शिक्षासेवीदेखि अभिभावक, शिक्षक र विद्यार्थीलाई एउटै मञ्चमा सम्मन

0
11

लक्ष्मी उप्रेती,
मेचीनगर:

झापाको मेचीनगर —१२ सहरेडाँगीमा रहेको सरस्वती बालकल्याण माध्यमिक विद्यालयले आइतबार तीनजना शिक्षासेवीलाई सम्मान गरेको छ । विद्यालयले दुईजना शिक्षकलाई समेत पुरस्कृतसहित २३ जना विद्यार्थीहरुलाई विभिन्न छात्रावृति प्रदान गरेको छ ।

विद्यालयको ४५ औँ वार्षिकोत्सवको अवसर पारेर शिक्षासेवीहरु मेचीनगर—१२ निवासी नरेन्द्रकुमार विष्ट, विर्तामोड—४ का पुण्यप्रसाद ओली, विर्तामोड—६ का अग्निदेव लुईँटेललाई सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमराज घिमिरेका अनुसार विद्यालयको हितलाई सर्वाेपरी ठानी शैक्षिक उन्नति प्रगति र विकासमा उहाँहरुले पुरयाएको योगदानको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान गरिएको हो ।

पटक पटक विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा रहेर असल अभिभावकको भूमिका निर्वाह गरी विभिन्न जिम्म्ेवारी पुरा गर्दै विद्यालयको आर्थिक, भौतिक एवम् शैक्षिक गुणस्तर अभिवृद्घि तथा विद्यालय सञ्चालनमा गरिने विविध गतिविधिहरुका अग्रभागमा रहेर आफ्नो बल बुद्घि र विवेकले भ्याएसम्म अहोरात्र खटेर विद्यालयको श्रीबृद्घिमा उहाँहरुले पुर्याउनु भएको योगदानको विद्यालयले खुला हृदयले प्रशंसा गरेको सम्मान पत्रमा भनिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, सामाजिक विकास समिति संयोजक हृदय राजवंशी र नगर शिक्षा अधिकारी उपसचिव होमनाथ भण्डारीले सम्मानित सवैजनालाई दोसल्ला, अविर टीका माला पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर लिम्बुको अध्यक्षतामा भएको वार्षिकोत्सवको उद्घाटन सत्रमा विद्यालयमा स्थापित रघुनाथशाली उत्कृष्ठ शिक्षक पुरस्कार २०८० बाट शिक्षक तिलबहादुर थापा पुरस्कृत तथा सम्मानित हुनुभयो । नगद ३ हजार ५ सय राशीको पुरस्कार, सम्मान पत्र उहाँलाई प्रदान गरियो भने दोसल्लासहित फूलमाला अविर टीका पहिर्याएको थियो । प्राथमिक तहमा कार्यरत शिक्षक थापाले आफ्नो जिम्मेवारीमा रहेर इमान्दारीपूर्वक लामो अवधिसम्म कर्तव्यनिष्ठ भई सेवा प्रदान गरेकाले उहाँको सेवाको उच्च मुल्याङ्कनसहित रघुनाथशाली उत्कृष्ठ शिक्षक पुरस्कार २०८० प्रदान गरिएको हो ।

यसैगरी प्राथमिक द्वितिय श्रेणीमा कार्यरत शिक्षक देवीमाया चापागाईँ रिमालााई सम्मान गरिएको थियो । इमान्दार एवम् कर्तव्यनिष्ट भई शैक्षिक उन्नयनमा लामो सेवा पुर्याउनु भएकाले उहाँको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य घिमिरेले जानकारी दिनुभयो । नगद चारहजार रुपैयाँसहित सम्मान पत्र उहाँलाई प्रदान गरियो भने दोसल्लासहित फूलमाला अविर टीका पहिर्याएको थियो । असल अभिभावककारुपमा यमुना रेग्मी, कमला तिम्सिना, एलिश भुजेल र संगीता न्यौपानेलाई प्रशंसा पत्रसहित पुरस्कार प्रदान गरियो । उहाँहरुले आफ्नो सन्तानलाई नियमित विद्यालय पठाएको, सरसफाईदेखि विभिन्न विधामा हेरविचारसहित विद्यालय जान प्रेरित गरेका कारण असल अभिभावककारुपमा प्रशंसा पत्र सहित पुरस्कार प्रदान गरिएको हो ।

विद्यायका संस्थापकस्वर्गीय देवीप्रसाद भट्टराई तथा पवित्रादेवि भट्टराईको स्मृतिमा छोराहरु सोमनाथ र भुपेन्द्र भट्टराईले स्थापना गरेको नगद ५ हजार राशी र सम्मान पत्रसहितको पुरस्कार सृष्टि काम्वाङ्ग र मुस्कान वेघालाई प्रदान गरियो । विद्यालयको वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष दुईजना विद्यार्थीहरुलाई यो पुरस्कार प्रदान गरीर्दैँ आएको छ ।

यसैगरी, विद्यालयमा खेल, अनुशासन स्मरण शक्तिलगायत विभिन्न विधामा उत्कृष्ट कक्षा १२ का चिरञ्जीवि कोइराला, कक्षा ११ का दिक्ष विक, कक्षा १० का मुना गौतम, कक्षा ९ का वोयला टुडु, कक्षा ८ का मिसा भारती, कक्षा ६ का हिमाल दाशाल, कक्षा ५ का ओनहाङ्ग लिम्बु , कक्षा ४ का रुपेश खवाससहित छनौटमा परेका ८ जनालाई जिन्सी पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो । विद्यालयमा विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोषबाट २३ जना विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो । सवैलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख बुढाथोकीलगायतले दोसल्ला, अविर टीका माला पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमबहादुर श्रेष्ठले विद्यालयको अक्षयकोषमा ५० हजार तथा भीमा घिमिरेले १० हजार १ सय ५ रुपैयाँ नगद प्रदान गर्नुभएको विद्यालयका प्रधानध्यापक शुक्रराज घिमिरेले जानकारी दिनुभयो ।

सहायक प्रधानध्यापक युवराज काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले नगरभित्र सञ्चालनमा रहेका विभिन्न विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार लागि परेको बताउनुभयो । उहाँले अब सामुदायिक विद्यालयतर्फ विद्यार्थीहरुको आर्कषणका लागि विभिन्न गतिविधि सञ्चालन गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

प्रधानध्यापक शुक्रराज घिमिरेले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयको जग्गाको स्वामित्व, माध्यमिक तहमा बिषयगत शिक्षकहरुको अभावलगायत ८ वटा बुँदालाई चूनौतिका रुपमा रहेका विषयमा उठान गर्नुभएको थियो ।

स्काउटका विद्यार्थीहरुले गरेको मार्चपास नगर प्रमुख, उपप्रमुख, सामाजिक विकास समिति संयोजक, नगर शिक्षा अधिकारीले अभिरुचीपूर्वक हेर्नुभएको थियो । कार्यक्रममा विभिन्न जातजातिहरुको कला, संस्कृतिलाई सम्बोधन गर्दै विद्यार्थीहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए । शिक्षक डिबेन्द्र तिवारीले शब्दमार्फत स्वागत गर्नुभएको कार्यक्रममा मेचीनगर नगरकार्यपालिका सदस्य अमित खम्बुलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here