‘घुमुवा’ खटाएर कमाउ धन्धामा सशस्त्रका डीआईजी

0
19

झापा ।

केही महिनाअघि झापाको मेचीनगरस्थित सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारसहित १५ जना सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरीले नै निर्घात कुटपिट ग¥यो ।

कुटपिट गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक) नमप्रभाव राईसहित जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोला थिए । उनीहरुले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई नै मेची नदीको पानीमा चोबल्दै बाँसको भाटाले निर्घात कुटपिट गरेका थिए । सो क्रममा स्थानीयले सादा पोशाकमा रहेका सशस्त्र प्रहरीको कुटाइबाट घाइते बनेका प्रहरीको उद्धार गर्नुप¥यो । कुटपिटमा संलग्न सशस्त्र प्रहरी थिए– सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश (बराह बाहिनी मुख्यालय, सुनसरी) का घुमुवा (सादा पोशाकका प्रहरीहरु) ।

इन्स्पेक्टर राईसहितको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई, सशस्त्र जवान उमेश राजवंशी लगायत घाइते भए ।

यता सशस्त्र प्रहरीका इन्स्पेक्टर सहितका प्रहरीले नै ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई निर्घात कुटपिट गरेको समाचार बाहिरएसँगै घटना छानबिनका लागि मुख्यालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । यस्तै राई कार्यरत बराह बाहिनीले एसपी विक्रम हुमागाँईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । कुटपिटमा सम्लग्न इन्स्पेक्टर राईसहितका तीन जना प्रहरी सो क्रममा निलम्बनमा परेका थिए ।

त्यस्तै केही समयअघि मेचीनगरस्थित काँकरभिट्टा नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच हात हालाहालको स्थिति सृजना भयो । नेपाल प्रहरीले चेकजाँच गरेर पठाएको सुपारी सशस्त्र प्रहरीले पुनः चेकजाँच गर्न थालेपछि दुई सुरक्षा निकायबीच धकेलाधकेल र घम्साघम्सी हुँदै हात हालाहालको स्थितिसम्म पुग्यो ।

नेपाल प्रहरीले चेकजाँच गरेर पठाएको सामग्री पुःन सशस्त्र प्रहरीले चेकजाँच गर्दा दुई सुरक्षा संगठन बीच कुटाकुट भएको हो । कुटाकुट भएको विषय सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजाल र सशस्त्र प्रहरी वल २ नम्वर गण भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले बिज्ञप्ति जारी गर्दै कुटाकुट नभएको भन्दै घटना ढाकछोप गर्ने प्रयास गरे ।
माथि प्रस्तुत गरिएका दुई वटा घटना सशस्त्र प्रहरीका प्रतिनिधि घटना मात्रै हुन् । यस्ता अनेकौं घटना घटाउँदै आएको सशस्त्र प्रहरीले राजश्व संकलनमा नाममा सीमा नाकामा मनपरी गरिरहेको स्थानीयको आरोप छ ।

सीमा क्षेत्रमा हुने अपराधजन्य गतिविधि रोक्नका लागि मुख्य जिम्मेवारी पाएको अर्धसैनिक सुरक्षा निकाय सशस्त्र प्रहरीको पछिल्लो घटनाक्रम हेर्ने हो भने पनि सशस्त्र प्रहरीको काम प्रति विश्वास गर्ने अवस्था नरहेको सरोकारवालाहरु बताउँछन् ।

अर्जुनधारा नगरपालिकाभित्र रहेका दुई वटा सशस्त्र प्रहरीको वेस क्याम्पले काठ तस्करीको संरक्षण गर्दै आएको र नेपाल प्रहरीले सशस्त्र प्रहरीको ‘सेटिङ’ तोडेपछिको घटना क्रमबाट पनि पुष्टि हुन्छ सशस्त्र प्रहरी सीमाको सुरक्षा भन्दा कमाउ धन्दामा केन्द्रीत भएको छ । अर्जुनधारामा रहेका सशस्त्र प्रहरीले चुरे क्षेत्रबाट हुने काठ तस्करीबाट रकम असुली गर्ने गरेको स्थानीयको आरोप छ । चुरे क्षेत्रमा रहेका सामुदायिक वनमा रातको समयमा काठको तस्करी हुने र उनीहरुलाई सशस्त्र प्रहरीले नै सुरक्षा दिने खुदुनावारीका एक स्थानीवासी बताउँछन् ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश (बराह बाहिनी मुख्यालय, सुनसरी)का डीआइजी अञ्जनीकुमार पोखरेलका घुमुवा सिद्धार्थ कुँवर ‘सिकेन्द्र’ सहित सशस्त्र प्रहरी बल शनिश्चरेका प्रहरी नायव उपरीक्षक राजेश्वरप्रसाद साह र सशस्त्र प्रहरी वल खुदुनावारीका प्रहरी नायव निरीक्षक हिरबहादुर राईसंगको मिलेमतोमा काठ तस्करी हुने गरेको घटना सार्वजनिक भएसँगै सशस्त्र प्रहरी कमाउ धन्दामा रहेको पुष्टि भएको हो । कमाउ धन्धामा घुमुवा परिचालन गरेर डीआईजी पोखरेले नै सक्रिय रहेको बताइन्छ । स्रोतका अनुसार जिल्लास्थित सशस्त्र प्रहरी वललाई समेत सुइँको नदिई डीआईजीका घुमुवाले आफ्नो दबदबा कायम राख्दै आएका छन् ।

