मानवअधिकारको विश्वव्यापी घोषणापत्र कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

0
8

काठमाडौँ,

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पछिल्ला वर्षमा मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित वाचा, प्रतिज्ञा, प्रतिबद्धता, मर्यादा र अधिकारमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले घोषणापत्रमा निहित मूल्य र अधिकारलाई सामूहिक कार्यका लागि दिशानिर्देश गर्ने सूत्रका रुपमा अङ्गीकार गर्न झनै आवश्यक रहेको बताउनुभएको छ ।

महामारी, द्वन्द्व, बढ्दो असमानता, नैतिक रुपमा सङ्कटग्रस्त वित्तीय प्रणाली, जातिवाद, जलवायु परिवर्तन आदिले सिङ्गो विश्वलाई नराम्ररी गाँजिरहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले मानवअधिकारको प्रत्याभूतिका लागि विश्वव्यापी घोषणापत्रको कार्यान्वयनमा थप क्रियाशील र ऐक्यबद्ध भई अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल मानवअधिकार र सामाजिक न्यायको प्रत्याभूतिमा क्रियाशील रहेको उल्लेख गर्दै उहाँले मुलुकमा विद्यमान सबैखाले अराजकता, असमझदारी, विकृति, विसंगति अन्त्यका लागि सम्पूर्ण देशवासी एकजुट अघि बढ्नुपर्ने बताउनुभयो । नेपालका केही क्षेत्र, भूगोल, वर्ग, समुदायलगायतले अझै पनि आफूको अधिकारको संरक्षण हुन नसकेको गुनासो गरिरहेको सन्दर्भमा त्यसको पहिचान गर्नु अहिलेको मुख्य दायित्व र कर्तव्य भएको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै आइएको छ । उपराष्ट्रपति यादवले नेपाल मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको पक्ष राष्ट्र पनि भएको उल्लेख गर्दै देशमा भइरहेको मानवअधिकारको संरक्षण कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

सबैको अधिकार क्षेत्रलाई थप फराकिलो बनाउनसके मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालको संविधानले मार्गदर्शन गरेका अधिकारको पूर्ण कार्यान्वयनमा अग्रसर हुन यस दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here