मेचीनगरमा बन्यो मानव आश्रमको भवन

0
8

झापा,

सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर आश्रय दिने उद्देश्यले मेचीनगर नगरपालिका–४ मा मावन सेवा आश्रमले रु एक करोडको लगानीमा भवन निर्माण गरिरहेको छ ।

पहिलो चरणमा करिब ५० सहयोगापेक्षी तथा बेसहारा सडक मानवलाई आश्रयका लागि आवास र भान्सा भवनको निर्माण भइरहेको मानव सेवा आश्रमका अभियानकर्मी नवराज केसीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा आश्रम सुरु गर्ने गरी भवन निर्माण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । स्थानीय रामबहादुर प्रधान र उहाँका श्रीमतीद्वय पूर्णमाया प्रधान र लक्ष्मी प्रधानले निःशुल्क प्रदान गरेको सवा दुई बिघा जमिनमा भवन निर्माण भइरहेको उहाँले बताउनुभयो ।

सोही स्थानमै करिब दुई सय अटाउने क्षमताको भवन भविष्यमा निर्माण गर्ने आश्रमको तयारी रहेको जनाइएको छ । यस क्षेत्रमा बनिरहेको आश्रमको भान्सा घर निर्माणका लागि मेचीनगर नगरपालिकाले रु २५ लाख दिने आश्वासन दिएको उहाँले बताउनुभयो ।

उहाँले मेचीनगरमा आश्रमको भवन निर्माणसँगै झापा, इलामबाट उद्धार गरिएका असहाय, बेसहारा सहयोगापेक्षी सडक मानवलाई राखिने बताउनुभयो । विगतमा जिल्लाबाट उद्धार गरिएकालाई विराटनगरस्थित आश्रममा राखिने गरिएको थियो ।

देशका विभिन्न स्थानमा सञ्चालित आश्रममध्ये यहाँ निर्मित २३ औँ शाखा रहेको अभियानकर्मी केसीले बताउनुभयो । आश्रमले विसं २०८२ भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गरी सडक मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेको थियो ।

दुई महिनाअघि मात्र मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली सडक मानव उद्धार यात्रा’ समेत गरेको थियो । आनी छोइङ डोल्मा फाउण्डेशन र मानव सेवा आश्रमको सहकार्यमा मुलुकका ४६ जिल्लामा यात्रा गरेर सहयोगापेक्षी सडक मानवको उद्धार गरी विभिन्न आश्रममा राखिएको उहाँले जानकारी दिनुभयो । कोशी प्रदेश विराटनगरमा लामो समयदेखि आश्रम सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here