चीनमा रोकिएको सैनिक सामग्री ल्याउन सेनाले सात महिनापछि एलसी खोल्यो, भारतबाट गोली आउने

0
5

काठमाण्डौं ।

नेपाली सेनाले चीनबाट २६ वटा एपीसी खरिद गर्ने निश्चित भएको छ । सेनाले ३३ मिलियन अमेरिकन डलर करीब ४ अर्ब ४२ करोड रकम बराबरको एपीसी र सैनिक सामग्री खरिद गर्ने निर्णय गर्दै एलसी खोलेको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनाले त्यसका लागि सोमबार हिमालय बैंकमा ३ वटा एलसी समेत खोलिसकेको छ ।

सेनाले ४ अर्ब बराबरको सैनिक सामग्रीका लागि ५ वटा एलसी सोमबार खोलेको हो । जसमा २ वटा एलसी राष्ट्र बैंकको स्वीकृतिको चरणमा छ । सेनाले चीनको नोरिन्कोबाट २६ वटा एपीसी र सैनिक सामग्री खरिद गर्न लागेको छ । सेनाले एपीसी र एम्युनिसन प्लान्ट समेत चीनबाट खरिदको तयारीको लागि प्रक्रिया अघि बढाइसकेको छ ।

महंगो मूल्यमा सैनिक सामग्री खरिद गर्न लागेको समाचार काठमाण्डुपाटीले प्रकाशित गरेपछि एलसी खोल्न पत्राचार भएको सेनाको एपीसी खरिद ७ महिना रोकिएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणलगत्तै सेनाको एपीसी र सैनिक सामग्री खरिद प्रक्रिया अघि बढेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति शर्माको छलफलपछि सेनाले खरिद प्रक्रिया अघि बढाएको सैनिक स्रोत बताउँछ ।

सेनाले एपीसी चीनबाट मात्र होइन, भारतबाट समेत सैनिक सामग्रीको खरिद प्रक्रिया अघि बढाएको छ । सेनाले भारतबाट समेत ४ वटा महेन्द्रा कम्पनीको एपीसीको एलसी खोलिसकेको छ । त्यसका साथै थप १२ वटा एचएमएलटी, ५।५६ को गोली, केस कप्स, वुलेट कप्स, बक्सर प्राइमर ९१२०३०, डबल बेस प्रोपेलान्ट लगायत भारतीय कम्पनी एमआईएललाई दिएको छ ।

सेनाले दुवै देशबाट सैनिक सामग्री खरिद गरेर सन्तुलित सम्बन्ध कायम गर्न खोजेको सैनिक स्रोत बताउँछ । सेनाले खरिद प्रक्रिया जी–टु–जी भने पनि त्यसमा उच्च राजनीतिक नेतृत्व निकट ठेकेदारहरूको संलग्नता छ । उनीहरूकै डिजाइनमा सेनाले खरिद प्रक्रिया अघि बढाएको स्रोतले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here