खुदुनाबारी–अर्जुनधारा खानेपानीको १८औं सभा सम्पन्न

0
11

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ स्थित खुदुनाबारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

समितिको कार्यालय प्राङ्गणमा समितिका अध्यक्ष विष्णुप्रसाद प्रसाईंको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख विकाश काफ्लेले उद्घाटन गरेका थिए ।

सभामा अध्यक्ष प्रसाईंले संस्थाको गत आर्थिक वर्ष ०७९÷०८०को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष खिनकुमारी भट्टराईले महालेखा परीक्षण प्रतिवेदन र सदस्य सीता खतिवडाले चालु आर्थिक वर्ष ०८०÷०८१को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाले गत आर्थिक वर्षमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगबाट २४ लाख ६७ हजार चार सय रुपैयाँको लागतमा साधुटार क्षेत्रमा एक लाख लिटरको स्टोरेज ट्याङकी निर्माण, संस्थाको आन्तरिक स्रोत एक लाख २४ हजार सात सय ९५ रुपैयाँको लागतमा एउटा मुहान निर्माण, खानेपानी मुहान मर्मत तथा घेराबारा र तटबन्धन आदि कार्य गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा एक करोड २२ लाख ७७ हजार नौ सय २९ रुपैयाँ ९६ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि एक करोड २५ लाख ४९ हजार नौ सय ६२ रुपैयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरिएको थियो ।

सोही सभामा समयमा महशुल बुझाउने उपभोक्ताहरु अर्जुनधारा–१का तेजकुमार काफ्ले र मेघनाथ खतिवडा, अर्जुनधारा–४का जीतबहादुर अधिकारी र पारस निरौला तथा अर्जुनधारा–७का धनबहादुर राईलाई दोसल्ला ओढाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीबाट उमेश रिजाललाई दोसल्ला ओढाई पुरस्कृत गरिएको थियो ।

सभामा अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, नेपाली काँगे्रस अर्जुनधारा–४ का सभापति खेम काफ्ले, नेकपा एमालेका प्रतिनिधि नरेन्द्र दाहाललगायते शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष पूजा तिम्सिना खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव मदनकुमार दनुवारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here