भद्रपुरका युवा उद्यमी डा. आशिषलाई नेपाल जेसीजद्वारा उत्कृष्ट युवा पुरस्कारद्वारा सम्मान

0
12

झापा । झापाको दुहागढीमा उद्योग स्थापना गरी गुणस्तरीय हल्का पेय पदार्थहरु उत्पादन गर्दै नेपालभरि बजार विस्तार गरिसकेको सिंगापुर वेभरेज नेपालका प्रवन्ध निर्देशक, युवा उद्यमी डा. आशिष शर्मालाई नेपाल जेसीजले उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेको छ ।
बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनका अवसरमा झापाका युवा उद्यमी शर्मालाई नगद १० हजार राशिको पुरस्कारसहित सम्मान गरिएको हो । महाधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले डा. शर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । डा. शर्मा कोशी प्रदेशबाट पुरस्कारका लागि चयन भएका थिए ।
विदेशका विभिन्न विश्वविद्यालयमा शिक्षा आर्जन गरेका डा. शर्माले आफ्नै बुबा उद्योगी रमेश शर्माले सञ्चालन गरेका उद्योग–व्यवसायलाई निरन्तरता दिँदै आफ्नो ज्ञान, सीपलाई उपयोग गरिरहेका छन् ।
सिंगापुर वेभरेजद्वारा उत्पादित जीरु, फ्रुट जेम्स, निम्बुपानी, लिची जुसजस्ता सफ्ट ड्रिङ्क्स नेपाली उपभोक्ता माझ लोकप्रिय मात्र होइन विदेशी बजारसम्म पुगेको छ । उद्योगका प्रवन्ध निर्देशक डा. शर्माले यी उत्पादनहरुलाई थप परिस्कृत गर्दै अन्तर्राष्ट्रिय उत्पादनहरुसँग प्रतिस्पर्धी बनाउन लागिपरेको बताएका छन् ।
डा. शर्माले नेपाल जेसीले प्रदान गरेको सम्मानले आफूलाई उद्योग–व्यवसाय क्षेत्रमा काम गर्न थप प्रेरित गरेको बताउँदै यो सम्मानले आफूमा उर्जा थपिदिएको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here