानु भनेको प्रतिष्ठा र जीवनशैलीको विषय मात्र नभएर राष्ट्रिय शरमको विषय भएको उनलेे बताए । भ्रष्टाचार विषयमा उनलेे भने, “भ्रष्टाचारमुक्त संस्कृतिको सुरुवात हरेक व्यक्तिबाट हुन्छ ।”

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफूहरू कनकाई नगरलाई उत्कृष्ट नगरको रूपमा विकास गर्न एकताबद्ध ढङ्गले लागी परेको बताए । बन्दमुक्त शान्ति क्षेत्रको रूपमा रहेको कनकाई नगरको गरिमालाई अक्षुण्ण राखिने मेयर पोखरेलको भनाइ थियोे ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का सहायक गभर्नर सन्दीप चापागाईंले समाज रूपान्तरणमा सबैलाई क्रियाशील हुन आग्रह गरेका थिए । सो अवसरमा टीकाप्रसाद कट्टेल, रामप्रसाद निरौला, लीलाराज झापाली, एकराज गिरी, रेजिना रोदन, सङ्गीता उप्रेती, तीर्थराज खरेल, शम्भु पोखरेल, रोशनबाबु प्रसाईं, राजेन्द्र चौंलागाई लगायतले यात्रीलाई विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायतको आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाका सचिव विनिता मैनालीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here