मलेशियामा हत्या, नेपालमा पक्राउ

0
13

झापा ।

शिवसताक्षी नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर प्रधानको मलेसियामा हत्या गरी भाग्ने महोत्तरीका अनिलकुमार साह कलुवार पक्राउ परेका छन् ।

मलेसियाको हर्ता मेन्टेनेन्स कम्पनीमा कार्यरत प्रधानलाई उनीसँगै काम गर्ने महोत्तरीको गौशाला–५का २४ वर्षीय कलुवारले गत मंसीर २५ गते हत्या गरेका थिए । मलेशियामा हत्या गरी भागेका साहलाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको हो ।

प्रधान बिगत एक वर्षदेखि सो कम्पनीमा कार्यरत थिए । हत्या गरेर नेपालतर्फ भागेको जानकारी पाएपछि प्रधानकी श्रीमती उमा धिमाल प्रधानले इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेकी थिइन् । त्यसपछि आफूहरूले पत्रसहित नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख, प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

साहलाई काठमाडौँ प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो । उनी आफ्नो हुलिया बदली हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गर्दा पक्राउ परेका हुन् । मृतककी श्रीमतीको जाहेरी लिई ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थपेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

मलेशियन प्रहरी र मलेशियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान कार्य भइरहेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी कुमोध ढुङ्गेलले बताए । प्रधान गतवर्षको कात्तिकमा मलेशिया गएका थिए ।

महिनाको १ लाख २५ हजार रुपैयाँ कमाई गरेका प्रधानले वैदेशिक रोजगारीबाटै परिवार पाल्दै आएका थिए । उनका ४ जना छोराछोरी रहेको बताइएको छ । मृतकको शवलाई नेपाल ल्याउने पहल भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here