अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
संस्थाको भवनमा संस्था सञ्चालक समितिकी अध्यक्ष नीलाकुमारी दाहालको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले उद्घाटन गरेका थिए ।
सभामा अध्यक्ष दाहालले संस्थाको गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिकी संयोजक हुमा गौतम पोखरेलले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक उमादेवी थापाले चालु आर्थिक वर्ष ०८०÷०८१को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी दुई करोड ३७ लाख ६५ हजार पाँच सय रुपैयाँ, निक्षेप नौ करोड ८९ हजार चार सय ४९ रुपैयाँ, कर्जा लगानी नौ करोड ५९ लाख ८६ हजार नौ सय ३१ रुपैयाँ, जगेडा कोषमा एक करोड २२ लाख ५६ हजार १७ रुपैयाँ, अन्य कोषमा ७६ लाख ७४ हजार नौ सय ४९ रुपैयाँ र कर्जा जोखिम कोषमा ४१ लाख १७ हजार एक सय १३ रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यतर्फ तारादेवी दाहाल, प्रेमकुमारी भण्डारी र बुद्धीमति बुढाथोकी, उत्कृष्ट बचतकर्तातर्फ उर्मिला श्रेष्ठ, पुरयीया सार्की र मुना राजवंशी, बाल सदस्यतर्फ अपेक्षा धिमाल, अविस्ना कार्की, सभ्यता आचार्य, सानिका रसाइली र सृष्टीका कार्की रहेका छन् ।
त्यस्तै असल ऋणीतर्फ गीता दनुवार, जीतमाया कार्की, डम्बरकुमारी ढकाल र रोजिना परियार रहेका छन् । कार्यक्रममा वडा सदस्य पार्वता न्यौपाने, नगर पशुपन्छी मत्स्य विकास शाखा प्रमुख पदमलाल राई, नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनाली, सिर्जना बाल युवा क्लबकी अध्यक्ष शर्मिला न्यौपाने, संस्था सल्लाहकार समितिकी संयोजक चन्द्रकला पौडेललगायतको आतिथ्यता रहेको थियो । संस्थाकी उपाध्यक्ष भोलादेवी भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गीता अधिकारीले गरेकी थिइन् ।































