भान्सामा पनि भारतकै भर !

0
10

लक्ष्मी उप्रेती,
काँकरभिट्टा ।

पछिल्लो समय नेपालमा परनिर्भरता बढ्दै गएको छ । खेतीयोग्य जमिन बाँझो राखेर शहर केन्द्रीत हुँदा भान्सामा पनि भारतकै भर पर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा काँकरभिट्टानाका भएर ३७ करोड ६९ लाख ९८ हजार रुपैयाँ बराबरका तरकारी नेपाल भित्रिएसँगै भान्सामा पनि भारतकै भर पर्नु परेको पुष्टि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ६४ लाख पाँच हजार रुपैयाँका तरकारी आयात भएका थिए । कृषिमा सरकारी अनुदान लक्षित कृषकहरुसँग पुग्ने गरेका कारण पनि उत्पादन तथा व्यवसायिक तरकारी खेती बढे पनि अझै लाखौं रुपैयाँको तरकारी भारतबाट आयात गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

नेपाललाई कृषि प्रधान देश भनिए पनि भान्साका अधिकांश सामग्रीमा भारत तथा अन्य मुलुकको भर पर्नु पर्ने स्थितिले परनिर्भरता बढाएको छ । पूर्वी काँकरभिट्टानाकाबाट भारत तथा तेस्रो मुल्ुकबाट नेपाल भित्रिने सामग्रीको आयात बढेको छ । कृषि क्षेत्रमा सरकारले अनुदान दिएर प्रोत्साहन गरे पनि कृषि क्षेत्रमा युवाकोा आकर्षण बढ्न नसक्दा परनिर्भरता बढ्दै गएको छ ।

नेपालमा उत्पादित तरकारीजन्य वस्तुभन्दा भारतबाट सस्तोमा भित्र्ने हुँदा नेपालीमा परनिर्भरता बढ्दै गएको हो । परनिर्भरता बढेसँगै भान्सामा पनि भारतकै भर पर्नु परेको हो । काँरकभिट्टा नाका भएर नेपाल भित्रिने मुख्य १० वटा मालवस्तु मध्ये छ वटा मालवस्तुको अयात घटे पनि बाँकी चार वटाको आयातमा वृद्घि भएको सरकारी तथ्यांक छ ।

गत आर्थिक वर्ष २०७९÷०८० को पहिलो चारमहिनाको अवधिको तुलनामा चालू आर्थिक २०८०÷०८१ को सोही अवधिमा आयात बढेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कँडेलका अनुसार मुख्य १० वस्तुहरु मध्ये चार वटाको आयातमा वृद्घि भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० को पहिलो चार महिनामा यो नाका भएर ३५ करोड ८३ लाख ५९ हजार रुपैयाँ बराबरका मालवस्तु आयात भएको सूचना अधिकारी एवम् भन्सार अधिकृत कँडेलले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०८०÷०८१ को सोहि अवधिमा ३७ करोड ४६ लाख ४५ हजार रुपैयाँ बराबरका मालवस्तु आयात भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० को पहिलो चार महिनाको अवधिको तुलनामा चालू आर्थिक २०८०÷०८१ को सोही अवधिमा एक करोड ६२ लाख ८६ हजार रुपैयाँ बराबरको मालवस्तुको आयात बढेको सरकारी अभिलेखमा प्रष्ट छ ।

गत आर्थिक वर्षको पहिलो चार महिना अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा मुख्य १० मालवस्तु मध्ये पेट्रोलियम पदार्थ डिजल, पेट्रोल एटिएफ, मट्टीतेल, जुट तथा जुटबाट बनेका सामान, पेट्रोलियम पदार्थ एलपी ग्यास, कपडा भाग ५१ देखि ६२ सम्म, प्लाष्टिकका कच्चापदार्थ (पोलिथिन दाना अल्किड रेजिन पिभिसि कम्पाउन्ड) र तरकारीहरुको आयात घटेको छ । दलहन, खनिज उत्पादनहरु जिप्सन, मेसिनरी सामान र पार्टपूर्जाहरु तथा फलफूलहरुको आयातमा वृद्घि भएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

राजश्व असुलीको मुख्य स्रोत पेट्रोलियम पदार्थ डिजल, पेट्रोल एटिएफ, मट्टितेलको आयातमा १५ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म काँकरभिट्टा नाका भएर पाँच अर्ब ५२ करोड ८० लाख ७२ हजार रुपैयाँको यी मालवस्तु आयात भएकोमा गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब ४९ करोड ३९ लाख २६ हजार रुपैयाँको आयात भएको थियो । जुन रकम ९६ करोड ५८ लाख ५४ हजार रुपैयाँ कमी हो ।

त्यसैगरी जुट तथा जुटबाट बनेका सामानको आयातमा १८ प्रतिशतले कमी आउँदा दलहनको आयात भने ३२ प्रतिशले बढेको छ । एक अर्ब २४ करोड २१ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरका जुट तथा जुटबाट बनेका सामान चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयात हुँदा गत आवको सोही अवधिमा एक अर्ब ५२ करोड ४० लाख २३ हजार रुपैयाँका सामान आयात भएको थियो । उता फलफूलहरुका आयात पाँच प्रतिशतले बृद्घि भएको छ ।

मेसिनरी सामान र पार्टपूर्जाहरुको आयात सबैभन्दा बढी ३१ प्रतिशतले बढेको छ । यसले नेपाल यी सामग्रीमा अझै आत्मनिर्भर नभएर परनिर्भर बन्नु परेको प्रष्ट हुने यसका जानकारहरु बताउँछन् । गत आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा काँकरभिट्टा नाकाबाट आयात हुने यस्ता सामग्री रकमको आधारमा आठ करोड १८ लाख २६ हजार रुपैयाँले बढेको छ ।

२६ करोड ४५ लाख १६ हजार रुपैयाँ बराबरका मेसिनरी सामान र पार्टपूर्जाहरु गत आर्थिक वर्षको चार महिनामा आयात भएका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा ३४ करोड ६३ लाख ४२ हजार रुपैयाँँ बराबरका त्यस्ता मालवस्तु नेपाल भित्रिएका छन् । नेपालमा ठूला–ठूला मेसिनरी पाटपूर्जा उत्पादन गर्ने उद्योगहरु कमी हुनु, भएका त्यस्ता कलकारखाना क्रमशः बन्द हँुदै गएका कारण यस्ता सामग्रीमा नेपाल परनिर्भर बन्नु परेको उद्योगी रामकाजी खत्रीको भनाइ छ ।

खनिज उत्पदानहरु जिप्सनको आयात सात प्रतिशतले वृद्घि हँुदा कपडा भाग ५१ देखि ६२ सम्मको आयात ११ प्रतिशतले घटेको सरकारी तथ्यांक छ । पेट्रोलियम पदार्थ एलपी ग्यासको आयात १७ प्रतिशत तथा प्लाष्टिकका कच्चापदार्थ (पोलिथिन दाना अल्किड रेजिन पिभिसि कम्पाउन्ड)को आयात तीन प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको चार महिनामा पूर्वीनाका भएर ८८ करोड ४६ लाख एक हजार रुपैयाँको पेट्रोलियम पदार्थ एलपी ग्यास आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा ७३ करोड १५ लाख १० हरजार रुपैयाँको मात्र आयात भएको भन्सारको अभिलेख उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here