अर्जुनधारा नगरपालिकाको भूगोल अन्यदेशसंग नजोडिए पनि सीमा सुरक्षाका नाममा राखिएका सशस्त्र प्रहरीका दुई वटा वेस क्याम्प छन् । उनीहरुको मुख्य उद्देश्य सीमाको सुरक्षा भन्दा कमाउधन्दामा केन्द्रीत भएको आरोप छ ।

सशस्त्र प्रहरी श्रोतकै अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गको चारआली सडक खण्डको हाइवेमा राखिएको चेकपोष्ट रकम संकलनको मुख्य अखडा हो । सशस्त्र प्रहरीसँग सेटिङ मिलेको खण्डमा कुनै पनि कारोवारीको सामग्री चेकजाँच नहुने तर सेटिङ नमिले सबै सामग्री जफत गरी जफत गरिएको आधा मात्रै सामग्री भन्सार दाखिला गर्ने र आधा सामग्री सशस्त्र प्रहरीकै हालीमुहाली हुने गरेको प्रहरी स्रोत नै बताउँछ ।

सशस्त्र प्रहरीले चारआलीको हाइवे खण्डमा चार्ड वार्डको समयमा चेक जाँच तीव्र बनाए पनि अन्य समयमा भने चेक जाँच नगर्ने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ । उनीहरु भन्छन्– भारतीय वजार पानीट्याङ्कीबाट ल्याएका सामान चाडपर्वको समयमा चेकिङ हुन्छ, अन्य समयमा चेकिङ हुँदैन अब यसबाट बुझ्नुहोस् सशस्त्रको नियत के हो ?

हुन त सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो । नेकपा माओवादीले युद्ध चर्किदै गएपछि तत्कालीन श्री ५को सरकारले नेपाली सेना र नेपाल प्रहरीकाबीचमा एक अर्को शक्ति खाँचो महशुस गरी केही जनशक्ति नेपाली सेनाबाट र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याई नेपाल सशस्त्र प्रहरी बल गठन गरेको थियो ।

सशस्त्र प्रहरी २०५७ सालमा गोविन्द राज जोशी गृहमन्त्री हुँदा उनकै पहलमा गठन गरिएको अर्धसैनिक सुरक्षा बल हो । यो अर्धसैनिक सुरक्षा वलमा देखिएको वेथितिले पछिल्लो समय झापामा बद्नामी कमाउँदै गएको छ ।

दुई सुरक्षा निकायबीच शीत युद्ध

सशस्त्र प्रहरीको मुख्य दायित्व सीमा सुरक्षा हो भने नेपाल प्रहरीको मुख्य दायित्व नागरिकको सुरक्षा हो ।

तर, झापामा सीमा र नागरिकको सुरक्षामा खटिएका सशस्त्र प्रहरी र जनपद प्रहरीबीचको शीत युद्धका कारण शान्ति सुरक्षामा असर पर्ने देखिएको छ ।

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न दुई पक्ष एकजुट नहुँदा एउटाले छाड्ने र अर्काेले पक्राउ पर्ने प्रतिष्पर्धाले दुई सुरक्षा निकायबीचमा देखिएको शीत युद्ध सतहमा आएको हो । भन्सार छली गरेर चोरी तस्करीमा सशस्त्र र जनपदको सेटिङ नमिल्दा सीमा क्षेत्रमै दुई सुरक्षा निकायबीच हात हालाहालसम्मको स्थिति सृजना हुने गरेका घटनाले पनि पुष्टि गर्छ– दुई सुरक्षा निकायबीच द्वन्द्व छ ।

सशस्त्र र नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत नै सञ्चालित भएपनि संगठनात्मक संरचना र कार्यशैली फरक भएकाले देशको सुरक्षा र नागरिकको सुरक्षा गर्नुको सट्टा प्रहरीका अधिकृतहरु कमाउ धन्दामा केन्द्रीत हुँदा तल्लो दर्जाका दुई सुरक्षा निकायका जवानहरु भीड्नुपर्ने स्थिति आएको सरोकारवालाले बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here